भारतीय राष्ट्रिय टेलिभिजनमा 'वाह क्या टेस्ट है' नामक कार्यक्रमका प्रस्तोता रहेका चार्ल्स थम्सनले एक शृङ्खलामा थकाली थाली साथै म:म खाए र साथमा नेपाली खानाको स्वादको भरपुर प्रशंसा गरेका छन्।
दूरदर्शनमा सञ्चालित उक्त कार्यक्रमको दोस्रो सिजनका लागी उनले भारतमा रहेका विभिन्न समुदायका खानाहरुलाई प्रस्तुत गर्ने क्रममा उनले नेपाली खानालाई पनि चाखेका हुन्।
शाकाहारी चार्ल्सलाई खाना सम्बन्धी कार्यक्रम गर्ने सम्बन्धमा सुरुवातमा केही हिचकिचाहट थियो तर एक गोरा मान्छे, शाकाहारी खाना खोज्दै हिँड्ने त्यो एक फरक शैली हुने भनेर उनलाई कार्यक्रम गर्न दिइयो।
त्यही क्रममा उनले एक नेपाली रेस्टुरेन्ट देखे जहाँ काम गर्ने कर्मचारीहरू सबैले ढाका टोपी लगाएका थिए।

उनले विदेशी भूमिमा यसरी नेपाली पहिचान झल्काउने उनीहरू सच्चा नेपाली भएको विचार व्यक्त गरेका छन्।
तिन प्रकारका थकाली थाली बाट प्रभावित उनले कार्यक्रममा गुन्द्रुकको अचार बनाएको पनि अवलोकन गरेका छन्।
दिल्लीको एक नेपाली रेस्टुरेन्टमा कार्यक्रमको छायाङ्कन गरिएको भए पनि नेपाली खानाका लागी सिड्नीका नेपाली रेस्टुरेन्ट र भारतबाट सीमा पार पनि गई रहने उनले बताए।
नेपाली रेस्टुरेन्ट 'आमा थकाली' मा छायाङ्कन गरिएको उक्त कार्यक्रम युट्युबमा पनि राखिएको छ।
नेपाल सम्बन्ध
चार्ल्स ९० को दशकको अन्त्यतिर पहिलो पटक नेपाल गएका थिए र उनले त्यो समयलाई दरबार हत्या काण्ड भएको समय भनेर सम्झन्छन् ।
त्यस पश्चात् पटक पटक गरी उनी नेपाल गइसकेका छन्।
लुम्बिनी, पोखरा, बुटवल, धरान लगायतका स्थानहरूमा उनी घुमिसकेका छन्।
उनलाई नेपालमा बसोबास गर्ने नेपाली र नेपाल बाहिर भारत वा अस्ट्रेलियामा बस्ने नेपालीहरू एकै जस्तो लाग्छ।
उनले एक समयमा अस्ट्रेलियामा रहेका नेपाली गुरुङ समुदायको कार्यक्रममा सहभागिता पनि जनाएका थिए।
अचम्ममा पार्ने नेपाली बानी र नेपाली खाना
उनले कुराकानीका क्रममा नेपाली खानामा पिरो राख्नै पर्ने भन्ने नहुने तर भारतीय केही क्षेत्रका खाना आफूलाई धेरै पिरो लाग्ने आफू जस्तै विदेशीहरूलाई खान गाह्रो हुने बताए।
चार्ल्सलाई भटमास (बदमास) किन भनिएको यो त राम्रो कुरा हो भन्ने लागेको थियो। त्यस्तै नेपाली खानामा अर्को अचम्म लागेको नाम भनेको गुन्द्रुक हो।
"गुन्द्रुक भन्दा मैले ह्यारी पोर्टरलाई सम्झिए। मैले सेफलाई पनि सोधे ह्यारी पोर्टर आएका थिए भनेर तर बिचरा उसलाई थाहा थिएन ।"

म:म भने पछि भुतुक्कै हुने चार्ल्सले भुटानी र नेपाली म:म धेरै खाएको तर नेपाली झोल म:म खाँदा भने स्वर्गीय आनन्द आएको बताए।
उनले सोचेका पनि थिएनन् नेपालीहरूले पनि चियामा मखन राखेर खान्छन् भनेर।
तिब्बती समुदायमा पाइएको उक्त चलन नेपालमा पनि रहेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए।
त्यस्तै उनलाई हिमाली क्षेत्रका मानिसहरूको घरमा नै बोलाएर पाहुनालाई सत्कार गर्ने चलन देखि निकै प्रभावित भएको बताएका छन्।
नेपालीहरू तुलनात्मक रूपमा अरू समुदायका मानिसहरू भन्दा शान्त स्वभावका हुने गरेको पनि उनको भनाइ छ।
निकटताका हिसाबले पनि धेरै पटक नेपाल गएका र नेपालीहरू सँग सङ्गत गरेका चार्ल्स थम्सन् लाई नेपालीहरूको एक बानीले अचम्मित बनाएको छ।
समुदाय भित्र नै चाहिँ निकै साहसी हुने नेपालीहरू अन्य देशका मानिसहरू सँग भने चित्त नबुझे पनि खुलेर व्यक्त नगर्ने र धेरै शालीन हुने गरेको पाएका छन्।
"यदि उनीहरूलाई रिस उठ्यो भने पनि उनीहरूले एक एसएमएस मार्फत कुरा सिध्याउँछन्।"
भारत यात्रा
अस्ट्रेलियामा जन्मिएर १३ वर्षको उमेरमा पहिलो पटक भारतको बिहार पुगेका थम्सन् ले ८ हप्ता लामो आफ्नो भ्रमणलाई एक वर्ष बनाए र त्यसलाई पनि बढाएर ११ वर्ष सम्म पुर्याए।
त्यति सानो उमेरमा नै भारत जाने सोच कसरी आयो भन्ने एसबीएस नेपालीको प्रश्नमा "विहारी लाल" तथा "अटोवाला बाबु" भनेर पनि चिनिने चार्ल्सले एक दिन एक जना साधुलाई एक्कासि आफ्नो कोठामा पाए पछि उक्त सोच बनेको रोचक कथा सुनाए।

"त्यतिन्जेल सम्म मैले एबोरजीनललाई पनि देखेको थिइन भारतीय वा चिनियाको त कुरै छोडिदिऊँ।"
उनकी आमाले योगा प्रशिक्षकका रूपमा भारत जाँदा उक्त साधुलाई अस्ट्रेलिया आउने टिकट दिएकी थिइन।
भारत बसाइ बाबु मानसिक चिकित्सक र आमा योगा प्रशिक्षक रहेको सम्पन्न परिवारमा हुर्किएका उनलाई गोल्ड्कोस्ट मा बिदा मनाउन भन्दा भारत जाने इच्छा जाग्यो।
फलस्वरूप आफू कक्षामा प्रथम वा दित्तीय भए भारत जान पाउनु पर्ने बाबु आमा सँग सर्त राखे र सर्त जिते पनि।
१३ वर्षको कलिलो उमेरमा एक्लै भारतको विहार गएका उनले नेपालको सीमा नजिक भएकाले नेपाली मानिसहरू र नेपाली संस्कृतिबारे पनि त्यहाँ बुझ्ने मौका पाए।
भाषा सिकाइ
भाषा सिक्नका लागी आफ्नो भाषा बोल्न नजान्ने मानिसहरूको सङ्गत गर्नु पर्ने थम्सन् को भनाइ रहेको छ।
उनले पनि विहारमा अङ्ग्रेजी भाषा बोल्न नसक्नेहरूलाई साथी बनाए।

"यो निकै हास उठ्दो पनि भयो किनभने त्यस्तो बेला धेरै हातको इसाराले कुरा गर्नु पर्थ्यो"
उनले अस्ट्रेलियामा बस्ने नेपाली समुदायलाई पनि आफ्नो बच्चाहरूलाई घरमा अङ्ग्रेजीको सट्टा नेपाली भाषा नै प्रयोग गर्न प्रोत्साहित गर्छन्।
"मैले नेपाली भाषा भनी रहँदा त्यो १ सय ३१ वटा पनि हुन सक्छ, तर त्यसले केही अर्थ राख्दैन। किनभने एक पटक एक भन्दा बढी भाषा बोल्न सके तेस्रो, चौथो र पाँचौँ सहज हुन्छ।"
नेपाली भाषा चाहिँ बोल्न आउँछ कि आउँदैन भन्ने प्रश्नमा उनले नेपाली एउटा शब्द 'हजुर' मात्र आउने बताए।
नौटङ्की विहारी लाल
विहारी लाल भने पछि बालक बेलाको कृष्ण भगवानको झल्को आउने चञ्चले स्वभाव भन्ने बुझिने भन्दै त्यही सोचबाट उनलाई यो नामले पनि चिनिने गरेको बताए।
बिना रकम एक कार्यक्रममा प्रवेश गर्न खोज्दा उनको हिन्दी भाषा प्रयोग र उनको चातुर्यलाई हेरेर एक सञ्चार कर्मीले उनलाई विहारी लालको नाम दिएका थिए।
आफ्नो नेपाली रेस्टुरेन्टमा जाँदाको कार्यक्रममा समेत उनले थकाली भान्छामा जुत्ता खोलेर भुइँमा पलेटी मारेर खानु पर्ने विषयमा ठट्टाको शैलीमा नेपाली परम्परागत खाना खान आउँदा सफा मोजा लगाएर आउन समेत सुझाएका छन्।

भारतीय चलचित्र र टेली चलचित्रहरूमा समेत काम गरिसकेका चार्ल्स उनलाई दिइएको नाम विहारी लाल जस्तै चञ्चले स्वभावका छन्।
अस्ट्रेलियामा पौडी खेल्दा हिन्दीमा सहयोगका लागी चिच्याउने र लाइफ गार्डहरू आफू तिर फर्किदा अङ्ग्रेजीमा कुरा गरेर उनीहरूलाई झुक्क्याउने गरेको उनले सम्झिए।
र उनको यस्तै क्रियाकलापको सिकार भएका एक भारतीय कलाकारले पहिलो पटक उनलाई मराठी चलचित्रमा एक भूमिकाका लागी प्रस्ताव गरेको बताए।
"हामीले मराठी चलचित्रका लागी सुटिङ गर्यौँ र म ब्रिटिस बनेको थिए। त्यो इतिहासमा आधारित चलचित्र थियो त्यसैले महाराष्ट्रकाहरूले सधैँ एक जना ब्रिटिस नागरिक चाहन्छन् जसलाई चाहिँ मार्न सकियोस्। र म एक कमिश्नर बने र अन्त्यमा ४ गोली लागेर म मर्छु।"

