नेपालमा एलजीबीटीआई समुदायको हक अधिकार सुनिश्चित गराउन अभियन्ताको रूपमा कार्यरत रहेकी भूमिका श्रेष्ठ, महिला वा पुरुषको सट्टा "अन्य" को दर्जामा विदेश जाने पहिलो नेपाली हुन्। उनले एसबीएस नेपालीसँग आफु र आफ्नो अभियानबारे गरेको कुराकानी।
१.ब्यु डायमण्ड सोसाईटीमा आवद्ध तपाई पछिल्लो समय के गरिरहनु भएको छ ?
ब्यु डायमण्ड सोसाइटीले नेपालमा रहेका समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी लगायत समुदायको अधिकारका लागि काम गरिरहेका छौं । नेपालभर रहेका यस समुदायका मानिसहरुको पहिचान गरेर एकजुट गर्न लागि परेका छौं ।
त्यसबाहेक ‘हाइवे’ फिल्मपछि अभिनेत्री श्वेता खड्काको ‘कान्छी’नामक फिल्ममा देखिदैंछु ।
२. नेपालमा हुने एलजीबीटीआई अभियानमा तेस्रो लिङ्गी अधिकारकर्मीको रुपमा सक्रिय भएर लाग्नु भएको छ । नेपालमा तेस्रो लिङ्गीहरुको स्थिति कस्तो रहेछ ?
सुरुवाती दिनमा तेस्रो लिङ्गी भन्ना साथ घृणाको दृष्टिले हेरिन्थ्यो । समाजले हामीहरुलाई हिजडा र छक्काको उपमा दिएको थियो । अहिलेको सुधारोन्मूक समाजले हामीलाई सम्मानजनक व्यवहार गरिरहेको महशुस गर्न पाएको छु ।
सहज रुपमा स्कुल र अफिसहरुमा काम गर्न जान पाएका छौं । हाम्रो लैंगिक पहिचानलाई विस्तारै स्वकार्न थालिएको छ ।
३. ब्यु डायमण्ड सोसाईटीले एलजीबीटीआई समुदायका कस्ता खालका मुद्दाहरुमा काम गरिरहेको छ ?
यसले एलजीबीटीआईको पहिचानको लागि काम गरिरहेको छ । तेस्रो लिङ्गीहरुलाई समेट्ने उद्देश्यले संविधानमा हाम्रो लागि विशेष व्यवस्थाको प्रावधान राखिएको छ । जसले गर्दा समाजले हामीप्रति हेर्ने दृष्टिकोण फराकिलो गर्न बाध्य भएको छ । नागरिकता पाएसँगै स्वास्थ्य, शिक्षा र रोजगारीको माग गरिरहेका छौं ।
४. सामान्य मानिसभन्दा फरक छु भन्ने महशुस कहिले गनुभयो ? परिवार र समाजलाई आफ्नो लैंगिक पहिचान गराउन कत्तिको गाह्रो भएको थियो ?
झण्डै ११ वर्षको हुँदा म अरुभन्दा फरक छु भन्ने महशुस भएको थियो । सुरुमा मेरो यो पहिचान स्वकार्न मलाई गाह्रो भएको थियो । साँच्चिकै भन्ने हो भने मेरो परिवारले कहिल्यै मेरो लैंगिक पहिचानमाथि प्रश्न गरेन् ।
आफन्त र समाजले हेर्ने दृष्टि भने नकारात्मक थिए । छोरा भएर जन्मिएपनि लैंगिक पहिचानको अभावबाट ग्रसित भएको थिए । मैले कैलाश श्रेष्ठलाई भूमिका श्रेष्ठमा ल्याउन आँट गर्न सकें । अहिले मलाई हेर्ने दृष्टि सुधारिएको महशुस गरेको छु ।
५. लैंगिक पहिचानको अन्यौलताबाट ग्रसित व्यक्तिहरुलाई केही सुझाव दिन चाहनु हुन्छ ?
आफूले आफ्नो लैंगिक पहिचानलाई स्वकार्न हिम्मतको आवश्यकता पर्छ । यसलाई रोग वा कमजोरी मानेर लुकाएर राख्नु समस्याको समाधान भने होइन् । समाजले स्वकार्न पक्कै पनि समय लाग्छ । त्यसको लागि सर्वप्रथम भन्ने आँट गर्नसक्नु पर्छ ।
६.नेपालभर एलजीबीटीआईको संख्या कति छन् ?
नेपालमा एलजीबीटीआईको संख्या करिव ६ लाख हुनसक्छ । संसारभरको जनसंख्याको १० प्रतिशत एलजीबीटीआई समुदाय छन् भन्ने प्रारम्भिक अनुमानको आधारमा यो तत्थाङक निकालिएको हो ।
७.संसारभरको अन्य देशको तुलनामा नेपालमा एलजीबीटीआई समुदायलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ ?
नेपाली समाजले एलजीबीटीआई समुदायलाई सकारात्मक रुपमा लिने गरेको छ । त्यसैले संसारभर फैलिएर रहेको एलजीबीटीआई समुदायका मानिसहरु नेपालमा आउन चाहन्छन् ।
अमेरिका र मुश्लिम देशहरुले एलजीबीटीआई समुदायको पहिचानलाई स्वीकार गर्न नसकेको अवस्थामा एसियाली देशमा नेपाल अगाडी रहेको छ ।
८.तत्काल नेपाल सरकार एलजीबीटीआई समुदायकलाई विशेष प्राथमिकतामा राखेर के गरिदिनुपर्छ जस्तो लाग्छ ?
नेपाल सरकारले हामीलाई नागरिकता दिएको छ । अधिकांश नीति निर्णय बनाउने बेला हामी समेत सहभागि गराइरहेको छ । हाम्रो शिक्षा, रोजगारी र समावेशी लगायत विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
९. तेस्रो लिङ्गी अधिकारकर्मी तपाई राजनैतिक पाटीमा समेत आवद्ध हनुहुन्छ । राजनीतिलाई निरन्तरता दिने सोच बनाउनु भएको छ ?
मैले सन् २००८ मा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा सहभागि भएको हुं । तेस्रो लिङ्गीको नीति नियमका लागि राजनीतिमा हाम्रो योगदानको आवश्यकता रहेको छ । त्यसैले राजनीतिलाई निरन्तरता दिएर काम गरिरहेको छु ।





