परिवारले चित्र कोरेर मात्र जीविकोपार्जन गर्न सकिँदैन भन्दाभन्दै पनि यसैमा आकर्षित भएका चित्रकार हुन् हरि ओम मेहता कोइरी। सप्तरीका यी चित्रकार आफ्ना चित्रहरू मार्फत आफू र आफ्नो समुदायको पहिचान भएका आकृतिहरू कोर्छन्। हालै मात्र उनले करिब तीन वर्षको अध्ययन पछि आफ्नो जन्मस्थल र त्यस वरपरका इतिहास बारे एउटा चित्रकला प्रदर्शनी गरेका छन्। उनलाई हामीले यो चित्रकला प्रदर्शनी मार्फत के कुरा उठाउन खोज्नु भएको हो भनी सोधेका थियौँ।
उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
कुराकानीको प्रमुख अंश:
तपाईँले देखाउन खोज्नु भएको समाजचाहिँ मधेस हो?
मेरो चित्रमा म उपस्थित हुनुपर्छ जस्तो मलाई महसुस भयो र त्यही भएर मैले म र मेरो वरपरलाई केन्द्रमा राखेर काम गरेँ।
त्यसो भएपछि मधेसकै दृश्य छन् यी तपाईँले कोर्नु भएको चित्रहरूमा?
यो चित्रकला प्रदर्शनीमा मैले मधेसका भूमि विहीन मानिसहरूको कुरा उठाएको छु। कसैले मधेसको भूमि नेपालको हो तर त्यहाँका मानिस नेपालको होइनन् भन्छन्। त्यसैले मैले आफ्नो इतिहासबारे अध्ययन गरेँ त्यसक्रममा जे भेटेँ त्यही क्यानभासमा उतारेँ।

तपाईँले उठाउनु भएको मुद्दा चित्रकला प्रदर्शनी हेर्न आएका मानिसहरूले बुझ्नु भएको छ जस्तो लागेको छ तपाईँलाई?
उहाँहरूबाट राम्रो प्रतिक्रिया आएका छन्।
अनि तपाईँ कसरी यो पेसामा लाग्नु भयो?
मेरो बुवा मण्डपहरू बनाउनु हुन्थ्यो तर त्यस काम गरेबापत उहाँले कसैबाट पनि पैसा पाउनु हुँदैनथ्यो। त्यसैले बुवाले यसमा नलाग भन्नु हुन्थ्यो तर एक दिन मैलै एक जना अपरिचित मानिसले साइनबोर्डमा लेखिरहेको देखेर म पनि बुढोहुँदासम्म पनि चित्र कोरेर खान सक्छु जस्तो लाग्यो र यसैमा लागे।




