करिव तीन वर्षको अन्तरालमा नेपाली रंगमञ्चमा फर्किएका अभिनेता बिपिन कार्कीद्धारा अभिनित ‘हरियो ढुंगा’ नामक नाटक राजधानीमा मञ्चन भइरहेको छ । आरोहण गुरुकुलबाट नेपाली रंगमञ्चको यात्रा सुरु गरेका अभिनेता कार्की, 'पशुपति प्रसाद’ नामक नेपाली फिल्मका 'भष्मे डन’को रुपमा परिचित छन् । उनले 'छड्के’, 'सुन्तली’ र 'जात्रा’ लगायत फिल्ममा अभिनय गरिसकेका छन् । उनको अभिनय यात्राबारे एसबिएस नेपालीसँग गरेको कुराकानी :
१. अहिले केमा व्यस्त हुनुहुन्छ ? लामो समयपछि 'हरियो ढुंगा’मा अभिनय गरिरहनु भएको छ । सुनिल पोखरेलको नाटक भएर अभिनय गनुभएको हो कि ?
निर्देशक सुनिल पोखरेलले निर्देशन गरिरहेको नाटक 'हरियो ढुंगा’मा अभियन गरिरहेको छु । फिल्मको प्रि–प्रोडक्सन चलिरहेको हुँदा नाटकमा अभिनय गर्ने मौका मिलेको हो । करिव तीन वर्ष नाटकमा काम गर्न पाएको थिइन् ।
निर्देशक पोखरेलले नियमित रुपमा नाटक गरिरहनु हुन्न् । उहाँले संञ्चालन गर्नुभएको 'ज्ञ, डिस्कभर योरसेल्फ’ नामक समूहका प्रशिक्षार्थीहरुसँग सहकार्य गरेर काम गरिरहेको छु ।
२. हाल मञ्चन भइरहेको नाटक 'हरियो ढुंगा’ को सार के हो ? यस नाटकमा तपाईले निर्वाह गरेको भूमिका कस्तो खालको हो ? गुरु चेला कतिपछि एकसाथ रंगमञ्चमा काम गरिरहनु भएको हो ? सुनिल पोखरेलको नाटकमा अभिनय गर्दाका राम्रा र नराम्रा पक्षहरु के के हुन् ?
भुटानी शरनार्थीको वियोगान्त कथामा आधारित 'हरियो ढुंगा’मा निचुले कान्छाको भूमिका निर्वाह गरेको छु । नाटकमा भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीले भोग्नु परेको पीडालाई देखाउने प्रयास गरिएको छ ।
तीन वर्षअघि निर्देशक सुनिल पोखरेलसँग ‘रसोमन’ नाटकमा काम गरेको थिए। हामी दुवैले एकले अर्कालाई बुझेका छौं । उहाँको राम्रो पक्ष भनेको काम गर्दा स्वतन्त्र छाड्नु हुन्छ । अन्तिम समयमा भने रातभर रिहर्सल गराएर हैरान बनाउनु हुन्छ ।
३. पढ्नको लागि राजधानी आउनु भएको तपाईले नेपाली रंगमञ्चको यात्रा कहिले र कसरी सुरु गर्नुभएको थियो । पहिलो पटक अभिनय गर्नुभएको नाटक कुन र कहिले खेल्नु भएको थियो ? हालसम्म कति वटा नाटकमा काम गरिसक्नुभएको छ । तपाईले अभिनय गरेको नाटकमध्ये आफैंलाईचाँहि मनपरेको नाटक कुन हो ?
आरोहण गुरुकुल २०५९ सालबाट संञ्चालनमा आउँदा दर्शकको रुपमा नाटक हेर्न पुगेको थिए । बिस्तारै स्वयसेवकको रुपमा गुरुकुलमा आवद्ध भए । गुरुकुलबाट नाटकको डिप्लोमा कोर्स सिध्याए । त्यसलगत्तै निर्वाचन आयोगको कचहरी सडक नाटकबाट नेपाली रंगमञ्चमा अभिनय गर्न सुरु गरेको थिए । हालसम्म २५ वटामा अभिनय गरिसके होला ।
निर्देशक सुनिल पोखरेलले निर्देशक गरेको 'रसोमन’ नाटक र त्यसमा मैले निर्वाह गरेको 'घाटे’ पात्र सबैभन्दा मनपर्छ ।
४. नाटकमा सक्रिय भएर लाग्नुभएको तपाईले एक्कासी नेपाली फिल्ममा अभियन गर्ने निर्णय कसरी लिनुभएको थियो ?
मैले नेपाली रंगमञ्चको यात्रा सुरु गर्दा फिल्महरु हलमा रिलिज भएपनि नचल्ने स्थिति थियो । 'कागबेनी’ जस्ता फिल्म निर्माण हुन थालेपछि रुचि बढेको थियो । एक्कासी गुरुकुल बन्द भएपछि नेपाली फिल्ममा अभिनय गर्न बाध्य भएको थिए ।
५. तपाईले राम्रा फिल्महरुमामात्र अभिनय गर्नुभयो जस्तो लाग्छ ? फिल्मजस्तो भएपनि तपाईले अभिनय गरेको पात्रले भने चर्चा पाइरहेको हुन्छ । दर्शकले तपाईले अभिनय गरेको पात्रलाई मन पराउनुको कारण के होलाजस्तो लाग्छ ?
मैले अभिनय गरेका फिल्महरु सबै राम्रो छैनन् । आफैले मूल्याङ्कन गर्दा ठिकैको अभिनय गरेछु जस्तो महशुस हुन्छ । दर्शकले कलाकारको अभिनय मनपराइदिनुनै गौरवको कुरा हो ।
साँच्चिकै भन्ने हो भने, अहिलेसम्म नेपाली फिल्महरुमा मैले निर्वाह गरेको अभिनयबाट म आफै सन्तुष्ट हुनसकेको छैन् ।
६. नेपाली फिल्मका सबैभन्दा कमजोर पक्ष के हो जस्तो लाग्छ ?
नेपाली फिल्म हल्लाकै भरमा चल्छन् छ । नयाँ विषय खोज्नुको सट्टामा कसैले गरिसकेको कामलाई निरन्तरता दिनमा केन्द्रित छन् । फिल्म क्षेत्रमा एउटैले गरेको कामलाई पछ्याउने शैली त्यागेर नयाँ कथा खोज्ने प्रयास गर्न नचाहने जमात धेरै छन् ।
७. नेपाली रंगमञ्चबाट आएका कलाकारहरु फिल्ममा राम्रै अभिनय गरेर सफलता पाइरहेका छन् । यो केवल संयोग हो कि अभिनयपनि जानुपर्छ ?
फिल्म भनेको अभिनयको माध्यम हो । त्यसैले अभिनय सिक्नु जरुरी छ । अभियन भन्ने कुरा एकैपटकमा सिक्न सकिने विषय होइन् । अभिनयलाई निरन्तरता दिने हो भने प्रगति गर्न सकिन्छ ।
८. रंगमञ्च र फिल्ममा तपाईको ड्रिम रोलचाँहि कस्तो हो ?
म नयाँ पात्र र विषय मनपराउने खालको व्यक्ति हुं । ड्रिम रोल भन्ना साथ यस्तै भन्ने छैन् । नयाँ पात्र र विषयमा काम गर्न उत्साहित हुन्छु ।
९. नेपाली रंगमञ्च र फिल्ममा अभिनय गरेर खासै कमाइ हुन्न भन्छन् । तपाई राम्रै पारिश्रमिक लिन कलाकारको सूचीमा पर्नुहुन्छ । साँच्चिकै पैसा राम्रै दिन्छन् कि गफमात्र हुन् ?
पारिश्रमिकको मामलामा मैलेचाँहि गफ दिन जानेको छैन् ।'‘लुट’ फिल्ममा ५ हजार पाएको थिए । 'आचार्य’ फिल्ममा त साँच्चिकै भन्नुपर्दा मैले पैसा पाइन् । सुटिङको तयारी गरिरहेको 'फनफनी’ फिल्ममा १५ भन्दा बढी पारिश्रमिक लिएको छु ।
१०. आगामी योजनाहरु केही बनाउनुभएको छ ?
आगामी वर्षको पुससम्ममा होम प्रोडक्सन संञ्चालन गरेर फिल्म निर्माणमा जुट्ने तयारी गरिरहेको छु ।





