मेलबर्नमा शेर्पा समुदाय द्वारा ग्याल्पो ल्होसार मनाइँदै

Melbourne's Sherpa Community celebrating Lhosar 2020

Melbourne's Sherpa Community celebrating Lhosar 2020 Source: Supplied

भिक्टोरियाको शेर्पा सामुदायिक संघले आउँदो शनिवार - २९ फेब्रुअरीका दिन मेलबर्नमा दोस्रो ग्याल्पो ल्होसारको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै छ।


शेर्पा एसोसिएसन अफ भिक्टोरियाले अघिल्लो वर्षको भन्दा धूमधाम तरिकाले सन् २०२०को ग्याल्पो ल्होसार मनाउने तयारी गरिरहेको बताएको छ।

नेपालमा सोमबार नै मनाइएको ग्याल्पो ल्होसार अस्ट्रेलियाको जीविका सुहाउँदो हिसाबले आगामी सप्ताहान्तमा मनाउन आयोजकको भनाई रहेको छ।

संघका महासचिव पेम्बा शेर्पाका अनुसार गएको वर्ष करिब दुई सय मानिसहरू सहभागी भएकोमा यसपालि यो सङ्ख्या दोब्बर हुने आकलन छ। “हामीले सहभागीहरूको सङ्ख्यालाई मध्यनजर गर्दै यसपालि भेन्यु पनि (थप मानिस अटाउने गरी) सारेका छौँ, उनले एसबीएस नेपालीसँग भने। 

नेपालमा तीन थरीका ल्होसार मनाइने जानकारी दिँदै शेर्पाले ग्याल्पो ल्होसार चन्द्र मास पात्रोको १२औँ महिना सकेर नयाँ वर्ष आरम्भको रूपमा मनाइने बताए। 

“ल्होसार भन्नु पर्दा विशेष गरी यो नेपालको हिमाली भेगमा बस्ने बौद्ध धर्मालावाम्बीहरूले मनाउने चाड हो। सोनाम ल्होसार (तामाङ), तमु ल्होसार(गुरुङ) र ग्याल्पो ल्होसार (शेर्पा) गरी यो तीन थरीको हुन्छ,” उनले भने। 

यी मध्ये तमु ल्होसार हरेक वर्ष विक्रम सम्बत पात्रो अनुसार पौष महिनाको १५ गते मनाइने गरिन्छ भने सोनाम एवं ग्याल्पो ल्होसार चाहिँ चन्द्र मास पात्रो अनुसार क्रमशः माघ शुल्क प्रतिपदा र फागुन शुक्ल प्रतिपदाको विशेष तिथिमा मनाइन्छ। 

Sherpa Community event in Melbourne organisers speaking to SBS Nepali
Sherpa Community event in Melbourne organisers speaking to SBS Nepali Source: Supplied

तीन दिनसम्म मनाइने ग्याल्पो ल्होसारको विशेषता बारे चर्चा गर्दै भिक्टोरियाली शेर्पा सङ्गठनका पेम्बा शेर्पाले पहिलो दिन गुथुक भनिने नौ प्रकारका गेडागुडी मिलाएर बनाइने क्वाँटी जस्तै एक परिकारको खाइने बताउँछन्।

“दोस्रो दिन औँसी पर्छ र यो दिन हामी घर वरिपरि सफासुघर गर्छौँ भने तेस्रो र अन्तिम दिनमा चाहिँ आफन्तजनसँग भेटघाट हुन्छ।” 

शेर्पाले गुथुकको बारेमा रमाइलो कुरा पनि सुनाए। 

गुथुक क्वाँटी जस्तै-जस्तै हुने भए पनि यसमा पिठोको डल्लो बनाएर मासु, काठ, कागज, कोइला, घ्यू, खुर्सानी जस्ता विभिन्न सामाग्रीहरू हाल्ने गरिन्छ। 

पिठो भित्र हुने भएकाले कसको भागमा के पर्छ भन्न सकिन्न - अब घ्यू पर्नेको चाहिँ मन पनि घ्यू जस्तै छ भनेर बुझिने उनले बताए। 

Melbourne's Sherpa Community celebrating Lhosar 2020 spoke to SBS Nepali
Melbourne's Sherpa Community celebrating Lhosar 2020 spoke to SBS Nepali Source: Supplied

स्थानीय मेयर, विभिन्न बहुसांस्कृतिक सामुदायिक संस्थाका पदाधिकारीहरू लगायतको उपस्थिति समेत हुने बताइएको उक्त कार्यक्रममा शेर्पा तथा अन्य नेपाली संस्कृति झल्काउने मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत हुने बताइएको छ।  

कार्यक्रम स्थल वरपर थुप्रै निःशुल्क पार्किङको व्यवस्था भएको र सार्वजनिक यातायातको पनि राम्रै पहुँच भएकाले उक्त कार्यक्रममा आउने पाहुनाहरूलाई सजिलै हुने आयोजकले उल्लेख गरेका छन्। 

शेर्पा समुदायको कला एवं संस्कृतिको जगेर्ना हेतु सन् २०१८ मा उक्त सामुदायिक संस्थाको स्थापना गरिएको पेम्बा शेर्पाको भनाइ छ। 

शेर्पासँग गरिएको कुराकानी सुन्न पेजको माथिल्लो भागमा रहेको मिडिया प्लेयर स्थित स्पिकर आइकन थिच्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now