शान्तिको प्रतिक मानिने चार वटा ढुकुरलाई आकाशमा उडाउँदै उनीहरूले आजको दिनलाई i4give डेको रूपमा तोकेका छन्। सम्पूर्ण अस्ट्रेलियालीहरूलाई घृणाको सट्टामा क्षमालाई चुन्न प्रोत्साहन गर्नका लागि उनीहरूले यो पहल सुरु गरेका हुन्।
त्यो दुखद घटनाबाट अघि बढ्ने यो एउटा मात्र बाटो भएको, आमा लेय्ला अब्दल्ला बताउँछिन्।

गत वर्षको फेब्रुवरी १ तारिखमा लेय्लाका तीन छोराछोरी र उनीहरूका आफन्त भेरोनिकको गाडीको ठक्करबाट मृत्यु भएको थियो। गर्मीको त्यो रातमा उनीहरू आइसक्रिम किन्न बाहिर निस्केका थिए।
वेस्टर्न सिड्नीको ओट्सल्यान्डसमा भएको उक्त दुर्घटनामा परिवारका थप तीन सदस्य पनि घाइते भएका थिए।
ती बच्चाहरूको मृत्युका लागि आफू दोषी भएको स्वीकारेका उक्त चालकलाई आमा अब्दल्लाले माफ गरेकी छिन्।
यसो गर्नाले उनलाई त्यो कहालीलाग्दो घटनालाई स्वीकार्न र आफ्ना अरू तीन जना बच्चाहरूलाई हेर्न मद्दत गर्ने उनी बताउँछिन्।

भेरोनिक आफ्नी आमा ब्रिजेट साकारकी एकलौटी छोरी थिइन्। यस दिनलाई i4give डे मानिँदा त्यो दुखद घटनाको केही अर्थ र महत्त्व हुन पुगेको ब्रिजेटको मान्यता छ।
यस परिवारले त्यो दुखद घटना पछि सुरु गरेको यो पहल, सबै अस्ट्रेलियालीहरूको लागि नै निकै उदाहरणीय रहेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
बुवा ड्यानी अब्दल्लाले एसबीएस रेडियोको अरेबिक कार्यक्रमसँग कुरा गर्दै क्षमा दिन निकै जरुरी रहेको, र यसले आफूलाई एक असल मानिस बन्न मद्दत गर्ने बताए।

कसैलाई माफ गर्नु, त्यस गलती गर्ने मानिसको लागि भन्दा पनि आफ्नो राम्रोको लागि रहेको उनको विश्वास छ।
i4give डे प्रत्यक वर्ष फेब्रुअरी महिनाको एक तारिखमा मनाइने छ र, यसको मुख्य उद्देश्य भनेको अस्ट्रेलियालीहरूलाई अरूलाई माफी गर्नुको महत्त्व सिकाउनु हो।
i4give डे को एक वेबसाइट पनि सुरु गरिएको छ, जसमा शोक र आघात सल्लाह परामर्श सेवाहरू अर्थात् grief and trauma counselling services हरूको जानकारी पनि दिइएको छ।




