Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा मातृभाषाको रूपमा कुसुण्डा बोल्ने एक जना मात्र बाँकी; भाषा जोगाउन सरकार संवेदनशील हुन पहल

Language expert Madhav Pokharel spoke to SBS Nepali about the last remaining person whose mother tongue is Kusunda.

Language expert Madhav Pokharel spoke to SBS Nepali about the last remaining person whose mother tongue is Kusunda. Source: Sewa Bhattarai

नेपालमा मातृभाषाको रूपमा कुसुण्डा बोल्ने दुई जना मध्ये एक जनाको मृत्यु पछि अब उक्त भाषा जोगाउन थप पहल हुनु पर्ने माग भाषाविदहरु द्वारा गरिएको छ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपालमा मातृभाषाको रूपमा कुसुण्डा बोल्ने दुई जना मध्ये एक जनाको मृत्यु पछि अब उक्त भाषा जोगाउन थप पहल हुनु पर्ने माग भाषाविदहरु द्वारा गरिएको छ।


नेपालमा बोलिने १२३ भाषा मध्ये २१ वटा भाषा १,००० भन्दा कम कम मानिसले बोल्दछन्। ती मध्ये एक, अत्यन्त जोखिममा परेको कुसुण्डा भाषा हो।

केही वर्ष अघि कुसुण्डा जातीका अन्तिम पुरूष भनेर चिनिएका राजामामा कुसुण्डाको निधन हुँदा कुसुण्डा भाषा लोप भएको ठानिएको थियो, तर त्यसपछि पनि यो भाषाका दुइ जना वक्ता भेटिएका थिए।

ती मध्ये एक वक्ता ज्ञानीमैया सेनको गत हप्ता ८५ वर्षको उमेरमा निधन भएको छ।

अब मातृभाषाको रूपमा कुसुण्डा भाषा बोल्ने एकजना मात्र बाँकी रहेको सन्दर्भमा यो भाषा, यसको ईतिहास र भाषिक विविधताको महवका बारेमा सेवा भट्टराईले भाषाविद् माधव पोखरेलसँग गरेको कुराकानी।

"सञ्चार माध्यमहरू अलि हडबडाएर समाचार दिँदा रहेछन्। राजा मामा मरेपछि अन्तिम वक्ता बिते भनेर भने। अहिले ज्ञानीमैया मरेपछि अन्तिम वक्ता मरिन् भनेर फेरी हल्ला गरे।"

नेपालमा अत्यन्त थोरै वक्ता भएको कुसुण्डा भाषा पाइएको छ। त्यो भाषा कस्तो हो? त्यसको परिचय दिइदिनुहोस् न।

कुसुण्डा भाषा नेपालमा मात्रै बोलिने एक्लो भाषा परिवार हो। एउटै फेद, एउटै बोट। अर्को हाँगाबिँगा छैन। कुसुण्डा भाषाका झण्डै तीनवटा क्षेत्रीय भेद भएको थाहा पाइयो। एउटा चाहिँ गोर्खा तनहुँतिरको राजामामाकी आमाले बोलेको प्रोफेसर चुडामणि बन्धुले भेट्नुभएको, यसको रेकर्ड मसँग छ।

अर्को चाहिँ सुर्खेतमा भेटिएको। राइनहार्ट भन्ने अस्ट्रियाका भाषा वैज्ञानिकले अध्ययन गरेका थिए।

अब एउटा मात्रै वक्ता छ भनेर लेखेका थिए। त्यो एउटा वक्ता चाहिँ राजामामाकी आमा। राजामामाकी आमा मरेपछि चाहिँ कुसुण्डा भाषा यो संसारबाट लोप भयो भन्ने भइराखेको थियो।

हामी २०५३ सालमा दाङ पुगेको बेलामा चुडामणि बन्धुले प्रेमबहादुर शाही नाम गरेका कुसुण्डासँग भेट गराउनुभो।

पछि बिके रानाले के सुनाए भने फरर बोल्न जान्ने दुइटी वक्ता छन्: पुनी ठकुरी र ज्ञानीमैयाँ सेन। मैले जनजाती प्रतिष्ठानलाई यो कुरा सुनाएपछि जनजाती प्रतिष्ठानले उनीहरूलाई खोजेर ल्यायो। हामीले उनीहरूलाई भाषा विज्ञान विभागमा तीन महिना राखेर कुसुण्डा भाषाको अभिलेख गर्यौं।

2012 photo of Kusunda language speaker Gyani Maiya Sen, 76, poses for a photo at her home in the remote district of Dang in western Nepal.
2012 photo of Kusunda language speaker Gyani Maiya Sen, 76, poses for a photo at her home in the remote district of Dang in western Nepal. Source: Getty

त्यसरी एक्लै छुट्टिएको भाषा कसरी बन्छ? र कुसुण्डा भाषाको ईतिहास र कुसुण्डा जातीको बारेमा हामी के कति जान्दछौं अहिले?

कुसुण्डा जाती संसारमै अर्को छैन। जेनेटिक लिंगुइस्टिक्सका माध्यमबाट रगत जाँचेर कुसुण्डाहरू पुर्वी प्रशान्त महासागरीय थिए होलान् भन्ने एउटा तर्क गरिएको छ।

कुसुण्डाहरू बगुवा पानी खाँदैनन्, कुवाको मात्रै खान्छन्। उनीहरू गाई छुँदैनन्, गाईको दुध खाँदैनन्, गाईको गोबर छुँदैनन्। उनीह गोहोरोको शिकार गर्छन्। भार्से र मलसाँप्रोको शिकार गर्छन् र मासु खान्छन्। त्यस्तो अर्को जाती छैन।

ती बनमा बस्छन् तर कुसुण्डा भाषामा हरियो भन्ने शब्दै छैन। बनमा बस्नेलाई त सबै हरियो छ, हरियो त रंगै होईन।  

कुसुण्डाले आफुलाई म्याक् भन्छन्, म्याक् भनेको बाघ पनि हो, कुसुण्डा पनि हो। किनभने बाघ पनि वनको राजा, कुसुण्डा पनि वनको राजा।

यसको बराबरी वा तुलना गर्न सकिने नेपालको मात्रै होईन यो क्षेत्रकै र संसारकै अर्को कुनै जाती न जाती शास्त्रीय दृष्टिले नजीक छन्, न भाषा वैज्ञानिक दृष्टिले।

तपाईंले कुसुण्डा भाषाका शब्द कति विशेष छन् भनेर बताउनुभयो। कुसुण्डा भाषाको वाक्य संरचना र व्याकरण पनि फरक छन् कि छैनन्?

एकदम फरक छन्। मेरो हात भन्नु पर्यो भने 'तावइ'। त्यो 'तावइ' मा 'त्' मात्रै 'म' भनेको हो। तिम्रो हात भन्नु पर्यो भने 'नावइ'। उसको हात भन्नु पर्इ भने 'गिनावइ'। यस प्रकारको सर्वनामीकरण कुसुण्डा भाषामा छ जुन अरूमा छैन।

 इ र ए मा फरक हुँदैन, उ र ओ मा फरक हुँदैन, अ र आ मा फरक हुँदैन। मर्नु र मार्नुमा फरक हुँदैन। तीनवटा मात्रै स्वर छन्। नेपालीमा क च ट त प पाँचवटा उच्चारण स्थान छन् भने कुसुण्डा भाषामा तीनवटा मात्रै स्थान छन्।

यस्तो खालको रमाइलो जुन भाषा छ, त्यो अर्कोमा मैले भेटेको छैन।

Language expert Madhav Pokharel spoke to SBS Nepali.
Language expert Madhav Pokharel spoke to SBS Nepali. Source: Sewa Bhattarai

भर्खरै सञ्चारमाध्यममा कुसुण्डा भाषाकी अन्तिम वक्ताको मृत्यु भयो भन्ने समाचार सुनियो। तर तपाईंले कुसुण्डा भाषाका वक्ता अरू पनि छन् भन्नुभएको छ। तै पनि कुसुण्डा भाषा अत्यन्त जोखिममा देखिएको छ, हैन त?

सञ्चार माध्यमहरू अलि हडबडाएर समाचार दिँदा रहेछन्। राजा मामा मरेपछि अन्तिम वक्ता बिते भनेर भने। अहिले ज्ञानीमैया मरेपछि अन्तिम वक्ता मरिन् भनेर फेरी हल्ला गरे।

ज्ञानीमैया भन्दा बढ्ता फरर बोल्न सक्ने कमला खत्री छिन्। रोल्पा टुनीबोटमा उनकी आमा पुनी ठकुरी बस्थिन्। उनीहरू चाहिँ घरमा कुसुण्डा भाषा दोहोरो बोल्न पाएका। र २०६७ सालमा होला पुनी ठकुरी मरेपछि कमलाले बोल्न पाएकी थिइनन्।

खोजी गर्दै जाँदा के थाहा भयो भने कमला खत्री र ज्ञानीमैया दाजुभाइका छोरी रहेछन्। एक किसिमले एउटै भाषिका बोल्दा रहेछन्।

तर ज्ञानीमैया १० वर्षको उमेरमा जंगल छोडेर आएकी, त्यसपछि बोल्नै पाएकी थिइनन्। तर उनको प्रतिभाको प्रशंसनीय पाटो के हो भने उनी फरर आफ्नो मातृभाषा बोल्थिन्। तै पनि आमा पुनी ठकुरीसँग कुसुण्डा भाषा बोलिराखेकी कमला खत्री जत्तिको फरर बोल्ने कोही पनि छैन।

अहिले सौभाग्यले मेरा चेला भोजराज गौतमलाई ज्ञानीमैयाको छिमेकमा ६ महिना बस्न लगाएर मैले कुसुण्डा भाषा बोल्न सिकाएको छु, अध्ययन गरेका छन्। अहिले हामीसँग ज्ञानीमैया र कमलाको सहित गरेर २० घण्टाको कुसुण्डा भाषाको रेकर्डिङ छ।

भाषाको विविधता जुन नेपालमा देखिएको छ र जुन हामी गुमाउँदै छौं, यो विविधताको महत्व के हो? विविधता हामीलाई किन चाहिन्छ? विविधता किन जोगाउनु पर्छ?

भाषा पनि जैविक विविधताको एउटा अंग हो। धेरै जातीहरूले आफ्नो संस्कृति जोगाएको हुन्छन्, उनीहरूको चिन्तन प्रणाली भाषामा अभिव्यक्त भएको हुन्छ। र थुप्रै ज्ञान भाषा भाषाको हुन्छ। भाषिक विविधतालाई साँचिएन भने 'कुसुण्डा भाषामा हरियो भन्ने शब्द नै छैन' भन्ने जस्ता कुराहरू कसरी थाहा हुन्छ?

नेपाल सरकारले हतार गरेर कमला खत्रीबाट बाँकी रहेको कुसुण्डा भाषा ल्याएर कुसुण्डा र अरू पढ्न चाहनेहरूलाई त्यो भाषा कसरी सिकाउने? संसारमा के पनि भएको छ भने माओरी भाषा बोल्न जान्ने एउटी बुढी मात्रै भेटिइन्। बुढीले सिकाउने र माओरी जातीले सिक्ने, त्यसरी पनि त भो।

बाँकी रहेकी कमला खत्रीले कुसुण्डा भाषा सिकाए हुन्थ्यो नि। सरकारले संवेदनशील हुनुपर्ने, हाम्रो सरकार दुर्भाग्यवश त्यस्तो संवेदनशील छैन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now