कोरोना
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या १ लाख ९० हजारको नजीक पुगेको छ भने मृतकको संख्या ११०० को नजीक छ।मृत्यु हुने मध्येमा माओवादी नेता तथा भूतपुर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महरा पनि रहेकी छिन्।
यसै बीचमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले यो भन्दा अगाडि सबैको निःशुल्क उपचार गर्न नसकिने भन्दै अति विपन्न र केही सूचीकृत समूहका मानिसलाई मात्रै निःशुल्क उपचार गर्ने बताएको थियो।
अब भने स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचारको प्रस्ताव मन्त्री परिषदमा लाने तयारी गरिरहेको छ।

भारतका सेना प्रमुख
भारतका स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपालको औपचारिक भ्रमण सकेर यसै शुक्रबार भारत फर्किएका छन् ।
उनलाई नेपालका प्रधानसेनापति पुर्णचन्द्र थापाद्वारा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आमन्त्रित गरिएको थियो, जुन गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरिन्।
यसैगरि नरवणेले भारत सेनाको तर्फबाट दुईवटा घुम्ती अस्पताल सञ्चालन गर्नको निम्ति चारवटा एम्बुलेन्स, चारवटा भेन्टिलेटर र स्वास्थ सामग्री तथा उपकरण नेपाली सेनालाई प्रदान गरे ।
बुधबार नेपाल आएका नरवणेले प्रधानमंत्री केपी शर्मा ओलीसँग शुक्रबार नै भेटवार्ता गरे भने उनी आफ्नो भ्रमणबीच पशुपतिनाथ दर्शन समेत गर्न पुगेका थिए।
पछिल्लो समयमा तनावग्रस्त रहेको नेपाल-भारत सम्बन्ध सुधारको निम्ति नरवणेको भ्रमणले सकारात्मक असर पारेको राजनैतिक विश्लेषकहरुको भनाई छ ।

नेकपा विवाद
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद यस हप्ता निकै चर्किएको छ, र पुर्व माओवादी र पुर्व एमाले समूहहरु फुटको नजीक पुगेको बताइएको छ।
गत हप्ता पार्टिको शपथ ग्रहणका क्रममा झडप हुँदा एकजना कार्यकर्ता मुकेश चौरसियाको मृत्यु भएको घटनामा पुर्व माओवादी नेता प्रचण्डले छानबीन र न्यायको माग गरेका थिए।
चौरसियामाथि आक्रमण गर्ने मानिस पुर्व एमाले भएकाले सरकारले संरक्षण गरिरहेका आरोपमा विवाद बढ्दै गएको थियो।
त्यस्तै कर्णालीमा मुख्यमन्त्रीले मन्त्रीमण्डल हेरफेर गरेर पुर्व माओवादी समूहका मन्त्रीहरुलाई निकाल्ने योजना बनाएको सुनिएपछि विवाद अझ चर्किएको छ।
नेकपाको केन्द्रिय समितिको बैठक एक महिना पछि सरेको छ भने यस बीचमा पार्टीका दुई जना सह अध्यक्ष केपी ओली र प्रचण्डले आ आफ्नो नजीकका नेतासँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

आफूमाथि अविश्वासको वातावारण बनिरहेको भन्दै प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा नदिने बताएका छन्।
"तपाईहरु विचार गर्नुहोस् – के मैले अहिले राजिनामा दिन हुन्छ? राजिनामा दिन मिल्छ? मेरोलागि होईन, देशकोलागि – मैले राजिनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजिनामा दिनेवाला छैन ।"
पुर्व माओवादी र पुर्व एमाले पार्टीहरु मिलेर बनेको नेकपामा दुइ नेताको व्यक्तिगत विवाद तथा पार्टीको नीतिगत विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको धेरैको अनुमान छ।
प्रधानमन्त्री केपी अलीले यसअघि नै पार्टी फुटाउन सजिलो हुने अध्यादेश जारी गरिसकेका छन्। र यसको प्रतिकृयामा यस हप्ता अर्का नेता प्रचण्डले पनि कानुनी विज्ञहरुसँग परामर्श गरेको बताइएको छ।
दाहालले शुक्रबार आफ्नो निवासमा पार्टीको अनौपचारिक बैठक समेत बोलाका थिए, जसमा थुप्रै शीर्ष नेता पुगेका थिए तर प्रधानमन्त्री केपी ओली भने थिएनन्।

निःशुल्क खाना खुवाउने अभियान
खुलामञ्चमा निः शुल्क खाना खुवाउने विभिन्न अभियानकर्तालाई काठमाण्डु महानगरपालिकाले यस हप्ता रोक लगाउन खोजेपछि अभियानकर्ता समुह र समर्थकले विरोध गरेका छन्।
काठमाण्डुका मेयर विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलन गरेर कार्यक्रमलाई अन्तै सारेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
“जो साथीहरुले विभिन्न ठाउँहरुमा खाना ख्वाईरहेका छन्, त्यसको व्यवस्थापनको सम्बन्धमा उनीहरुसँग हामीले छलफल चलाईराखेका छौं । हामीले अहिलेपनि उनीहरुलाई यसमा व्यवस्थापन गर्र्छौ भनिरहेका छौं । र यो केहि समय यो कार्य उनीहरुले कायम राख्ने हो भने कुनै पार्टी प्यालेसमा राखेर सफासंग खाना खुवाएमा हामी त्यो सबै खर्च बेहोर्छौ भनेर प्रस्ताव गरेका छौं ।”
शाक्यले काठमाण्डु मागी खानेहरुको शहर जस्तो नदेखियोस् भनेको कुरालाई लिएर उनको धेरै आलोचना भइरहेको छ, र अभियानकर्ताहरुसँगको वार्तापछि उनले फेरी खाना खुवाउने अभियानलाई निरन्तरता दिने अनुमति दिएका छन्।
नेपाली कांग्रेसका नेताले पनि खुलामञ्च गएर आयोजकहरुलाई आर्थिक सहयोग गरेका छन् ।

परीक्षाहरु
त्रिभुवन विश्वविद्यालयमा मार्च महिनामा लिइनु पर्ने स्नातक र स्नातकोत्तर तहका परीक्षा तिहार पछि लिइने विश्वविद्यालयले बताएको छ।
कोरोनाको प्रकोपका कारण थुप्रै संकायका परीक्षा स्थगित भएका थिए। यस्तै, छठ पछि कक्षा १२ को परीक्षा पनि हुने भएको छ। कक्षा १२ का विद्यार्थीले घरै नजिकैको परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउनेछन् र आफ्नै विद्यालयबाट १०० पुर्णांकमा ४० अंक ल्याउनु पर्ने हुनेछ।
परीक्षा स्थलमा कोरोना बारेमा सम्पूर्ण तयारी गर्नुपर्नेछ। एउटा कोठामा १५ जना विद्यार्थी मात्र रहनेछन् र रुघाखोकी वा अन्य केही लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने छ।
नेपाल भाषा
काठमाण्डु महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सबै निजी तथा सरकारी विद्यालयलाई नेवा समुदायले बोल्ने नेपाल भाषा (नेवारी) आफ्नो पाठ्यक्रममा समावेश गर्न आदेश दिएको छ।
यस नियम अन्तर्गत कक्षा १ देखि ८ सम्मका विद्यार्थीले यस भाषालाई अनिवार्य अध्ययन गर्नुपर्ने छ।
महानगरपालिकाको यस निर्णयलाई केहीले भाषिक संरक्षणका रुपमा समर्थन गरेका छन् भने विभिन्न निजि विद्यालय, शिक्षाविद् र काठमाण्डुका अन्य रैथाने समुदायले विरोध गरेका छन् ।
राजधानी र काठमाण्डुमा देशभरका विभिन्न समुदायका व्यक्तिहरुको वसेवास भएकाले उनीहरूमाथि एउटा नौलो भाषा थपिदिँदा पढाई र त्यसको बुझाईको भार मात्र थपिने आलोचकहरुको भनाई छ।
हालको पाठ्यक्रम अनुसार कक्षा १ का विध्यार्थीले अनिवार्य अंग्रेजी र नेपाली, गणित, ‘मेरो सेरोफेरो’ र एउटा वैकल्पिक विषय पढ्नुपर्छ ।




