गायिक बर्तिका राई अमेरिकामा बस्छिन् र आफैंले लेखेका र संगीत भरेका गीतहरु मात्रै गाउँछिन्। पेशाले अकाउण्टेण्ट राईले स्नातक तह पढ्दापढ्दै सन् २०१६ मा युट्युबमा रिलिज गरेरको एल्बम बिम्बाकाशले नेपाली सामाजिक सञ्जालमा हलचल मचाएको थियो।
विदेशमा बस्दा अनुभव हुने विस्थापन, घरको सम्झना र निकट सम्बन्धहरुका बारेमा गाएका ती गीतहरु युवा पुस्तामा निकै लोकप्रिय छन्।
त्यसपछि राईले अरु दुइवटा एल्बम रिलिज गरेकी छिन्, थुप्रै अवार्डहरु जितिन् र तेस्रो एल्बमको टुरमा केही समयका लागि नेपाल आएकी छिन्।
उनीसँग सेवा भट्टराईले शृजना, प्रेरणा, एक्लोपना, र भावनाका बारेमा कुराकानी गरेकी छिन्।
गायिका बर्तिका राईसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्। Image
तपाईंको नयाँ एल्बमको बारेमा बताइदिनुस् न। यसमा कस्ता गीत छन् र के बाट प्रेरित छन्?
मेरो एल्बमको नाम हो सीमाना। एल्बममा बाहिर बस्ने, प्रवासी नेपाली मात्रै नभएर सबै देशका मानिस, र त्यति मात्रै होइन, काठमाण्डुमा पनि बाहिरबाट आउनुभएको मानिसहरुको बारेमा हो।
यो उनीहरुको लागि चाहिँ होइन, मेरै लागि हो खासमा। कोपिङ मेकानिजम। डकुमेण्टेशन, कानुन, सिस्टम, र सिस्टमले कसरी हामीलाइ प्रभावित गर्छ, त्यस्तो खालको।
यो एल्बम तपाईंको पहिलो दुइवटा एल्बमको विषय भन्दा अलिकति फरक जस्तो छ, जसमा तपाईंले धेरै व्यक्तिगत भावनाहरुको बारेमा लेख्नु र गाउनु भएको थियो।
यो झनै व्यक्तिगत छ। जस्तो मैले एक्लिनुको बारेमा लेख्थें, विस्थापनको बारेमा लेख्थें। अहिले पनि त्यही हो, तर नियम कानुनले गर्दा बनेको एकलोपना र विस्थापन छ यसमा।
हो पहिला भन्दा अलिकति राजनीतिक छ। मलाई त्यस्तो हुनु मन त थिएन। तर परिस्थितिले त्यसरी प्रभावित गर्दो रहेछ।
परिवर्तन चाहिँ के मा छ भने यी गीतहरु मैले पहिलेदेखि लेखेर राखेको चाहिँ होइन। एक महिनामै लेखेर रेकर्ड र रिलिज गरेको हो।
तपाईंले अमेरिका गएपछि बल्ल गीतहरु लेखेर रिलिज गर्नुभयो। बाहिर हुँदा झन् धेरै घरको, कलासंगीतको माया लाग्ने, सम्झना आउने सामान्य हो?
कलासंगीत त थाहा छैन, तर बाहिर हुँदा घरको मूल्य चाहिँ थाहा हुन्छ जस्तो मलाई लाग्यो। किनभने के के न सोचेर मान्छेहरु विदेश जान्छन्, तर त्यहाँ गएपछि चाहिँ साँचो कुराहरु देखेपछि चाहँ ए! जस्तो हुन्छ।
अर्को कुरा चाहिँ मान्छे एकदमै एक्लिएर, न्यास्रिएर पनि आफूसँग नभएको कुराहरुको चाहना गर्न थाल्छ।

तपाईंले घरको बारेमा धेरै गीतहरु लेख्नुहुन्छ। तर तपाईं अमेरिका गएर बस्नुभएको पनि धेरै भयो। घर चाहिँ के हो तपाईंको लागि?
म सानो हुँदा पनि मलाई म कुनै ठाउँको होइन जस्तो लाग्थ्यो। त्यस्तो चाहिँ मलाई अहिले पनि हुन्छ। काठमाण्डुको सडकहरु हेर्दा, म बस्ने ठाउँको सडकहरु हेर्दा मलाई घर जस्तो लाग्छ।
मेरो बुवा जन्मेर हुर्केको धनकुटाको छिन्ताङ पनि मलाई घर जस्तो लाग्छ। हुन त म त्यहाँ ४-५ चोटि मात्रै पुगेकी छु। मेरो आमा जन्मेर हुर्केको धनकुटाको गाइघाट पनि मलाई घर जस्तो लाग्छ, र त्यहाँ पनि ४-५ चोटि मात्रै पुगेकी छु।
तर फेरी कहिलेकाहिँ आजभोली – मेरो नयाँ एल्बमका केही गीत यसको बारेमा पनि छन् – कहिलकाहिँ मैले मेरो आफ्नो घरलाई धोका दिए जस्तो लाग्छ किनकी मलाई न्यु योर्क चाहिँ घर जस्तो लाग्न थाल्छ।
किनकी म त्यहाँ केही समयदेखि बसिरहेकी छु र त्यो ठाउँ खुला छ र हाम्रो समाजमा जस्तो मानिसले मलाई 'जज' गर्दैनन्। समाजमा त्यसरी एक्लिए पछि मान्छेले आफुलाई नयाँ तरिकाले परिभाषित गर्न सक्छ, नयाँ व्यक्तित्व शृजना गर्न सक्छ।
मलाई थाहा छैन, घर के हो। अहिलेसम्म चाहिँ मलाई, मेरो आमाजी जहाँ हुनुहुन्छ, त्यहिँ नै मेरो घर हो जस्तो लागिरहेको छ। तर थाहा छैन, मलाई यसको उत्तर थाहा छैन।
नेपालमै भएको भए तपाईंको सांगीतिक यात्रा यस्तै हुन्थ्यो कि फरक हुन्थ्यो होला?
यस्तो हुँदैनथ्यो।
मेरो परिवारले मलाई धेरै सपोर्ट गर्नुहुन्छ। तर पनि, म केटी हो र मेरो बन्देजहरु आम केटाहरुको बन्देजहरु भन्दा बढी हुन जान्छ। त्यसैले मेरो यति स्वतन्त्रता हुँदैनथ्यो।
अनि ममाथि पर्ने प्रभावहरु पनि फरक हुन्थ्यो। किनभने मैले देखेको कुराहरु, सिकेको कुराहरु लेख्छु अनि मैले देख्ने र सिक्ने कुराहरु अलग्गै हुन्थ्यो जस्तो मलाई लाग्छ।

तपाईंले आफ्नो लागि मात्रै लेख्छु र आफ्नो नजीकको मानिसले सुनुन् भनेर मात्रै गीतहरु रिलिज गरेको कुरा पहिले पनि गर्नुभएको छ। तर तपाईंको गीतहरु एकदम लोकप्रिय भए, र अहिले आएर अवार्डहरु पनि जितिरहेका छन्। यसले आफ्नो श्रृजनालाई अर्कै दिशातिर लगिरहेको छ जस्तो भएको छ कि छैन?
दोस्रो एल्बममा चाहिँ मैले आफूले आफैंलाई थोरै सेन्सर गर्न लागेको थिएँ। र त्यतिबेला म एकदम आफैंदेखि छक्क परेको थिएँ।
मैले किन यस्तो गरिरहेको छु? भनेर। एउटा गीत गर्दा चाहिँ – मेरो किशोर श्रोताहरु पनि हुनुहुन्छ।
त्यसैले मेरो मनमा – ला मेरो त किशोर श्रोताहरु पनि हुनुहुन्छ भन्ने कुरा आयो। अनि मैले फेरी आफैंलाई सोधें – मैले किन यस्तो सोचिरहेको छु?
त्यस्तो चाहिँ भएको थियो। अरु त खासै केही छैन।
अवार्डले हामीलाई कुनै कुनै कुरामा मद्दत गरेपनि दैनिक जीवनमा खासै परिवर्तन ल्याउँदैन। यसले गर्दा मैले केही गर्नै सक्दिन। न त घर बनाउँछु, न त केही गर्छु।
मानिसहरुको अपेक्षा हुन्छ नि, यस्तो खालको गीत लेख्नुपर्छ, भन्ने। त्यस्तो भएको छ कि छैन?
त्यस्तो अपेक्षाहरु मैले पुरा गरेको छैन। बर्तिकाले नाच्ने गीत लेखोस्, अप-बीट गीत लेखोस् भन्ने अपेक्षा हुन्छ। त्यो गीत म लेख्नै सक्दिन अहिले, मैले लेखेकै छैन।
तर मेरो गीत राम्ररी सुन्नु भएको छ भने वहाँहरुले यस्तो झुटो अपेक्षा पनि राख्नुहुन्न।
तपाईं पेशाले अकाउण्टेण्ट हुनुहुन्छ। तर पनि गीतसंगीतलाई यति धेरै समय दिनुहुन्छ। धेरै मानिसहरु व्यवसायिक जीवनमा फँसेर श्रृजनात्मक काम गर्न पाइएन भनेर गुनासो गर्छन्। तपाईंले कसरी भ्याउनुहुन्छ?
म अहिले सिंगल छु, एक्लै बस्छु। मेरो परिवार छैन, त्यसैले घरमा जिम्मेवारी धेरै छैन। अनि म सोसलाइज पनि गर्दिन।
मैले धेरै खालको कामहरु गर्ने हुनाले मलाई धेरै ठाउँहरुबाट प्रेरणाहरु आएको हुन्छ।
खासमा मेरो तीनवटा जीवन छ भन्दा पनि हुन्, किनभने म यहाँ आउँदा बर्तिका एम राई हुनुपर्छ तर त्यो समाजमा म केही पनि होइन। अनि म सँग सोच्ने, सम्झिने धेरै समय हुन्छ। त्यसैले मैले संगीतमा काम गर्न सक्छु।
श्रृजनात्मक हुन चाहने मानिसहरुका लागि के सल्लाह दिनुहुन्छ?
आफ्नो कुरामा एकदमै फोकस गर्नुपर्छ। बाहिर हल्ला धेरै छ, अनि आफुभित्रको कुरा सुन्नको लागि बाहिरको कुरा रोक्नु पर्छ। त्यो कसरी गर्नुहुन्छ थाहा छैन, हेडफोन लाएर हुन्छ वा जसरी हुन्छ।
अहिले हाम्रो मञ्चहरु धेरै छन्, लाइक र नम्बर अफ भ्युजमा धेरै कुरा अडेको छ। तर यो कुराले कोही पनि प्रभावित हुनु हुँदैन जस्तो लाग्छ। यो कुराहरु क्षणिक हुन् र योबाट निराश हुन मिल्दैन। निराश नभइ गरिराख्ने।
तपाईंलाई चाहिँ यो कुराले कत्तिको प्रभाव पार्छ?
प्रभाव पार्दै नपार्ने त होइन तर धेरै व्यवसायिक चाहिँ हुन मन लाग्दैन। तर मलाई के कुराले खुशी लाग्छ भन्दा – टुर गर्दा मानिसहरुसँग सीधा सम्पर्क हुन्छ।
कति मानिस आउँछन्, कोही रोइरहेका हुन्छन्, मेरो लुगाभरी आँसु आँसु बनाइदिन्छन्। त्यो सीधा सम्पर्क साँचो हो, र त्यसले मेरो मन छुन्छ।
तर फुल टाइम संगीतमा चाहिँ लाग्न चाहनुहुन्न?
त्यो चाहिँ मलाई अहिलेसम्म पनि हाम्रो नेपालमा गर्नु हुन्छ जस्तो लाग्दैन। मलाई आर्थिक समस्यादेखि एकदमै डर लाग्छ। म फूल टाइम लागि पर्ने गरी संगीत क्षेत्रलाई विश्वासै गर्न सक्दिन।




