अस्ट्रेलियन क्यापिटल टेरिटरी व्यक्तिगत प्रयोजनका लागी गाँजाको प्रयोगलाई गैर कानुनी क्रियाकलाप नमान्ने अस्ट्रेलियाको पहिलो राज्य तथा टेरिटरी बनेको छ।
उक्त कानुन गत वर्ष नै पारित भएको भए ता पनि यसले धेरै विवाद निम्त्याएको थियो।
सङ्घीय सरकारले सर्वसाधारणलाई यसरी गाँजा प्रयोग गरेको पाइएमा सङ्घीय स्तरमा चाहिँ आपराधिक क्रियाकलाप अनुसार नै कारबाही हुने चेतावनी दिएको थियो।
तर कतिपयले भने लागू औषध प्रयोगलाई लिएर समाज देखिने गरेको हिचकिचाहट अन्त्य गर्न यसले मदत पुर्याउने तर्क राख्छन्।

आफ्नो काम सकिए पछि कामको तनावबाट आफूलाई ताजा बनाउन दिवस (नाम परिवर्तन) ले अपनाउने विधि अहिले सम्म गैर कानुनी थियो।
क्यानबेरामा सूचना प्रविधि (आइटी) को क्षेत्रमा सरकारी कार्यालयमा काम गर्ने उनी आफ्नो परिचय खुलाउन चाहँदैनन्।
सिर्जनात्मक प्रयोजनका लागी गाँजा प्रयोग गर्ने गरेका उनलाई आफ्नो काममा यसले असर पार्न सक्ने चिन्ता छ।
"कोही मान्छे कामबाट घर गए पछि एक गिलास वाइन खान्छ- एक बोतल त खाँदैनन्। मेरो लागी केही पफ मात्र भेपोराइजरमा हालेर खाँदा दिनभरको कामको तनाव र थकानबाट ताजगी मिल्छ।"
उनी एसीटी गाँजाको व्यक्तिगत प्रयोगलाई गैर कानुनी नमान्ने अस्ट्रेलियामा नै पहिलो भएकोमा स्वागत गर्छन्।
वर्षौँ मानसिक रूपमा विक्षिप्त रहेका र डिप्रेसन र एंगजाइटीबाट गुज्रिएका उनलाई गाँजा प्रयोगले सन्तुलन ल्याउन धेरै सहयोग गरेको बताउँछन्।

"मेरो व्यक्तित्वमा निकै परिवर्तन भएको छ :म निकै खुलेर बोल्ने भएको छु, धेरै बाहिर जान्छु, कम आत्तिने गर्दछु, कम तनावमा हुन्छु, कम भावुक र कम रिसाउने गर्दछु।"
र यो परिवर्तनलाई आफ्ना साथी र विशेष गरी आफ्नो श्रीमतीले बढी याद गरेको दिवस बताउँछन्।
अब राजधानी क्षेत्रमा ५० ग्राम सुक्खा गाँजा वा १५० ग्राम 'वेट क्यानबिज' वा भर्खरै उत्पादन गरिएको गाँजा बोक्दा गैर कानुनी मानिने छैन।

एक वयस्क व्यक्तिले अब दुई वटा गाँजाका बिरुवा उब्जाउन पाउने छ भने एक घरमा ४ वटा सम्म गाँजाको बिरुवा भए कुनै समस्यामा परिदैन।
तर प्रयोग कर्ताले उक्त बिरुवाहरू अन्य सर्वसाधारण वा बालबालिकाले भेट्टाउने ठाउँमा नभएको सुनिश्चित गर्नु पर्ने हुन्छ।
एसीटीका प्रमुख मन्त्री एन्ड्रु बार् ले यसले समुदायको मूल्य मान्यतामा आएको परिवर्तनलाई प्रस्ट्याउने बताएका छन्।
उनले यो अभ्यासले गर्दा कानुनलाई सङ्गठित अपराध र ठुलो परिणाममा हुने गरेको लागू औषध तस्करीका सम्बन्धमा ध्यान दिनु पर्ने समुदायको विचारको प्रतिनिधित्व गर्दछ।

र सानो परिणाममा सिर्जनात्मक प्रयोजनका लागी उपभोग गर्ने प्रयोगकर्ताहरूलाई अपराधीकरण गर्न नचाहेको प्रस्ट हुने पनि बार् को भनाइ छ।
तर सङ्घीय सरकारले भने कमनवेल्थ कानुनका अनुसार गाँजा प्रयोग वा आफू सँग राख्नु आपराधिक क्रियाकलाप नै हुने भन्दै सचेत गराई रहेको छ।
त्यसैले यो परिवर्तन पश्चात् पनि एसीटीका गाँजा प्रयोग कर्ताहरूलाई कारबाही हुन सक्छ।
प्रधान मन्त्री स्कट मोरिसनले राज्यहरूले आफ्नो प्राथमिकता अनुसार निर्णय गर्ने र सङ्घीय कानुनी निकायले पनि आफ्नो परिधिमा रहेर काम गर्नु पर्ने बताएका छन्।

यस कानुनका समर्थक रहेका लेबर सदस्य माइकल पेटरसनले सङ्घीय सरकारले डरको खेती गराइराखेको बताएका छन्।
उनले कमनवेल्थले गाँजालाई गैर कानुनी मान्छ तर त्यसको उन्मुक्तिका लागी पनि कानुनी प्रावधान रहेकोमा जोड दिएका छन्।
"उक्त कानुन उल्लघनको प्रतिवादमा कमनवेल्थ सरकारले भनेको छ कि गाँजा राख्नुलाई राज्य वा टेरिटरीको कानुनले माफी वा मान्यता दिन्छ भने त्यो पूर्णतया सुरक्षित हुनेछ।"
राष्ट्रिय औषध अनुसन्धान प्रतिष्ठानका औषधि सम्बन्धी विज्ञ डा. निकोल ली भन्छिन् यसको नकारात्मक पक्ष भन्दा फाइदा बढी छ।
दिवस पनि यसले गर्दा मानिसहरूको व्यवहारमा परिवर्तन हुने विश्वास राख्दछन्।
तर उनलाई यो पनि थाहा छ कि गाँजाको नियमित प्रयोगले दीर्घकालीन असर पुर्याउँछ त्यसैले उनी यसलाई स्थायी समाधानका रूपमा भने हेर्दैनन्।





