गएरात नै उक्त छलफल भएको बीबीसी न्युज नेपालीले बताएको हो।
बीबीसीका अनुसार प्रधानसेनापति अशोकराज सिग्देल तथा जेन जी प्रतिनिधीहरू बिच शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकारसम्मको विषयहरू छलफल भएको थियो।
यसअगि, जेन जी पुस्ताले सुरु गरेको आन्दोलन नियन्त्रण बाहिर गएपछि आन्दोलनकारीलाई वार्तामा आउन आह्वानहरू गरिएका थिए।
हाल काठमाण्डूका सडक सेनाको पहरेदारीमा रहेको छ।
हिजो मङ्गलवार, ९ सेप्टेम्बर साँझ नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गर्दै एक छोटो सम्बोधन गरेका थिए।
''वर्तमान असहज परिस्थितलाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र जनतालाई सुरक्षा दिनु हामी सबैको साझा कर्तव्य हो,'' उनले आफ्नो सम्बोधनका क्रममा भने।
''शान्ति सुरक्षा अमन चयन र राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको दायित्व र कर्तव्य हो। वर्तमान असहज परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण निकास दिनका लागि आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्ताको निम्ति आह्वान गर्दछौँ।''
देशभर भएको तोडफोड लगायत बन्द नभएपछि सर्वसाधारण जनताले चिन्ता व्यक्त गरेका छन्।
सेनाले एक विज्ञप्ति जारी गर्दै तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न अपिल गर्दै मङ्गलवार राति १० बजेबाट सेना सहित सबै सुरक्षा संयन्त्र परिचालित हुने विज्ञप्तिमा उल्लेख गरिएको थियो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि आन्दोलनरत जेन जी समूहलाई वार्तामा आउन अपिल गरेका थिए।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि उनले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबैसँग सहयोगको अनुरोध गरे।

'''लोकतन्त्रमा नागरिकले उठाएका माग जेन जीका प्रतिनिधि समेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन मुलुकलाई अरू थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,' राष्ट्रपतिको अपिलमा भनिएको छ।
मङ्गलवार दिनभर आगलागी, तोडफोड
आन्दोलनकारीहरूले दिनभर देशका विभिन्न सरकारी कार्यालय र नेताका निवास तोडफोड गर्ने र आगो लगाउने कार्य गरी रहे।
सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जस्ता स्थानमा उनीहरू पसेर आगो लगाइदिए। यस्तै काठमाण्डू बाहिर पनि मन्त्रालय लगायत अन्य महत्त्वपूर्ण सरकारी कार्यालय जलाउने कार्य मङ्गलवार अबेरसम्म चलिरह्यो।

संयम अपनाउन अपिल
सरकारका प्रमुखले राजीनामा दिएर मार्ग प्रशस्त गरी सकेपछि पनि देशभर सरकारी भवन लगायत भौतिक संरचना विनाश गर्ने सिलसिला नरोकिएपछि विभिन्न पेसाकर्मीहरूले संयम अपनाउन अपिल गरे।
प्रहरीको गोली लागेर मारिएका जेन जीहरूको सम्झनामा मङ्गलवार साँझ देश तथा विदेशमा समेत दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा सहभागी भएका कलाकार राजेश हमालले कार्यक्रम स्थलबाटै सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको बताए र राष्ट्रको सम्पदा कसैको निजी सम्पत्ति नभएको भन्दै जोगाउन आग्रह गरे।
यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, डा. सन्दुक रुइत, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत व्यक्तिहरूले पनि वार्तामा आउन र संयम अपनाउन आग्रह गरेका छन्।

मेयर शाहले भने सेनासँग वार्ता गर्न तयार रह
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेन जीहरूलाई सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन भनेका छन्। प्रधानमन्त्रीको राजीनामा पछि उनले यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ''सेना प्रमुखसँग वार्ता गर्न तयार रहनु होला।''
तर वार्ता सुरु गर्नु अघि संसद् विघटन हुनु पर्ने पनि उनले बताएका छन्।
अस्ट्रेलियाद्वारा चिन्ता व्यक्त
अस्ट्रेलिया लगायत अन्य छ देशले नेपालको पछिल्लो अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन्।
युके, अमेरिका, फ्रान्स, जापान, साउथ कोरिया र फिन्ल्यान्डले अस्ट्रेलिया सहित भएर उक्त संयुक्त विज्ञप्ति निकालेका हुन् जसमा भनिएको छ, “हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।”
यसका साथै नेपालमा सुरक्षा स्थिति निकै नाजुक रहेको बताउँदै अस्ट्रेलिया सरकारले नेपाल भ्रमणको आवश्यक्ता बारे मानिसहरूलाई “पुनर्विचार गर्न” भनेको छ।
सरकारले यस विषम परिस्थितीमा कन्सुलर सेवा चाहिने अस्ट्रेलियनहरूलाई डीफ्याटको २४ घण्टे कन्सुलर आपतकालिन केन्द्रलाई +६१ २ ६२६१ ३३०५ (अस्ट्रेलिया बाहिरबाट) र १३०० ५५५ १३५ (अस्ट्रेलियाबाट) सम्पर्क गर्न सकिने बताएको छ।
