३ जिल्लामा र्यापिड टेष्ट र एक अर्काका सङ्क्रमितलाई क्वारेन्टिनमा राख्ने भारतसंग सहमति: गत ७ दिन नेपालमा

Rapid coronavirus testing in Baglung, Nepal.

Rapid coronavirus testing in Baglung, Nepal. Source: RSS

कोरोना भाइरसको संक्रमण धेरै देखिएका तीन जिल्लामा यस हप्तादेखि र्यापिड टेष्ट अर्थात छिटो विधिबाट परीक्षण शुरु र नेपाल भारतले सम्झौता गरेर एक अर्काका नागरिकलाई क्वारेन्टिनमा राख्ने सहमति। यी लगायतका गए ७ दिनका प्रमुख नेपाल समाचार यहाँ सुन्नुहोस्।


प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी ओलीले राष्ट्रलाई सम्बोधन गर्दै कोरोनाको संक्रमण फैलिन नदिनका लागि लगाइएको लकडाउन आगामी मंगलबार सम्मका लागि थपिएको बताएका छन्।

गत मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनमा ओलीले चैत ११ गते देखि लागु गरिएको लकडाउनको अवधी अझ बढाएका हुन्।

यो बेलामा जनसेवामा खटिएका व्यक्ति र पेशाहरुको प्रशंसा गर्दै उनले त्यसरी काम गर्ने मानिसहरुको भत्ता थपिएको बताएका छन्।

"उपचारको पहिलो घेरामा रहनेहरूलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई पचहत्तर र पचास प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ। चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरू, राष्ट्रसेवक कर्मचारीहरू, ड्राइभर, हेल्पर, सफाई कर्मचारी लगायत कोरोना भाइरसका विरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरूको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता/बीमा सहित सरकारले तपाईहरूको समग्र सुरक्षाको बन्दोवस्त गर्नेछ।"

प्रधानमन्त्रीले नेपालमा ३० हजार भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको, हाल करीब ८ हजार जना क्वारेन्टाइनमा रहेको र १२५ जना आइसोलेसनमा रहेको पनि बताएका छन्।

यसका साथै ओलीले विदेशबाट आएका व्यक्तिहरु जिम्मेवार भएर क्वारेन्टिनमा बस्न र समुदायको स्वास्थलाई गम्भीरतापुर्वक लिन पनि आह्वान गरेका छन्।

स्थानीय तहको संयोजनमा बेरोजगार तथा विपन्न र श्रम आय गुमाएका मानिसलाई राहत प्रदान गरिएको पनि ओलीले बताएका छन्। तर कतिपय स्थानमा विपन्न वर्गको पहिचान हुन नसक्दा राहत बाँड्न अप्ठ्यारो भएको पनि गुनासो गरिएका छन्।
Nepal's Prime Minister KP Sharma Oli addressing the nation about coronavirus.
Nepal's Prime Minister KP Sharma Oli addressing the nation about coronavirus. Source: RSS

तीन जिल्लामा र्यापिड टेष्ट

कोरोना भाइरसको संक्रमण धेरै देखिएका तीन जिल्लामा यस हप्तादेखि र्यापिड टेष्ट अर्थात छिटो विधिबाट परीक्षण शुरु गरिएको छ। काठमाण्डु बाहिर बाग्लुङ, कैलाली र कञ्चनपुर जिल्लामा दुई दुई जनामा कोरोनाको संक्रमण देखिएको छ।

स्थानीय स्तरमै संक्रमण फैलिनसक्ने आशंकामा ती तीन जिल्लामा सयौं मानिसलाई परीक्षण थालिएको हो।

शनिबार सम्मको परीक्षण र नतीजाका बारेमा जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने: "हालसम्म ४,४२६ जनाको नमुना परीक्षण भइसकेको छ। काठमाण्डु उपत्यका भन्दा बाहिर जम्मा ७४२ वटा र गत २४ घण्टामा २८८ वटाको नमुना नरीक्षण भएको छ। योसँगै नमुना परीक्षण प्रतिदिन सात आठ सय भन्दा बढीको दरले भइरहेको छ। संकलनको पनि संख्या बढेको छ र त्यही अनुसार हामीले परीक्षणको दायरा पनि बढाइरहेका छौं।"

यो हप्ता गरिएका परीक्षणहरुमा कुनै नयाँ संक्रमण देखिएको छैन र नेपालमा कोरोना संक्रमित मानिसको कूल संख्या ९ रहेको छ।
coronavirus rapid testing in Kanchanpur, Nepal.
coronavirus rapid testing in Kanchanpur, Nepal. Source: RSS

सीमापारी नेपाली

नेपाल भारतले सम्झौता गरेर एक अर्काका नागरिकलाई क्वारेन्टाइनमा राख्ने सहमति गेरपछि २,१४७ जना नेपालीहरु भारतमा र करीब ७०० भारतीयहरु नेपालमा क्वारेन्टाइनमा रहेका छन्।

भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुले त्यहाँ थोरै ठाउँमा बस्नुपर्दा अप्ठ्यारो भएको, र खाना र पानीको समस्या भएको भन्दै आफूलाई उद्धार गर्न आग्रह गरेका छन्।

यसका साथै भारतका विभिन्न सहरमा बेरोजगार भएर अलपत्र परेका थुप्रै नेपालीले पनि सरकारसँग उद्धारका लागि अपील गरेका छन्।

तर सरकारले भने त्यो आग्रह अस्वीकार गरेको छ। नेपाल भारत बीचको खुला सीमाना बन्द गर्नका लागि थप सशस्त्र प्रहरी परिचालन गरिएका छन्। तर पनि भारतबाट छिटपुट मानिसहरु आउने क्रम जारी रहेको बताइन्छ।

स्वास्थ्य सामग्री खरीद प्रकरण

गत हप्ता सरकारको स्वास्थ्य सामग्री खरीद प्रकृया निकै आलोचित बनेपछि सरकारले खरीद प्रकृया सेनाको जिम्मा लगाएको छ।

नेपालमा कोरोनाको परीक्षण र उपचारका लागि चाहिने गाउन, मास्क, पञ्जा र परीक्षण किट जस्ता सामग्रीको अभाव छ। सरकारले जिम्मा दिएको ओम्नी समूहले गत हप्ता चीनबाट ल्याएका सामग्री गुणस्तरहीन र बजारभाउ भन्दा महंगो भएका कारण आर्थिक अनियमितताको आरोप लागेपछि सरकारले खरीदको काम सेनालाई जिम्मा दिएको हो।

नेपाली सेनाले खरिद प्रकृया अगाडि बढाउँदै पाँच मुलुकलाई पत्राचार गरेको जनाएको छ। तर थप आर्थिक अनियमितता लुकाउनका लागि सेनालाई जिम्मा दिइएको भन्दै त्यस कदमको पनि व्यापक आलोचना भइरहेको छ।

यसपछि स्वास्थ्य विभागले दुई प्रकृयाबाट स्वास्थ्य सामग्री खरीद गर्ने र विभाग आफैंले पनि खरीद प्रकृया अघि बढाएको बताएको छ।
Sanitizer factory in Nepal.
Sanitizer factory in Nepal. Source: RSS

कृषिमा समस्या

लकडाउनका कारणले पशुपालन क्षेत्रमा ठुलो समस्या उत्पन्न भएको व्यसायीहरुले बताएका छन्।

कुखुरा व्यवसायीहरुले चल्ला उत्पादन रोकेका छन् भने भएका कुखुरा र अण्डा नबिक्दा देशभर दिनहुँ करोडौंको नोक्सान भइरहेको बताएका छन्।

यस अवधीमा थुप्रै व्यवसायीले कुखुरा मार्ने र फ्याल्ने गरेका छन्। त्यस्तै दुध व्यवसायीहरु कतिपय ठाउँमा दुध फ्याल्न बाध्य भएका छन् भने गाईलाई खुवाउने पराल दुध भन्दा महंगो भएको गुनासो गरिरहेका छन्।

यातायात सेवा बन्द हुँदा तरकारी व्यवसायीहरुका पनि त्यस्तै समस्या छन्। एकातर्फ किसानहरु आफ्नो सामानको मोल नपाएर थोरै पैसामा बेच्न बाध्य भएका छन् भने अर्कोर्फ खुद्रा बजारमा ताजा फलफुर र तरकारीको मुल्य बढिरहेको छ।

सरकारले तीन महिनाको लागि पुग्ने खाद्यान्न नेपालमै भएको आश्वासन दिएको छ, तर कोरोनाको संकट लम्बिएमा नेपालमा खाद्य सुरक्षाको समस्या हुने चिन्ता बढिरहेको छ।

वातावरण क्षेत्र

त्यस्तै लकडाउनका कारण देशभर नै वनफँडानी र तस्करी गर्ने समस्या बढेको देखिन्छ। कञ्चनपुर र धादिङ लगायत थुप्रै जिल्लामा प्रहरीले यस हप्ता काठ तस्करी गरिरहेका मानिसलाई पक्राउ गरेका छन् र रौतहट, सर्लाही, बारा, पर्सा, कैलाली, लगायत तराईका थुप्रै जिल्लामा वन पैदावार चोरीका घटना बढेका छन्।

वन कार्यालय लगायतका थुप्रै सरकारी कर्मचारी पनि कोरोनाका कारणले लकडाउनकै पालना गरिरहेकाले पनि यस्तो गर्न सजिलो भएको छ।

यस हप्ता सिन्धुपाल्चोक, लमजुङ लगायतका थुप्रै पहाडी जिल्लाका वनजंगलमा डढेलो लागेपछि देशभर नै वातावरण धमिलो भएको छ। कतिपय ठाउँमा मानिसहरुले घाँसको लागि वनमा आगो लगाएको पनि आशंका गरिएको छ।

विद्युतीय पढाइ शुरु

नेपालमा थुप्रै स्कुल कलेजले विद्युतीय प्रणालीबाट पठनपाठन शुरु गरेका छन्। शिक्षकले इन्टर्नेटको माध्यमबाट कक्षा लिने, गृहकार्य दिने र इन्टर्नेटबाटै गृहकार्य बुझाउने गरी अध्ययन अध्यापन अघि बढाइने कतिपय विद्यालयहरुले बताएका छन्।

तर काठमाण्डु बाहिरका धेरै स्थानमा इन्टर्नेट सेवा छिटो र भरपर्दो नभएकाले सबैतिर भने यस्तो किसिमले पढ्न पढाउन नसकिने विद्यार्थी र अभिभावकको गुनासो छ।

सेवा भट्टराई, काठमाण्डु।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand