धेरैले यसरी अत्यधिक मात्रामा खानामा प्रयोग हुने नुन लगायत अन्य स्वास्थ्यका दृष्टिले हानिकारक पदार्थहरूको प्रयोगमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पछिल्लो प्रतिवेदनले देखाए अनुरूप ८० प्रतिशत अस्ट्रेलियाली बालबालिकाहरूले चाहिने भन्दा बढी नुनको उपभोग गर्ने गरेका छन्।
एक त बालबालिका को लागी स्वस्थकर छनौट मानिँदैन फास्ट फुडका खाना र त्यसमाथि पनि अस्ट्रेलियाका फास्ट फुडमा विश्वका अन्य देशहरूमा भन्दा धेरै नुनको प्रयोग हुने गरेको पाइएको छ।
अत्यधिक नुन उपभोगका कारण उच्च रक्तचाप हुने र यसले हृदयघात र मिर्गौला सम्बन्धी रोगहरू निम्त्याउने जोखिम हुने गर्दछ।
उच्च रक्तचाप भएका बालबालिकाले वयस्क अवस्था सम्म यो समस्याबाट गुज्रनु पर्ने सम्भावना रहने प्रतिवेदनले जनाएको छ।
चार मध्ये एक अस्ट्रेलियाली बालबालिकाहरूमा मोटोपनाको समस्या देखिदा, मोटोपनाको सम्बन्धी स्वास्थ्य चिन्तालाई नुन प्रयोग सँग जोडेर हेरिएको छ।
जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ कि सार्वजनिक स्वास्थ्य पोषणविद् क्लेर फरान्डका अनुसार नुनजन्य पदार्थको अत्यधिक उपभोगका पछाडि मानिसहरूको पछिल्लो समयमा फास्ट फुड र प्रसोधित खाना प्रति बढेको मोह प्रमुख कारण रहेको छ।

भिक्टोरिया सरकारको स्वास्थ्य सम्बन्धी निकाय भिक् हेल्थ र हार्ट फाउन्डेसनको सहकार्यमा उक्त प्रतिवेदन तयार पारिएको हो।
भिक् हेल्थ कि आहार विशेषज्ञ जेनी रैमर्स भन्छिन् आर्थिक अवस्था कमजोर भएकाहरू विशेष गरी स्वास्थ्यका दृष्टिले खराब आहार खाने जोखिममा हुन्छन्।
अत्यधिक नुनको उपभोग सम्पूर्ण अस्ट्रेलियाली समुदायहरूमा देखिए पनि, रैमर्सका अनुसार अस्ट्रेलियाली समाजमा रहेको जातीय र धार्मिक विविधताले पनि यो समस्यालाई बढावा दिएको छ। उदाहरणका लागी सोय सस।
तर रैमर्स भन्छिन् यिनै समस्यालाई समाधानका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

उनका अनुसार, गएको वर्ष केही एसियाली सस्हरू माथि गरेको एक अनुसन्धानमा त्यस्ता सस् हरूमा अत्यधिक मात्रामा नुनको प्रयोग गरेको पाइएको थियो।
तर अहिले तिनै सस् न्यून मात्रामा नुनिलो भएको पाइन्छ। सुपरमार्केटहरूले पनि स्वास्थ्यलाई मध्यनजर गर्दै यस्ता स्वस्थकर खानेकुराहरू राख्ने गरेका छन्।
तर यो समस्याको प्रभावकारी समाधान भनेको सरकारी हस्तक्षेप नै भएको उनको भनाइ रहेको छ। बेलायतमा कार्यान्वयन भए जस्तै खानामा प्रयोग हुने नुनको मात्रा निर्धारण गर्न सकिन्छ।
आहारविद् रैमर्स मानिसहरूले प्राकृतिक रूपमा नै नुनिलो खानाको अत्यधिक इच्छा राख्दैनन् त्यसैले स्वाद छनौटको सिर्जनाले आफू समक्ष के उपलब्ध छ भन्नेसँग प्रत्यक्ष सम्बन्ध राख्दछ।
यसको अर्थ आफ्नो वरपरको वातावरण र आफूले खानाबाट प्राप्त गर्दै आएको स्वाद अनुरूप नै स्वाद प्रतिको चाह विकास हुन्छ।
त्यसैले रैमर्स भन्छिन् अभिभावकले सुरु देखि नै आफ्ना बालबालिकाको खानामा नुनको मात्रलाई सीमित राख्नु पर्दछ र उनीहरूलाई त्यही अनुरूपको स्वादसँग अभ्यस्त पार्नु पर्दछ।

पोषण विद् फरान्ड पनि बजारमा आधारित समाधानको आवश्यकतामा जोड दिन्छिन्। जस अनुरूप खाद्य उद्योगले आधिकारिक निकायसँग मिलेर काम गर्नु पर्दछ।
सङ्घीय विपक्षी पार्टीले बालबालिकाका लागि स्वस्थ खाना नीति सार्वजनिक गरेपछि उक्त प्रतिवेदन बाहिर आएको छ।
लेबर पार्टीले यदि आगामी निर्वाचन जितेको खण्डमा स्टेफनी एलेक्जेन्डर किचेन गार्डेन कार्यक्रमलाई गर्ने लगानी कोषलाई पुनर्स्थापना गर्ने जनाएको छ। उक्त कार्यक्रमलाई पछिल्लो पटक लेबर सत्तामा हुँदा लगानी गरेको थियो।
उक्त कार्यक्रम अन्तर्गत विद्यालयका बालबालिकालाई कसरी फलफुल, तरकारी तथा जडीबुटी फलाउने र त्यसलाई कसरी स्वास्थ्यवर्द्धक खानामा प्रयोग गर्ने भन्ने बारे सिकाइने गर्दछ।
रैमर्स त्यस्तो कदम बालबालिकालाई स्वस्थ खाना र खानाको आपूर्ति बारे बुझाउन सहयोगी हुने बिचार व्यक्त गर्दछिन् र अस्वस्थ खानासँगको लडाइ अब विश्वव्यापी भएको बताउँछिन्।




