सन् २०२० को अवधिमा अस्ट्रेलियामा २८,००० भन्दा बढी मानिसहरू कोभिड-१९ सङ्क्रमित बन्न पुगेको तथ्याङ्क छ।
कोरोना भाइरसले हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन ल्याइदियो। र यो समय भित्र हामी मध्य धेरैले घरमै बसेर काम गर्न सिक्यौँ, सबैले मास्क लगाएर हिँड्न सिक्यौँ, र सामाजिक दुरी कायम गर्न सिक्यौँ। यसै सन्दर्भमा बितेका १२ महिनालाई एक पटक नियालौँ।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा
घडीका सुई सन् २०२० को जनवरी महिना तिर लगौँ। एक जना ६० वर्षीय पुरुष केही रुघा लागेको लक्षण लिएर सिड्नीको वेस्टमीड अस्पताल जान्छन्। उनलाई आइसोलेसनमा राखियो, र कुनै अज्ञात र रहस्यमय भाइरसको सङ्क्रमण भएको भनी २५ जनवरीमा थाहा भयो।
अस्ट्रेलियामा कोरोना भाइरसका पहिला मामिलाहरू मध्य यो एक हो। त्यति बेला ती बिरामीसँग डाक्टर जोर्ज जु थिए, र आफ्नो टोलीलाई उपचारको उचित प्रक्रिया के हो भनेर नै थाहा नभएको उनी बताउँछन्। त्यस दिनमा फेला परेका चार जना सङ्क्रमित मध्य ती पुरुष एक थिए।
चारै जना चीनबाट आएका यात्रुहरू थिए, र नभन्दै एक हप्ता भित्र प्रधान मन्त्री स्कट मोरिसनले चीनका यात्रुहरुलाई अस्ट्रेलिया भित्रनबाट रोक लगाए।
तर चीनमा थुप्रै अस्ट्रेलियालीहरू अड्केका थिए, र तिनलाई स्वदेश फर्काउनका लागि फेब्रुअरी ३ तारिखमा पहिलो उडान वुहानबाट अस्ट्रेलिया भित्रियो।

भाइरसको उत्पत्ति स्थल मानिएको वुहानबाट ल्याइएका २४३ जना अस्ट्रेलियालीहरूलाई क्रिसमस आइल्याण्डमा लगियो।
सङ्क्रमण बढ्दै जाँदा, क्रुज जहाजहरू मुख्य हटस्पट बन्न पुगे। कोरोना भाइरस सङ्क्रमितहरूले ग्रस्त डाइमन्ड प्रिन्सेस जहाज फेब्रुअरी ४ मा जापानको योकोहामा पोर्टमा आइपुग्यो।
जहाजका सबै यात्रुहरूलाई जहाज भित्र आ-आफ्नै साना कोठामा क्वारेन्टिनमा राखियो, र त्यसमा सयौँ अस्ट्रेलियालीहरू पनि थिए।
जहाजमा ७०० जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भयो।

त्यस जहाजका अस्ट्रेलियालीहरूलाई एउटा चार्टर विमानमा अस्ट्रेलिया ल्याइयो, नर्दन टेरिटोरीको डार्विन नजिकको होवार्ड्स स्प्रिङ्ग्सको खानी शिविरमा लगियो। ती व्यक्तिहरू मध्य पर्थका ७८ वर्षीय जेम्स क्वान पनि थिए, जो कोभिड-१९ का कारण ज्यान गुमाउने पहिलो अस्ट्रेलियाली हुन्।
यस महामारीको समयमा केही गम्भीर गल्तीहरू पनि हुन पुगेका थिए।
मार्चको १९ तारिखमा रुबी प्रिन्सेस जहाज सिड्नी आइपुगेको थियो। त्यसमा थुप्रै मानिसहरू बिरामी थिए, र कोभिड-१९ परीक्षणको नतिजाको पर्खाइमा थिए। तर, २७०० जना यात्रुहरूलाई जहाजबाट निस्कन दिइयो।
आउँदा हप्तामा ती यात्रुहरू मध्य ६०० जना भन्दा बढी कोरोना सङ्क्रमित पुष्टि भए। २८ जनाले आफ्नो ज्यान गुमाए। यस त्रुटिको धमाधम अनुसन्धान गरियो, र न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले यसको जिम्मेवारी लिन बाध्य भइन्।

मार्चको २० तारिखमा अस्ट्रेलियाले गैर आवासी र गैर नागरिकहरूका लागि आफ्नो सीमा बन्द गर्यो। र देश भित्र पनि लकडाउन र अनेकौँ प्रतिबन्धहरू सुरु हुँदै जाँदा मानिसहरू आत्तिँदै आफ्नो लागि घरका सामानहरू किन्न थाले। यसको लगत्तै, कोल्स र वुलवर्थ्स जस्ता डिपार्टमेन्ट स्टोरहरू टोइलेट पेपर खरिदमा सङ्ख्या सीमा तोक्न बाध्य भएका थिए।
त्यही महिनाको २२ तारिखमा अस्ट्रेलियाको पहिलो लकडाउन सुरु भयो, र अति आवश्यक सेवाहरू बाहेक अन्य सबै व्यवसायहरू बन्द गरियो।
आर्थिक सहयोगका लागि सेन्टर लिङ्क बाहिर लाइन लाग्ने मानिसहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गयो, र महिनाको अन्त्य सम्ममा सङ्घीय ट्रेजरर जोश फ्राईडनबर्गले कोरोना भाइरस प्रतिबन्धहरूले पुराएका आर्थिक घाटाका लागि जबकीपर र जबसीकर योजनाहरू सुरु गरे।

लकडाउनको उद्देश्य पूरा हुँदै गयो, र केही महिना सम्म सङ्क्रमितहरूको सङ्ख्या बिस्तारै बिस्तारै घट्दै गयो।
तर केही समय पछि भने भिक्टोरियामा रहस्यमय ढङ्गमा सङ्क्रमण बढ्दै गयो। जून महिनाको अन्त्य सम्म अस्ट्रेलियाको दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या बढेर ७४६ सम्म पुगेको थियो।
भिक्टोरियाको कोरोना भाइरसको यो दोस्रो लहर पछि राज्य भर कडा प्रतिबन्धहरू लागु भए, र मेलबर्न र मिचेल शायर क्षेत्रहरू लकडाउनमा राखिए।
अगस्ट महिनाको २ तारिखमा भिक्टोरियाली प्रिमियर डानियल एनड्रुजले राज्यमा प्रकोपको अवस्था रहेको घोषणा गरे, र महानगरीय मेलबर्नमा कर्फ्यु जारी गरिएको थियो।

कोरोना भाइरसको त्यो दोस्रो लहरका लागि भिक्टोरियाको होटेल क्वारेन्टिन व्यवस्थामा भएका गल्तीहरू दोषी मानिएका थिए। त्यसको ठूलो अनुसन्धान थालियो, यी सबै बीच भिक्टोरियाका स्वास्थ्य मन्त्री र अन्य दुई सरकारी अधिकारीहरूले राजीनामा समेत दिए।
भिक्टोरियाको त्यो लकडाउन विश्वकै सबै भन्दा लामो समयका लागि गरिएको लकडाउनहरू मध्य एक थियो, तर अक्टोबर महिनाको २६ तारिख पछि आशाका किरणहरू झुल्किन थाले। त्यस दिन राज्यमा नयाँ कोरोना भाइरस सङ्क्रमित र मृतक, दुवैको सङ्ख्या शून्य थियो।
तर महामारीका कठिन घडीहरू यति मै सकिएन। नोभेम्बर महिनामा एडिलेडमा भेटिएका नयाँ सङ्क्रमणका कारण ६ दिने लकडाउन भयो।
त्यस्तै, क्रिसमस आउनु भन्दा केही दिन अघि मात्रै सिड्नीको नर्दन बीचेसलाई कोभिड-१९ को हटस्पट घोषित गरियो।

र नयाँ वर्ष सन् २०२१ को आगमन भन्दा एक हप्ता अगाडी, कोरोना भाइरसको परिवर्तित रूपको जोखिमका कारण क्विन्सल्याण्डकी प्रिमियर एनेस्टेसिया प्यालशेले ग्रेटर ब्रिसबेन क्षेत्रका लागि तीन-दिने लकडाउनको घोषणा गरिन्। बेलायतमा गत सेप्टेम्बर महिना तिर भेटिएको कोरोना भाइरसको परिवर्तित रूपलाई अझ बढी सङ्क्रामक मानिएको छ।
कोभिड-१९ को यस परिवर्तित रूपबाट अस्ट्रेलियालाई जोगाउन राजनीतिज्ञहरू र स्वास्थ्य अधिकारीहरू कम्मर कसेर लागि परेका छन् भने, ३८,००० अस्ट्रेलियालीहरू अझ पनि विदेशमा विभिन्न देशहरूमा अड्केका छन्, घर फर्कन पाएका छैनन्। र कोरोना भाइरस विरुद्धको खोप आउँदो फेब्रुअरी महिनादेखि अस्ट्रेलियामा वितरण गर्न सुरु गरिने छ।
कोरोना भाइरस महामारीको लागि सरकारले लागु गरेका स्वास्थ्य तथा सहयोग सेवाहरूको बारेमा जान्न sbs.com.au/coronavirus मा जानुहोस्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।




