नर्सिङ पढ्न दिएको परिक्षामा नाम ननिस्किएपछि डान्समा संलग्न भएकी नम्रता केसीलाई सुरुवाती दिनमा कसैले डान्सर भनेर सम्बोधन गर्दा अठ्यारो महसुश हुन्थ्यो । अहिले म डान्सर हुँ भनेर भन्न सक्ने भएको उनको भनाइ छ। नेपालमा ‘कत्थकांक्षा’ नामक कत्थक नृत्यसम्बन्धी कार्यशालालाई स्थापित गर्न लागिपरेकी उनले यसअघि म्युजिकल ड्रामाहरु ‘स्वान लेग’ र ज्यानमारा निर्देशन गरिसकेकी छिन् । उनले नयाँ म्युजिकल ड्रामा र कत्थक नृत्य यात्राबारे एबिएस नेपालीसँग गरेको कुराकानी
नम्रता केसीसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
१.डान्सको सबैभन्दा अप्ठ्यारो मानिने कत्थक विधामा कस्ता खालका चुनौतीहरु हुने रहेछन्?
नेपालमा कत्थक डान्समा सक्रिय भए काम गर्ने विज्ञहरु कम छन्। डान्स विधालाईनै व्यवसायिक रुपमा स्थापित गराउन ग्राहो भइरहेको अवस्थामा कत्थकबारे मानिसहरुलाई जनचेतना खासै छैन् ।
यो क्षेत्रमा काम गर्न मलाई परिवारले प्रोत्साहित गरेका हो। नेपालमा पढाईनै नहुने भएकाले भारत गएर यो विषय पढ्ने खर्च परिवारले जुटाईदिएको थियो ।
२.म्युजिकल ड्रामामार्फत कथा भन्न सकिन्छ भन्ने कुरामा तपाईले विशेष जोड दिनुको कारण केही छ ? कुनै म्युजिक ड्रामाको तयारी गरिराख्नु भएको छ ?
मलाई कथा सुन्न मनपर्छ । मैले सुनेको कथाहरु सबैले हेर्नपनि पाउनुपर्छ । म नाटकको विद्यार्थी होइन्। मलाई डान्सबाहेक अरुमा खासै रुचि लाग्दैन् । नाटक र डान्सलाई एकैसाथ प्रस्तुत गर्न सकिन्छ भनेर म्युजिकल ड्रामामा केन्द्रित भएको हुँ ।
अहिले नेपालको पहिलो रानी राजेन्द्रलक्ष्मी देवी शाहको जीवनीमाथि म्युजिकल ड्रामाको तयारी गरिरहेको छु । ड्रामालाई कत्थक डान्समार्फत मञ्चन गर्दैछौं ।
कत्थकमा राजेन्द्रलक्ष्मीको जीवनी देखाउन दुःख भएपनि ऐतिहासिक कथामा काम गर्दा रमाइलो हुने गर्छ ।
३.नर्सिङमा नाम नसिस्किएपछि पद्यकन्या क्याम्पसमा डान्स विषय पढ्छु भन्दा त्यसबेला परिवारको साथ कत्तिको पाइयो ?
त्यसबेला नर्सिङ पढ्ने ट्रेन्डनै चलेको थियो । मैलेपनि नर्सिङ पढ्न परिक्षा दिएको थिए । नाम ननिस्किएपछि अन्य विषय छनोट गरेर भर्ना हुनुपर्ने समयपछि सकिसकेको थियो ।
छोरीको प्रतिभा चिनेका बुबाले पद्य्मकन्या क्याम्पसको मानविकी संकायमा अंग्रेजी साहित्यका साथमा डान्स पढ्न सुझाव दिनुभएको थियो । त्यही स्नातकसम्म डान्स विषय पढें ।

४.डान्सलाई व्यवसायिक विधा नमानिरहेको परिस्थितिमा तपाई डान्सर भएर स्थापित हुँदाका तितो अनुभवहरु कस्तो रह्यो ?
मैले कामलाई इन्जोइ गरिरहेको छु । सुरुवाती दिनमा कसैले डान्सर भनेर सम्बोधन गर्दा आफैंलाई अठ्यारो महसुश हुन्थ्यो । अहिले म डान्सर हुँ भनेर भन्न सक्ने भएको छु ।
डान्सलाई विभिन्न विधामार्फत प्रस्तुत गर्न सकिन्छ कि भनेर सम्भावनाको खोजी गरिरहेको हुन्छु ।
५.पद्य्मकन्या क्याम्पस पढिरहँदा मेरिडियन स्कुलमा डान्स विषय पढाई राख्दा प्रिन्सिपलको अगाडी रुनुपर्ने बाध्यता के हुन्थ्यो ?
म भर्खर १७ वर्षकी थिए । क्याम्पस पढ्दै गर्दा शिक्षकले दुई महिनाको लागि मेरिडियन स्कुलमा डान्स सिकाउन पठाइदिनु भएको थियो ।
मलाई बिदा चाहिएको बेला स्कुलले बिदा दिदैंनथ्यो । म रोएको देखेर प्रिन्सिपलले बिदा दिनुहुन्थ्यो ।
६.कत्थक डान्स भन्ना साथ धार्मिक कथाहरुले प्राथमिकता पाउनुको कारण केही छन् ?
नेपालमा कत्थक डान्सको विधामा सक्रिय भएका काम गर्ने सर्जकहरु कम हुनुहुन्छ । फेरि कत्थक डान्स प्रस्तुत गर्ने प्रचलन छैन् । मैले सामाजिक नेपाली कथाहरुलाई कत्थक डान्समार्फत प्रस्तुत गरिरहेको छु ।
७.‘कत्थकांक्षा’ नामक कत्थक नृत्यसम्बन्धी कार्यशालाबाट आएका तपाईका विद्यार्थीहरुको प्रस्तुतीलाई कसरी मूल्याकंन गर्नुहुन्छ ?
मैले ‘कत्थकांक्षा’को दुई वटा सिरिज गरिसकेको छु । तुलनात्मक रुपमा धेरैले पहिलो सिरिज मनपराएपनि दोस्रो सिरिजका विद्यार्थीहरुले अहिलेपनि कत्थकलाई निरन्तरता दिइरहेका छन् । यसले मलाई पनि ‘कत्थकांक्षा’लाई निरन्तरता दिनुपर्ने भनेर प्रोत्साहित गरिरहेको हुन्छ ।
८.कत्थक डान्सबाहेक कुन विधामा काम गर्नु मनपर्छ ?
मलाई सबै खालको विधाबारे बुझ्न मन लाग्छ । फेरि डान्सरहरुको कामको आयु छोटो हुन्छ भन्ने मान्यताले गर्दा अन्यौलतापनि हुने गर्दछ । मलाई डान्सबाहेक अरु केहिपनि आउँदैन । बरु डान्सको माध्यमले अरु आर्ट फर्मसँग सहकार्य गरेर काम गर्न मन पर्छ ।





