कतारमा जारी विश्वकपको आठौँ दिनमा मोरक्कोले समूह एफमा पहिलो जित हासिल गरेको छ।
कतारमा जारी विश्वकपको खेलमा समूह 'इ' अन्तर्गत स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाँडेका छन्।
खेल १–१ गोलको बराबरीमा रोकिएपछि जर्मनीले प्रि-क्वाटर फाइनलको सम्भावनालाई जीवितै राखेको छ।
अतिरिक्त खेलाडीका रूपमा मैदान भित्रिएसँगै खेलको ६२ औ मिनेटमा एल्भारो मोराताले स्पेनबाट पहिलो गोल गरेका थिए।
यता जर्मनीका निक्लास फुलक्रुगले भने ८३ औ मिनेटमा गोल फर्काएर बराबरी बनाए।
स्पेनले खेलका क्रममा बलियो कब्जा गरेको देखिन्थ्यो।
यता बेल्जियमलाई २–० ले हराउँदै मोरक्कोले कतारमा जारी विश्वकपमा समूह एफ अन्तर्गत पहिलो जित निकाल्न सफल भएको छ।
२२ औ ऱ्यान्कमा रहेको मोरक्कोले दोस्रो ऱ्याकिङ्गमा रहेको बेल्जियमलाई हराउनु दर्शकहरूका लागि अप्रत्याशित नतिजा थियो।
एडबेल हमिद साबीरीले खेलको ७३ औ मिनेटमा फ्री किकलाई गोलमा परिणत गरेका थिए।
यसपछि भने जाकारीया एबुलालले गरेको गोलले मोरोक्कोलाई जित निश्चित गराएको थियो।
अर्जेन्टीनालाई साउदी अरेबियाले हराउनु र जर्मनीका विरुद्ध जापानले जित हासिल गर्नुसँग यसलाई तुलना गरिएको छ।
.jpg?imwidth=1280)
यता बेल्जियमका सडकमा मोरोक्कोको जित विरुद्ध पर्दशन भएपछि ठुलो मात्रामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था आएको थियो।
प्रदर्शनकर्ताले आगजनी समेत गरेका थिए।
यता क्यानडाले विश्वकपमा पहिलो गोल गरे तापनि साबिकको उपविजेता क्रोएसियासँग ४–१ गोल अन्तरले हारेको छ।
क्रोएसियाले समूह एफ अन्तर्गत रहेर पहिलो जित निकाल्न सफल भएको हो।
क्यानडाका तर्फबाट एल्फोन्सो डेभिसले गोल गरेका थिए।
तर बलियो गतिमा अगाडी बढेको क्रोएसियाका तर्फबाट ३६ मिनेटमा एन्द्रेज़ क्रामारिक र त्यसको आठ मिनेट पछि मार्को निभायाले गोल गरेका थिए।
क्यानडाले खेलमा राम्रै पर्दशन गरेको भए पनि केही मौका गुमाएको थियो।
यता कोस्टारिका र जापानका बिचमा भने १–० गोलको नतिजा निस्कियो।
कोस्टारिकाका तर्फबाट ८१ औ मिनेटमा केसर फुलरले गोल गरेका थिए।
मिनी म्याच, रिप्ले र हाईलाइट्स हेर्नका लागि एसबीएसको अनडिमान्डमा जानुहोस्।





