दक्षिण अष्ट्रेलियाको स्थानीय चुनावमा तीन नेपाली-भाषीको उम्मेद्वारी

Nepali speaking Bhutanese in South Australia

Source: Supplied

अष्ट्रेलियाको केन्द्र वा राज्य स्तरको राजनीतिमा अंग्रेजी बोल्नेहरुको बाहुल्यता छ । पछिल्ला बर्षहरुमा थोरै परिवर्तनहरु देखा पर्न थाले पनि यो स्थानीय स्तरमा सिमित छ । गैर-अंग्रेजी भाषीहरुको राजनीतिक सहभागिता क्रमश: बढेको छ ।


अष्ट्रेलियाको मूलधार राजनीतिमा नेपाली राजनीतिज्ञ भेट्न अझै लामो समय कुर्नु पर्ने निश्चित छ ।
 
यद्यपि अष्ट्रेलियामा नेपाली भाषीहरुको स्थानीय स्तरको राजनीतिक संलग्नता क्रमस: बढ्न थालेको छ । पछिल्लो उदाहरण दक्षिण अष्ट्रेलिया बनेको छ ।
 
दक्षिण अष्ट्रेलियामा यही अक्टोबर-नोभेम्बर महिनामा स्थानीय चुनाव हुदैछ । यहाँका ७५ वटा स्थानीय काउन्सीलमा मेयर र काउन्सीलरहरुको चुनाव हुन लागेको हो ।
हरेक चार वर्षमा हुने यो चुनावमा पहिलो पटक नेपाली भाषीहरुको उम्मेद्वारी परेको छ । यसपटक तीन जना नेपाली भाषी भुटानीहरु आफ्नो राजनीतिक भविष्य बनाउने दाउमा लागेका छन् ।

भुटानी र नेपालीहरुको बाक्लो उपस्थिति रहेको सल्सबरी काउन्सीलमा दुईजना नेपाली भाषीको उम्मेद्वारी परेको छ भने छिमेकी प्लेफर्ड काउन्सीलमा एक जनाको । सल्सबरीको उत्तरी वार्डमा कमल दाहालले उम्मेद्वारी दिएका छन् ।
 
दुईपटक दक्षिण अष्ट्रेलियाका भुटानीहरुको सामाजिक संस्था भुट्नीज अष्ट्रेलियन एसोसिएसन अफ साउथ अष्ट्रेलियाका अध्यक्ष बनेर काम गरिसकेका दाहाल अहिले लेबोर पार्टी रामसे निर्वाचन क्षेत्रका अध्यक्ष समेत हुन् ।

पेशाले उनी नर्स भए पनि उनले गत केही वर्षदेखी स्थानीय राजनीतिक नेतृत्वको नजिकमा रहेर काम गरेका छन र लेबोर पार्टीका समर्थकविच परिचित पनि छन् । उनको क्षेत्रमा २ पदका लागि दाहालसहित ४ जनाको उम्मेद्वारी परेको छ ।
 
सल्सबरीकै सेन्ट्रल वार्डबाट उम्मेद्वारी दिने लोकनाथ घिमिरे कान्छा उम्मेद्वार हुन् । नेपाली र भुटानीहरुको बाक्लो बसोबास रहेको सो क्षेत्रमा २ पदका लागि घिमिरेसहित ५ जनाको उम्मेद्वारी परेको छ । २३ वर्षीय घिमिरे अहिले पाईलट तालिम गर्दैछन् ।
प्लेफर्ड काउन्सीलको वार्ड न ४ बाट काउन्सीलर पदमा उठेका ९ प्रतिस्पर्धीमा नेपाली भाषी पुष्कर पौडेल पनि छन् । तीन जना निर्वाचित हुने यो क्षेत्रमा नेपालीहरुको उपस्थिति थोरै छ । अन्य भन्दा यो क्षेत्रमा अंग्रेजी बाहेक अरु भाषा बोल्नेहरुको जनसंख्या अधिक रहेको छ ।
 
पछिल्लो समयमा रोटरी र अन्य सामाजिक संस्थाहरुमा संलग्न रहेका पौडेलले भुट्नीज अष्ट्रेलियन एसोसिएसन अफ साउथ अष्ट्रेलिया र भुट्नीज अष्ट्रेलियन एसोसिएसन अफ क्वीन्सल्याण्डको सचिव भएर काम गरिसकेका छन् ।
एसबीएस नेपालीसँगको भेटमा तीनै उम्मेद्वारहरुले आफ्नो प्रयास राजनीतिक नभएर समाज सेवाका लागि भएको बताए । आफ्नो राजनीतिक भविष्यको प्रश्नमा उनीहरुले अहिले नै यसलाई पेशाको रुपमा नलिएको बताए ।

‘अहिले राजनीतिलाई पेशाको रुपमा लिइहालेको छैन । म अष्ट्रेलिया आए देखि नै सामाजिक काममा संलग्न छु । यो उम्मेद्वारी त्यसैको निरन्तरता हो,’ दाहालले भने । पौडेल भने भविष्यको राजनीतिक यात्रा चुनावको नतिजाले निर्क्योल गर्ने बताउँछन् ।
 
घिमिरेले भने आफूलाई राजनीतिबारे खासै थाहा नभाएको त आफ्नो उम्मेद्वारी केवाल एक नागरिकले गर्न पाउने अधिकारको प्रयोग भएको बताए । घिमिरेले भने, ‘आफू उत्तरी वार्डमा बसे पनि अर्का उम्मेद्वार दाहालको अनुरोध अनुसार नै आफ्नै समाजभित्र प्रतिस्पर्धा नहोस भनेर सेन्ट्रल वार्डबाट उम्मेद्वारी दिएको हुँ’ ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
दक्षिण अष्ट्रेलियाको स्थानीय चुनावमा तीन नेपाली-भाषीको उम्मेद्वारी | SBS Nepali