मुख्य बुँदा
- हिटर र चुरोट जस्ता बस्तु अस्ट्रेलियामा घरभित्र हुने आगजनीका मुख्य कारण हुन्।
- आगो टिप्न सक्ने सम्भावित सामाग्री सुरक्षित स्थानमा राखेर पनि दुर्घटनालाई टार्न सकिन्छ।
- बालबालिकालाई आगोको जोखिम, रोकथाम र आकस्मिक अवस्थामा के गर्ने भन्ने बारेमा सिकाउनु पर्दछ।
अस्ट्रेलियामा घर भित्र हुने आगलागीले बर्सेनि ठुलो क्षति पुर्याउने गरेको छ।
यसको परिणाम भयानक र ज्यानै जाने खालका हुन्छन्।
आगलागीको जोखिम र यसको रोकथामका बारेमा जानकारी राख्दा आगोको झिल्काबाट पैदा हुने जीवन र मरणको अवस्थालाई बेलैमा बुझेर आवश्यक कदम चाल्न सकिन्छ।
सन् २०१९ मा अस्ट्रेलियाको नेचुरल हेर्जड रिसर्च र फायर रेस्क्यु अस्ट्रेलियाले गरेको अनुसन्धानका अनुसार बाढी, आँधी वा डँडेलोले भन्दा घरमा हुने आगलागीका घटनामा धेरै मानिसले ज्यान गुमाएका छन्।
नेचुरल हेर्जड रिसर्च सेन्टर नामक जोखिमका बारेमा अनुसन्धान गर्ने संस्थाका प्रमुख एन्ड्रु गिसिङ्गका अनुसार सन् २००३ देखि २०१७ सम्म रोकथाम हुन सक्ने घरेलु आगजनीका घटनामा ९०० मानिसले ज्यान गुमाएका छन्।

“अनुसन्धानले पत्ता लगाएको एक मुख्य कुरा भनेको के हो भने आगलागीमा कुनै एक कारण मात्र हाबी हुँदैन,” गिसिङ्गले भने।
“हामीले दुखद तर रोक्न सकिने घरेलु आगलागीका घटनालाई हेर्यौ भने त्यहाँ थुप्रै यस्ता व्यक्तिगत व्यवहार र वासस्थानको वातावरण दोहोरिएको देख्यौ।”
तर उनका अनुसार रोकथाम हुन सक्ने आगलागी भने चुरोट, इलेक्ट्रिक सामाग्रीमा खराबी, हिटर र खुला रूपमा रहेका आगोका कारण भएको छ।
घरमा आगलागी नहोस् भनेर अपनाइने सामान्य सचेतना भनेको चाहिँ, उचित र काम गरिरहेको स्मोक अलार्म, आगलागी भएको खण्डमा अपनाइने योजना र खाना पकाउँदा ध्यान केन्द्रित गर्नु नै हो।
तर यसको रोकथामको सुरुवात भने ताप सिर्जना गर्ने वस्तुहरूको जोखिमका बारेमा राम्ररी जानकार हुनु नै भएको क्वीन्सल्याण्डको फायर एन्ड इमरजेन्सी सेवाका आगलागी सुरक्षा सम्बन्धी प्रबन्धक मार्क हाल्वेरसन् बताउँछन्।
“आगलागी हुनका लागि ताप पैदा गर्ने वस्तु हुनपर्दछ, सँगै जलनसिल पर्दाथले यसलाई टिप्नु पर्दछ,” उनले भने।
“ताप पैदा गर्ने बस्तु चाहिँ, खाना पकाउने भाँडा, तताउने बस्तुहरू, राम्ररी चार्जमा नराखिएका ब्याट्रीहरू जस्ता जे पनि हुन सक्दछन्।”

आगलागीबाट बच्न
अनुसन्धानहरूले जाडो महिनामा अस्ट्रेलियाली घरहरूमा आगजनीका घटनाहरू बढ्ने देखाउँछ।
र यसको कारण चाहिँ ताप पैदा गर्ने वस्तुहरूको सुरक्षित प्रयोग नगर्नु हो।
“खुला आगो र हिटरका कारण जाडो महिनामा आगलागीका घटना बढ्ने गरेको देखिएको छ,” नेचुरल हेजार्ड सेन्टरका प्रमुख गिसिङ्ग बताउँछन्।

आग्नी नियन्त्रण सम्बन्धी अधिकारीहरू ताप सिर्जना गर्ने प्रविधिको प्रयोग गर्दा उत्पादकले दिएको निर्देशनलाई ध्यानमा राखेर मात्र यस्ता वस्तुहरू उपभोग गर्न अनुरोध गर्छन्।
जस्तो कि घर बाहिर प्रयोग गर्नका लागि बनाइएका ताप सिर्जना गर्ने एलपिजि वा हिटबेडहरु प्रयोग हुने सामाग्री घरभित्र प्रयोग नगर्ने।
यसबाहेक घर बाहिर प्रयोग गर्न बनाइएका यस्ता सामाग्रीले कार्बन मोनोअक्साइड ग्यास पैदा गर्ने सम्भावना रहने भएकाले, घरभित्र यसको जोखिम हुनसक्छ।
पछिल्लो समय भने अस्ट्रेलियामा लिथियम आयन ब्याट्री प्रयोग हुने इ-स्कुटर जस्ता सामाग्रीहरूका कारण पनि घरेलु आगजनीलाई बढावा दिइरहेको छ।
“इ-स्कुटरका ब्याट्रीमा अत्यधिक शक्ति हुने भएकाले, यदि आगलागी भएको खण्डमा यो निकै तेज रूपमा फैलन्छ,” हाल्भेरसन व्याख्या गर्छन्।
राज्यको आगलागी सम्बन्धी संस्थाको तथ्याङ्कका अनुसार पछिल्लो १८ महिनामा लिथियम आयन ब्याट्रीसँग जोडिएर ४५० वटा आगलागीका घटना भई सकेका छन्।
“पहीलाे समस्या भनेको चाहिँ मानिसहरूले आफ्नो ब्याट्री चार्ज गर्न गलत डिभाइसको प्रयोग गर्नु हो,” हाल्भेर्सनले त्यसो नगर्न चेतावनी दिए।
कुनै ब्याट्री कुनै एक चार्जरमा फिट हुँदैमा, त्यो चार्जर ठिक हो भन्ने हुँदैनमार्क हाल्भेरसन्।

दहनशील र प्रज्वलनशील पर्दाथहरु प्राय मानिसका घरमा पाइन्छन्।
यस्ता समाग्रीहरु सुकेका काठ वा पात पतिङ्गर, पुराना कपडाहरू, आगो छिट्टै टिप्ने वस्तुहरू, यसै गरी केमिकल, रङ्ग, सफा गर्ने सामाग्रीहरू लगायतका हुन्।
यदि कसैले घरमा इन्धनको सञ्चय गर्छ भने पनि यस्ता इन्धनलाई छुट्टा छुट्टै भाँडामा, चर्को घाम वा आगोले नसमात्ने स्थानमा राख्नका लागि हाल्भेर्सन सुझाव दिन्छन्।
“सुरक्षित रहनका लागि फरक फरक वस्तुहरू उचित भाँडोमा भिन्न भिन्नै स्थानमा राख्नु पर्दछ।”
यस बाहेक घरमा रहेका स्मोक अलार्मले पनि सही रूपमा काम गरेको हुनुपर्छ।
यसले आगलागी हुनबाट रोक्ने नभई, उचित समयमा चेतावनी दिन र सानो रूपमा रहँदा निभाउने अवसर भने दिने हाल्भेर्सनको भनाई छ।
तर आगलागी भएको खण्डमा उचित सुरक्षा सामाग्री बिना आगो निभाउने प्रयास नगर्न हाल्भेर्सन चेतावनी दिन्छन्।
“यदि आफूसँग आगो निभाउने उचित सिप र उपकरणहरू छैनन् भने आफू र आफ्नो परिवारलाई उचित स्थानमा लगी, ट्रिपल जिरोमा फोन गरी सहयोग माग्नु पर्दछ।”

आगलागी नियन्त्रण र बालबालिका
आगलागी हुँदा ६५ वर्ष माथिका वृद्धा र पाँच वर्ष भन्दा मुनीका बालबालिका जोखिममा रहने वा घाइते हुने सम्भावना अधिक रहन्छ।
सिड्नी चिल्ड्रेन अस्पतालमा बालबालिकाको स्वास्थ्य प्रवर्द्धन विभागकी व्यवस्थापक साइमन सुलिभान बालबालिकाहरू सानो आगोमा पनि जोखिममा पर्ने सम्भावना हुने बताउँछिन्।
“बालबालिकाको छाला वयस्कको भन्दा पातलो हुन्छ, थोरै तापक्रममा पनि उनीहरूको छाला गहिरो गरी जल्न सक्छ,” उनले भने।
बालबालिकालाई आगोको जोखिमबाट बचाउनका लागि ट्रिपल जिरोमा फोन गर्न मात्र सिकाएर हुँदैन उनीहरूलाई अभ्यास पनि गराउनु पर्दछ।
“पहिलो कुरा घरमै आगलागीका लागि बच्ने योजना बनाउने र अभ्यास गर्ने हो,” सुलिभान भन्छिन्।
“यसलाई सामान्य र रमाइलो हुने खालको बनाउनु पर्छ।”
बालबालिकाले छिट्टै टिप्ने गरी वाक्यांशहरू बनाएर, सम्झन सक्ने बनाउनु पर्ने उनको भनाई छ।
जस्तो कि घरमा आगो लागेको खण्डमा चिसो भुइँमा अनुहार लुकाउने वा कपडामा आगो लागेको खण्डमा आफ्नो अनुहार छोपेर भुइँमा लड्ने लगायत।

सुलेभानका अनुसार आफ्ना बालबालिकासँग आगलागीबाट बच्ने बारेमा कुरा गर्दा, यसको डर हटाउन मद्दत गर्छ।
“उनीहरूलाई स्मोक अलार्मले के गर्छ, किन राखिन्छ, कहाँ हुन्छ, कस्तो देखिन्छ भन्ने बारेमा जानकारी गराउनु पर्दछ, आगलागी हुँदा यसले कस्तो आवाज निकाल्छ र ब्याट्री सकिँदा के हुन्छ भनेर पनि सिकाउनु पर्दछ,” सुलेमन भन्छिन्।
“यसले बालबालिकालाई आगलागी हुँदा, नडराउन र अब के गर्ने भन्ने बारेमा जानकारी दिन मद्दत गर्दछ।”
अभिभावक र बालबालिकाका लागि आगो सम्बन्धी सुरक्षा सामाग्री उपलब्ध छ।
फायर सेफ्टी ड्रिल्स फर चिल्ड्रेन
प्रिभेन्टीङ्ग बर्न्स इन दि किचेन
फर्स्ट एड फर चाइल्ड बर्न, यो नेपाली लगायत चिनिया, अरबीक, फार्सि, हिन्दी, केरेन, पन्जाबी, सामोअन र भियतनामी भाषामा पनि उपलब्ध




