अनुसन्धानको अनुसार अस्ट्रेलियामा धेरैजसो वृद्ध उमेर समूह र धेरे धन सम्पत्ति भएका मानिसहरूले मात्र इच्छापत्र बनाउँछन्।
सन् २०१७ मा गरिएको एक अध्ययनमा सर्वेक्षण गरिएका मानिसहरू मध्य लगभग आधासँग इच्छापत्र थिएन।
मुख्य बुँदाहरू:
- प्रत्येक दुई मध्य एक अस्ट्रेलियालीसँग इच्छापत्र नरहेको अनुसन्धानले देखाउँछ।
- मानिसहरूले इच्छापत्र नबनाउनुका पछाडि सांस्कृतिक कारण, गलत धारणा र अन्धविश्वास रहेको विज्ञहरू बताउँछन्।
- कसैको इच्छापत्र बिना मृत्यु भएमा उनको सम्पत्तिलाई राज्यको पूर्वनिर्धारित कानून अनुसार बाँडफाँड गरिन्छ।
उक्त अध्ययनका प्रमुख, डेकिन युनिभर्सिटीमा अभ्यासका प्राध्यापक एडम स्टीन थिए। उनी भन्छन् कि मानिसहरूले इच्छापत्र बनाउन नमान्ने कारणहरूमा गलत धारणा र अन्धविश्वास पनि रहेका छन्।
"इच्छापत्र चाहिँदिन भनी सोच्ने धेरै मानिसहरू छन्। अनि कतिले इच्छापत्र बनाएमा आफ्नो मृत्यु हुन्छ भन्ने सोच्छन्। कतिले "हामीसँग चाहिने पैसा छैन" या "हामी धेरै बुढो भएका छैनौँ" भन्ने सोच्छन्," उनले एसबीएस रेडियोलाई बताए।
जब कसैको इच्छापत्र बिना मृत्यु हुन्छ, यसलाई इन्टेस्टेसी (intestacy) भनिन्छ, र सम्पत्तिको बाँडफाँड राज्य वा क्षेत्र कानून अनुसार हुन्छ।
वकिल डीन कलिम्नियोस भन्छन् कि इच्छापत्र तयार भएमा परिवारले पछि यो झन्झटिलो अवस्था भोग्नु पर्दैन।

"मानिसहरू सोच्छन् कि इच्छापत्र भनेको जीवनको अन्त्य तिर मात्र बनाउने कुरा हो। र मैले नराम्ररी भन्न खोजेको होइन, तर कहिले के हुन्छ, त्यो कसैलाई थाहा हुँदैन। त्यसैले, सुरुमै एउटा योजना बनाएर राख्न उचित हुन्छ," उनी भन्छन्।
उनी भन्छन् कि इन्टेस्टेसीको नियम अनुसार सम्पत्तिको बाँडफाँड गरिँदा, मृत्यु भएका व्यक्तिको इच्छा अनुसार नहुन सक्दछ।
"तपाईँलाई केही कुरा असाध्यै आफ्नो नाति/नातिनीलाई दिने इच्छा हुन सक्छ, केही पारिवारिक सम्पदा, या तपाईँ दुई बिचको केही अमूल्य वस्तु - र त्यो सुनिश्चित गर्ने सबैभन्दा राम्रो तरिका भनेको इच्छापत्र हो," कलिम्न्योस भन्छन्।
"तपाईँका डिजिटल सामग्रीहरूको बारेमा सोच्न पनि आवश्यक छ किनभने आजभोलि सबै थोक अनलाइनमा छ। र मानिसहरूसँग पहिले फोटो एल्बमहरू हुन्थ्यो, अहिले सबै डिजिटल फोटोहरू छन्, इमेल सूची र यस किसिमका सामग्रीहरू उनीहरूका सामाजिक सञ्जालमा छन्। र अहिले मानिसहरूले बिटकोइन जस्ता थुप्रै सामग्रीहरू खरिद गरिरहेका छन्।" - एडम स्टीन, डेकिन युनिभर्सिटीमा अभ्यासका प्राध्यापक
प्रियजनका लागि बनाउने योजनामा सम्पत्ति बाहेक थुप्रै कुरा समावेश हुन्छन्
कलिम्न्योस सल्लाह दिन्छन् कि कुनै गल्ती नगर्नका लागि इच्छापत्र बनाउँदा कानुनी सल्लाह लिन सबैभन्दा उचित हुन्छ।

तपाईंले आफ्नो इच्छापत्र आफ्नो राज्य र क्षेत्रहरूमा सञ्चालित सरकारी कार्यालय, एक वकिल वा सार्वजनिक ट्रस्टीबाट लिखित रूपमा प्राप्त गर्न सक्नुहुन्छ।
माइकल स्पीगल पब्लिक ट्रस्टी फर भिक्टोरियाको ट्रस्टी सर्भिसेस विभागका कार्यकारी प्रबन्धक हुन्।
उनी भन्छन् कि बालबालिका भएका मानिसहरूले इच्छापत्र बनाउन अत्यन्त जरुरी छ - किनभने, अभिभावकको मृत्यु भएको खण्ड नाबालिग सन्तानको अभिभावकत्व (सन्तानलाई कसले हेर्ने) कानुनले निर्धारण गर्दछ।
बालबालिकालाई हेरचाह गर्न उपयुक्त आफन्तहरू उपलब्ध नभएमा उनीहरूलाई फोस्टर केयरमा पठाउन सकिन्छ।
आप्रवासीहरूको सन्दर्भमा, हेरचाहको लागि अस्ट्रेलियामा परिवार नभएको खण्डमा बालबालिकालाई विदेशमा रहेका आफन्त समक्ष पठाइन सकिन्छ।

अस्पष्ट अवस्थाबाट जोगिने तरिका
डीन कलिम्न्योस भन्छन् कि इच्छापत्रले अनिश्चितता वा सांस्कृतिक गलत धारणाहरू समाधान गर्न मद्दत गर्न सक्छ।
सामान्य परिस्थितिहरूमा, यसले जीवनलाई सजिलो र स्पष्ट बनाउँछ, किनभने मानिसहरूलाई मृतकको इच्छा के थियो भनी थाहा हुन्छ।
तपाईंले इच्छापत्र लेख्नको लागि कानुनी मद्दत प्राप्त गरेमा या नगरेमा, इच्छापत्र मान्य हुनका लागि केही कुराहरूलाई ध्यानमा राख्नु महत्त्वपूर्ण छ।
"तपाईँ आफ्ना बच्चाहरूसँग बस्नु हुँदैन भने या तपाईँका दुई वटा परिवार छन् भने पनि, बालबालिकालाई इच्छापत्रबाट छुटाउन मिल्दैन। यो मामिला निकै जटिल छ। बच्चाहरूलाई तपाईँले दिनु पर्ने कुराहरू पछाडि विभिन्न कारण र तहहरू छन्, यसको फैसला कहिलेकाहीँ अदालतले गर्दछ।" - माइकल स्पीगल, भिक्टोरिया स्टेट ट्रस्टीजका कार्यकारी प्रबन्धक

भिक्टोरिया स्टेट ट्रस्टीजको आफ्नो अनुभव सुनाउँदै, माइकल स्पिगल भन्छन् कि जब कुनै व्यक्तिको इच्छापत्र बिना मृत्यु हुन्छ, परिवारमा सामान्यतया पारिवारिक झगडा हुन्छ।
आफ्ना इच्छाहरूको बारेमा आफ्ना प्रियजनहरूलाई थाहा दिनु पर्छ भनी उनी मानिसहरूलाई सल्लाह दिन्छन्।
"हामीलाई आफ्नो मृत्युको कुरा गर्न मन लाग्दैन। आफू कुनै दिन मरिन्छ भनेर हामीलाई स्विकार्न मन लाग्दैन। हामीलाई यी विषय तिर ध्यान दिन मन लाग्दैन। तर जीवनको एउटा निश्चित कुरा भनेको हामी सबै जनाको मृत्यु हुने छ, र यो विषयलाई जति ध्यान दिए, यसको प्रभावको बारेमा जति सोचे, यसले हाम्रा नजिकका व्यक्तिहरूलाई पार्ने असरको बारेमा जति सोचे, पछि गएर त्यति सजिलो हुन्छ।" - माइकल स्पीगल, भिक्टोरिया स्टेट ट्रस्टीजका कार्यकारी प्रबन्धक
यदि तपाईँले इच्छापत्र बनाउन अनलाइन सहयोग सामाग्री (अनलाइन विल किट) प्रयोग गरेमा, त्यसलाई अझै पनि एक वकिल वा सार्वजनिक ट्रस्टीद्वारा जाँच गराउन सक्नुहुन्छ। आफ्नो राज्य वा क्षेत्रको लागि सार्वजनिक ट्रस्टी कार्यालयको वेबसाइटमा हेर्नुहोस्।