"व्यायामको लागि दौडी रहेको समयमा प्रहरीलाई देख्ने बित्तिकै उनि दौडन बन्द गर्थे, किन भने दौडिरहेको अवस्थामा देखिए उनलाई प्रहरीले अवश्य पनि रोक्ने थियो।"
"यसरी व्यायाम गर्दा पनि प्रहरीले बाटोमा रोक्नसक्ने कारण बन्न सक्दछ। तपाईंको वर्ण वा जातीयता पनि उक्त कदमको कारण बन्दछ।"
उनि हुन् तमार हप्किन्स, आफूलाई अफ्रिकी मूलका एक अस्ट्रेलियाली पुरुषले वर्णन गरेको एक घटना बारे बताउंदै। कुनै कानून नतोड्दा पनि प्रहरीले रोकेर सोधपुछ गर्ने अवस्था बाट जोगिन उक्त पुरुषले कसरी आफ्नो व्यवहारलाई बदलिएको बारे हप्किन्सले एसबीएस नेपालीलाई बताएकी छन्।
"प्रहरी द्वारा पटक पटक रोक्दै सोधपुछ गर्ने भएकोले मानिसहरुले तीन जना भन्दा बढीको समूहमा नहिड्ने निर्णय गरेका उदाहरणहरु पनि रहेका छन्," हप्किन्स भन्छिन्।
मानिसहरूको वर्ण र जातीयताका आधारमा हुने भेदभाव र प्रहरीको जवाफदेहीता बारे न्यु साउथ वेल्स विश्वविद्यालयमा हाल उनि विद्यावारिधि गरिरहेकी छिन्। साथै उनले मेलबर्न स्थित फ्लेमिङ्गटन र केनसिङ्गटन सामुदायिक कानूनी केन्द्रमा प्रमुख अधिवक्ताको रूपमा पनि काम गरिसकेकी छिन्।
त्यस बेला पनि प्रहरीले सडक छेउमा सवारी साधन रोक्न लगाइएका उदाहरणहरु पनि आफु समक्ष आएको उनि बताउंछिन्।
"बिना कारण प्रहरी द्वारा रोकिएको, गाडीमा रहेका अन्य यात्रुहरुसंग सोधपुछ गरिएको, प्रहरी द्वारा गाडीको तलासी गरिदा गाडी बाहिर ओर्लन लगाइएको र ढलको छेउमा बस्न लगाइएको धेरै कथाहरु रहेका छन्,"उनले थपिन्।

सुश्री तमार हप्किन्सले भिक्टोरिया प्रहरी विरुद्ध कथित वर्ण र जातीय भेदभावको आरोपमा दायर भएका मुद्दाहरुमा अफ्रिकी अस्ट्रेलियाली समुदायका सदस्यहरुको राज्यका अदालतहरुमा प्रतिनिधित्व गरेकीछिन्। ती मुद्दाहरु अन्ततः अदालत बाहिर सबै पक्षहरु बीच सहमतीका साथ् टुंगिए र प्रहरी द्वारा आफ्ना कार्यविधीमा परिवर्तन गर्न सार्वजनिक सुनवाई सुरु गर्ने पनि घोषणा गरियो।
भिक्टोरियाको उत्तर तर्फ - न्यु साउथ वेल्समा पनि प्रहरी द्वारा कथित भेदभावपूर्ण व्यवहार गरिएको धेरै उदाहरणहरु रहेको भन्दै त्यस प्रति कानूनविदहरुले पनि चिन्ता व्यक्त गरेका छन्।
सिड्नी स्थित रेडफर्न लिगल सेन्टरमा प्रहरी जवाफदेहिता बारे कार्यरत अधिवक्ता समान्था ली भन्छिन् कि बिना कारण प्रहरी द्वारा नियमित रूपमा रोकिने बारे उजुरी गर्न धेरै आदिवासी पृष्ठभूमिका मानिसहरु आफ्नो कार्यालय आउने गरेका छन्।
उनिहरु खालि कुनै प्रकारको प्रहरी शंकामा रहेकोले त्यस्तो भएको आफ्ना ग्राहकहरुको भनाइ रहेको ली बताउंछिन्।

रेडफर्न कानूनी केन्द्रद्वारा प्राप्त गरिएको एक तथ्याङ्क अनुसार सन् २०१६ यता न्यु साउथ वेल्स राज्य प्रहरीद्वारा ११,३०४ जनालाई सबै कपडा खोल्न लगाएर तलासी लिइएको थियो। त्यसरी जाँच गरिएका मानिसहरू मध्ये १० प्रतिशत चाहिँ एबोरिजिनी तथा टोरेस स्ट्रेट आइल्याण्डर समुदायका रहेको बताइएको छ।
“यसरी जातीयताका आधारमा प्रहरी द्वारा लक्षित गरिने मानिसहरूको सङ्ख्या देशका विभिन्न राज्यहरुमा फरक रहन सक्छ तर केही समुदाय, सांस्कृतिक पृष्ठभूमिका मानिसहरू त्यस्ता कारवाहीमा बढी परिरहेको देखिन्छ,” लीले भनिन्।
जानकारी प्राप्त गर्न पाउने कानूनलाई प्रयोग गर्दै गार्जियन अस्ट्रेलियाले हालै प्रकाशित गरेको एक रिपोर्ट अनुसार पश्चिम अस्ट्रेलियामा आदिवासी सवारी चालकहरूलाई गैर-आदिवासीहरुको तुलनामा प्रहरी द्वारा ३.२ गुणा बढी जरिवाना तिराइएको थियो।
"रेशियल प्रोफाइलिंग" भनेको के हो?
तमार हप्किन्सका अनुसार मानिसहरुको वर्ण वा जातीयताको आधारमा प्रहरी द्वारा आदिवासी र जातीय अल्पसङ्ख्यक समुदायका सदस्यहरु विरुद्ध "अत्यधिक" र "अनुचित" बल प्रयोग गरिनुलाई "रेशियल प्रोफाइलिंग" भनिन्छ।
तर यस्ता "अत्यधिक" र "अनुचित" बल प्रयोग भनेको के हो भन्ने बारे चाहिं प्रष्ट परिभाषा रहेको छैन।
सुश्री हप्किन्सको लागि चाहिं कानूनको मूल मर्म भन्दा बाहिर जाने, मानव अधिकार मापदण्ड पुरा नगर्ने कुरालाई प्रहरी शक्तिको दुरुपयोग भनेर बताउन मिल्दछ।
कुनै पनि व्यक्ति विशेषलाई उनीहरूको जातीयताको आधारमा लक्षित गर्नु अस्ट्रेलियाको कानूनमा वर्जित गरिएता पनि काम-कारबाहीको क्रममा चाहिं यस्ता गतिविधि हुन सक्ने समान्था ली बताउँछिन्।
“यस्ता घटनाहरू भए कानूनी उपचारका मार्गहरू रहेतापनि यस्ता भेदभावपूर्ण व्यवहारको सामना गर्ने हरुमाथि चाहिं यसको ठुलो असर पर्न सक्छ।”

यदि प्रहरीले रोके तपाईँसँग के कस्ता अधिकारहरू उपलब्ध छन् त?
अस्ट्रेलियाका विभिन्न राज्यहरूमा फरक-फरक कानून लागू हुने हुँदा ठ्याक्कै यसो भन्ने अवस्था छैन। त्यसमा पनि प्रहरीले तपाईँलाई गाडी चलाइरहेको बेला वा सडकमा हिडीरहेको बेला रोकिएको अवस्थामा पनि फरक-फरक नियम लागु हुनसक्दछ।
"यदि तपाईं सडकमा हिंडदै हुनुन्छ र प्रहरीले तपाईंलाई रोकेर सोधपुछ गर्न थाले भने तपाईंले चाहेमा ती प्रश्नहरुको जवाफ दिन सक्नुहुन्छ तर सोधिएका प्रश्नहरुको जवाफ तपाईंले दिनैपर्छ भन्ने पनि छैन," भन्छिन् रेडफर्न कानूनी केन्द्रकी समान्था ली।
अनि परिचयपत्र मागेमा नि?
अस्ट्रेलियामा प्रहरीले माग्यो भन्दैमा आफ्नो परिचय पत्र देखाई हाल्न जरुरी छैन। तर लीका अनुसार तलासी पछि तपाईंको साथमा केहि अवैध सामाग्री भेटियो भने चाहिं तपाईंले आफ्नो परिचय पत्र प्रहरीलाई देखाउनु पर्ने हुन्छ।
साथै, यदि कुनै व्यक्ति गम्भीर अपराधमा संलग्न भएको वा उक्त घटनाको प्रत्यक्षदर्शी भएको विश्वास प्रहरीको रहे उक्त अवस्थामा पनि प्रहरीले परिचय पत्र माग्नसक्ने तमार हप्किन्स बताउंछिन्।
“त्यस्ता अवस्थामा भने प्रहरीले तपाईँको परिचयपत्र किन मागेको हो, खुलाउन पर्छ। यदि नखुलाएमा तपाईंले उक्त आदेश मान्नै पर्ने केही बाध्यता छैन।”
तर, आप्रवासी एवं शरणार्थी पृष्ठभूमिका धेरै मानिसहरूलाई प्रहरीको आदेश नमान्न त्यति सजिलो नहुन सक्छ।
“यही भएर पनि बिना उपयुक्त कारण प्रहरी सर्वसाधारण समक्ष गएर जानकारी माग गर्न नपाइने नियम आवश्यक छ,” उनी भन्छिन्।
यदि तपाईंले आफूसँग परिचयपत्र लिएर नहिँडेको अवस्था छ र प्रहरीले त्यस प्रकारका जानकारी माग गरेमा र तपाईँलाई दिन मन लागेको खण्डमा आफ्नो विवरण बताउन सक्नुहुन्छ।
“तर तपाईंले प्रहरीलाई दिएको आफ्नो नाम र ठेगाना सहि रहेको प्रमाण दिनुपर्ने कुनै कानून रहेको छैन। तपाईंको परिचय पुष्टि गर्न प्रहरीले तपाईंलाई हिरासतमा लिन सक्दैनन्,” हप्किन्स भन्छिन्।

सवारीसाधन चलाउँदा तपाईँका अधिकार
सवारी चालकलाई प्रहरी द्वारा सडक छेउमा रोकिएको अवस्थामा चाहिं कानून फरक रहेको छ।
“भिक्टोरियामा प्रहरीले लाइसेन्स र गाडीको दर्ता जाँच्न सवारीसाधनलाई रोक्न सक्दछन्। कुनै व्यक्तिले केहि अपराध गरेको आशंका व्यक्त गर्नुपर्दैन,” तमार हप्किन्स स्पष्ट पार्छिन्।
तर यो नियम खालि कसैको लाइसेन्स वा सवारी साधन दर्ता जांचको लागि मात्र लागु हुन्छ।
"यदि प्रहरीले सवारी चालकलाई किन उक्त स्थानमा गाडी चलाइरहेको, त्यो दिन के गरिरहेको भन्ने प्रश्न गर्दछन् वा गाडीको तलासी गर्न खोज्दछन भने यसले सवारी साधनलाई प्रहरी द्वारा रोकिनुको कारण लाइसेन्स जांच नभई सम्वन्धित व्यक्ति माथि आपराधिक छानबीन गर्न भएको प्रमाण प्रदान गर्दछ।"
यी जस्तै कानून न्यु साउथ वेल्स लगायत अस्ट्रेलियाका अन्यप्रदेशहरुमा पनि विद्यमान छन्।
“न्यु साउथ वेल्सको कुरा गर्ने हो भने, तपाईँको गाडी रोक्नु अघि अपराध भएको बारे उचित आधार प्रहरीसँग हुन जरुरी छ। कुन बेला गाडी रोक्ने भनेर तोकिएको हदमा मात्र त्यस्तो कारबाही हुनसक्छ।”
भिक्टोरियामा, साउथ अस्ट्रेलिया र वेस्टर्न अस्ट्रेलियामा चाहिं प्रहरीले तपाईँको गाडी बिना कुनै कारण रोक्न त सक्छन् तर त्यसरी रोक्दा उनीहरूले तपाईँको लाइसेन्स र सवारी दर्ता प्रमाणपत्र मात्र जाँच गर्न पाउने कानूनी प्रावधान छ।
मदिरा सेवनको प्रारम्भिक जांच गर्न सवारी साधनलाई रोक्ने अधिकार पनि प्रहरी समक्ष रहेका छन्।
तर यस्तो अवस्थामा प्रहरीसँग उक्त गाडीमा सवार अन्य यात्रुसँग सोधपुछ गर्ने अधिकार चाहिं रहेको छैन", हप्किन्स भन्छिन्।

वर्ण वा जातीयताको आधारमा प्रहरी द्वारा रोकिए अपनाइन सकिने उपायहरु बारे समान्था ली र तमार हप्किन्स बाट केहि सुझाव:
- आफुलाई किन रोकेको बारे प्रहरीलाई सोध्नुहोस्। यदि तपाईंलाई सोधपुछ गरिदै छ भने प्रहरीलाई त्यसो गर्ने अधिकार रहेको नसोच्नुहोस्।
- हतार नगरी घटनालाई बुझ्ने प्रयास गर्नुहोस्।
- घटनामा संलग्न प्रहरीको नाम, उनीहरू काम गर्ने स्थान, घटनाको मिति, समय र स्थान पनि नोट गर्नुहोस्।
- कुनै प्रकारको तलासी प्रति आफुले अनुमति नदिएको प्रष्ट पार्न “I do not consent to any form of search” भनेर भन्नुहोस्।
- गाडी रोक्न निर्देशन दिइएको भए, सडक छेउ सुरक्षित स्थान निर्क्योल गरेर रोक्नुहोस् तर तपाईँलाई आफ्नो छालाको रङ्ग वा जातीयताको आधारमा रोकेको लागेमा उजुरी गर्नेबारे पनि सोच्नुहोस्।
- तपाईंले प्रहरी अधिकार दुरुपयोग माथि छानबीन गर्ने निकाय वा राष्ट्रिय मानवअधिकार आयोग समक्ष उजुरी गर्न सक्नुहुन्छ।
- तपाईंले यसबारे आफ्नो स्थानीय कानूनी परामर्श केन्द्रलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ।
- यस्ता घटनाबारे समुदायका अन्य सदस्यहरू र आफ्नो स्थानीय सांसदसँग कुरा गर्नु सक्नुहुनेछ।
- प्रहरीले पनि कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ अन्यथा उनीहरू पनि दण्डको भागीदार हुनुपर्छ भन्ने बारे सचेत रहनुहोस्।
- यदि सम्भव छ भने, घटनालाई रेकर्ड गर्नुहोस् - प्रहरीलाई क्यामेरामा कैद गर्न तपाईँसँग कानूनी अधिकार छ तर यसो गर्दा उनीहरूको मुखैमा क्यामेरा नताक्नुहोस्।
