आफूले लिएको ऋण चुक्ता गर्न नसक्ने स्थिति पुग्दा ऋण प्रदायकले आधिकारिक रूपमा नै कङ्गाल भएको भनेर घोषणा गरिदिए, त्यो निकै गम्भीर अवस्था हो भनेर बुझ्न जरुरी हुन्छ। साथै, त्यसबाट कानुनी झर-झमेलामा पनि परिन्छ।
अस्ट्रेलियामा राष्ट्रिय अर्थतन्त्र सुस्त हुँदै गर्दा, आर्थिक स्थिति नाजुक बन्दै गएका अस्ट्रेलियालीहरू व्यक्तिगत रूपमा टाट पल्टने क्रममा पनि वृद्धि हुनसक्ने बारे चेतावनी दिइएको छ।
व्यक्तिगत रूपमा टाट पल्टिने कार्य एक्कासि हुने नभएर क्रमिक रूपले स-साना ऋणहरू समयमै चुक्ता नगर्दा नगर्दै बिर्सिँदै जाँदा सुरु हुन्छ।
तर, त्यही सानो ऋण तिर्न ढिला गर्दा त्यसमा लाग्ने थप शुल्क, जरिवाना र उच्च ब्याजले गर्दा त्यो निकै छिटो ठुलो आर्थिक भार बन्न सक्छ।
अझ त्यसमा बेरोजगारी, पारिवारिक सम्बन्धमा तनाव वा कमजोर स्वास्थ्य अवस्था जस्ता केही व्यक्तिगत समस्याहरू थपिए भने त स्थिति झनै विकराल बन्दै जान्छन्।

सरे हिल्स स्थित “फाइनान्सियल राइट्स लिगल सेन्टर”की वरिष्ठ अधिवक्ता म'आटा सोलोफोनी हाल आफूकहाँ टाट पल्टिएको बारे फोनहरू आउने सङ्ख्या बढेको बताउँछिन्।
"मैले के देखेकी छु भने, मानिसहरू स्वैच्छिक रूपमा आफू टाट पल्टिएको बारे घोषणा गरिरहेका छैनन्। उनीहरूलाई ऋण प्रदायकहरूबाट टाट पल्टिने प्रक्रिया सुरु गरिएको भन्ने ब्यहोराका पत्र काटिएको छ जस कारण हामीकहाँ निकै ढिलो गरेर यस्ता फोन आउने गरेका छन्,” सोलोफोनीले भनिन्।
उनका अनुसार, त्यसरी आउने फोनहरूमा प्राय आर्थिक कारोबार गर्ने संस्थाहरूले ऋण तिर्न नसक्ने ग्राहकहरूलाई कानुनी कदम चालिने बारे धम्की दिएको पाइन्छ।

टाट पल्टिने अवस्थासम्म आइपुग्न धेरै ठुलो रकम ऋण लिएको हुनुपर्छ भन्ने छैन; ५ हजार डलर जति सानो परिमाणको ऋण चुक्ता नगर्दा पनि टाट पल्टिने अवस्था सुरु हुनसक्छ र यसका अन्य परिणामहरू सुखद नहुन पनि सक्छन्। कतिपय अवस्थामा त, सार्वजनिक कालोसूचीमा जीवनभर नै सूचीकृत भइने डर हुन्छ।
यस बारे प्रस्ट्याउँदै अस्ट्रेलियन फाइनान्सियल सेक्युरिटी अथोरिटीका माइकल पार्किन्सन भन्छन्, “यसरी टाट पल्टिएको घोषणा भएपछि अस्ट्रेलियामा, तीन वर्ष र एक दिनसम्म त्यसको मान्यता रहन्छ। जब एउटा मान्छेलाई टाट पल्टिएको घोषणा गरिन्छ, तब उक्त व्यक्तिले आफ्नो सम्पत्ति आफूसँग राख्न वा बेच्न पाउँदैन। बरु, एक ट्रस्टी नियुक्त गरिन्छ जसले सम्पूर्ण सम्पत्ति बेच्छ र त्यसबाट प्राप्त हुने रकमबाट बक्यौता रकम चुक्ता गरिन्छ।"
अथवा सजिलो रूपमा भन्ने हो भने, टाट पल्टेको घोषणा गर्ने मानिसले आफ्नो घर समेत गुमाउन सक्छ।
साथै, त्यस्ता व्यक्तिहरूको स्वतन्त्रता पूर्वक घुमफिर गर्ने स्थिति पनि धरापमा पर्ने बताउँछन्, माइकल पार्किन्सन।
“टाट पल्टिएको घोषणा गर्ने व्यक्तिलाई अस्ट्रेलिया बाहिर जानुपर्ने भयो भने उनीहरू त्यत्तिकै विदेश जान पाउँदैनन्। उनीहरूले आफ्नो ट्रस्टबाट स्वीकृति लिनुपर्ने हुन्छ।”
साथै, सरकारले पनि त्यस्ता व्यक्तिहरूको नाम गोप्य राख्दैन र त्यस्तो कालो सूचिमा रहेकाहरू नाम घरबेटी, रोजगारदाता वा वित्तीय संस्था लगायत जो कसैले पनि पत्ता लगाउन सक्छन्।

ऋण वा क्रेडिटबारे जानकारी राख्ने एजेन्सीहरूले पनि त्यस्ता ऋण तिर्न नसकेका घटनाबारे कम्तीमा पनि पाँच वर्षसम्म अभिलेख राख्छन् र यसले गर्दा आर्थिक कारोबार गर्ने कुनै प्रतिष्ठित संस्थाबाट ऋण पाउन निकै गाह्रो हुन्छ।
रिजर्भ बैङ्कको रेकर्डका अनुसार अस्ट्रेलियालीहरूले परम्परागत क्रेडिट कार्डमा ५० अर्व डलर तिर्न बाँकी रहेको देखिएको छ।
उता, आफ्टरपे, अलिपे, स्प्लिइट जस्ता नयाँ ऋण प्रदायक सेवाहरू प्रति विशेष गरी १८ देखि ३५ वर्ष उमेर समूहको आकर्षण बढ्दै जाँदा उक्त समूहका धेरै मानिसहरूले आफ्नो खर्च व्यवस्थापन गर्न संघर्षरत् रहेको र त्यसले निम्त्याउने परिणाम बारे उनीहरू अनभिज्ञ रहेको बताउँछिन्, २३ बर्सिया सोफिया पेट्रोभिच।
उनको अनुसार एकमुष्ट रूपमा रकम नबुझाई किस्ताबन्दीमा सामानहरू किन्न प्रयोग हुने यस्ता प्रणाली कारण पनि युवा-युवतीहरू अझ ऋणमा डुब्दै गएका छन्।
"यस्ता ऋण लिने बारे जसरी हामी समक्ष विज्ञापन गरिन्छ, त्यसले यो त्यत्ति डरलाग्दो कुरा नभएको भान पर्छ। मलाई लाग्दैन कि सामान किने पछि तुरुन्त पैसा नतिरे के हुन्छ भन्ने बारे कसैले पनि तपाइलाई राम्ररी बुझाउँछ। मानिसहरू विभिन्न तरिकाबाट किस्तामा वा बिना ब्याजमा सामान किन्न लालायित हुन्छन् तर उनीहरू यस्तो अवस्था सम्म पुग्छन् कि आफूसँग भएको रकम भन्दा बढी खर्च थाल्छन्।"
सोफिया पेट्रोभिच भन्छिन्, उनका कतिपय साथीहरूलाई आफ्टरपे जस्ता सुविधाका ऋण तिर्न नसके के हुन्छ र टाट पल्टिए पछि कस्तो परिणाम आउँछ भन्ने बारे केही थाहा नै छैन।

म'अटा सोलोफोनीका अनुसार, ऋण बोक्नु हाम्रो जीवनयापनको एक हिस्सा बनिसकेता पनि टाट पल्टिने कार्यलाई अलिक हेयकै दृष्टिले हेरिन्छ।
“ऋण बोक्नु भनेको कलङ्कित हुनु हो भन्ने एउटा बुझाई समाजमा व्याप्त छ। सांस्कृतिक रूपमा पनि ऋणलाई गुपचुप नै राख्ने चलन छ।निजी मामिला भन्दै मानिसहरू ऋणबाट छुटकारा पाउन कुनै किसिमको मद्दत लिन खोज्दैनन्, विशेष गरी जातीय विविधता पृष्ठभूमिका मानिसहरू। उनीहरू यस विषयमा बोल्न लजाउँछन्। समय मै उपाय लगाउन सकियो भने टाट पल्टिने अवस्था अगावै केही समाधान खोज्न सकिन्छ नि।”
केही जातीय समुदायहरूमा भने ऋण व्यवस्थापनको समस्या आधिकारिक तथ्याङ्कले देखाएको भन्दा बढी नै रहेको आफ्नो विचार राख्छिन् सोलोफोनी।
आफ्नो आर्थिक अवस्थालाई लिएर मानिसहरू यत्ति तनावमा रहन्छन् कि उनीहरूले आफ्नो जीवन नै अन्त्य गर्नेसम्म सोचिसकेका हुन्छन्, उनी भन्छिन्।
"मैले यस्ता दुईचार जना मानिसहरूसँग कुरा गरेको छु जसले ऋणबाट उत्पन्न तनावका कारण आत्महत्या बाहेक अन्य विकल्प सोच्न पनि नसकेको बताएका छन्।”

आर्थिक समस्या बारे निःशुल्क र गोप्य सुझाव नेशनल डेब्ट हेल्प लाइन मार्फत अस्ट्रेलियाभर रहेका सामुदायिक संस्थाहरूमा कार्यरत अनुभवी व्यक्तिहरूबाट प्राप्त गर्न सकिनेछ।
उनीहरूलाई सम्पर्क गर्न १८०० ००७ ००७ मा सोमबारदेखि शुक्रवारसम्म बिहान ९:३० देखि दिउसो ४:३० सम्म फोन गर्नुहोस्।





