अस्ट्रेलियामा भाउ बढ्दै गर्दा सस्तोमा पेट्रोल हाल्ने तरिकाहरू

petrolprice.png

Fuel price is set to soar in Australia from next month. Credit: Abhas Parajuli

इन्धन अन्त:शुल्कमा सरकारले दिँदै आएको छुट आगामी सेप्टेम्बर २९ बाट सकिँदै छ।


सरकारले दिएको कर छुटको योजना सकिनै लाग्दा अस्ट्रेलियाभरका सवारी धनीलाई इन्धन भर्दा थप रकम ‘बाउजर’मा तिर्नुपर्ने भएको छ।

सवारी धनीहरूले महिनाको अन्तबाट एक लिटर तेलमा लगभग २५ सेन्ट बढि खर्च ब्यहोर्नुपर्नेछ।

दैनिक जीवनयापनको लागत कम गर्न भन्दै तत्कालीन मोरिसन सरकारले ६ महिनाका लागि अन्तःशुल्क छुट योजनाको सुरुवात गरेको थियो।

एल्बनिजी सरकारले भने अन्तःशुल्क छुट कायम नहुने सङ्केत गरिसकेको छ।

तर इन्धनको मूल्य रातारात आकासिने अवस्था नरहेको बताइएको छ।

न्यु साउथ वेल्स र एसीटी स्थित सवारी सेवा सम्बन्धी कम्पनी एनआरएमएका अनुसार पेट्रोल पम्पहरूले छुट मूल्यमा खरिद गरेको इन्धनको भण्डारण केही दिनसम्म रहने भएकाले एक रातमै भाउ परिवर्तन हुने छैन।

युरोपमा जाडो महिनाको सुरुवात र त्यहाँको बजारमा इन्धनको बढ्दो मागका बिच अस्ट्रेलियामा तेलको भाउ बढ्न लागेको हो।

सस्तोमा पेट्रोल कसरी किन्ने त?

पेट्रोल पम्पहरू चाहर्दै, भाउ कहाँ कम छ भनेर हिँड्ने जमाना अब रहेन।

यसका बारेमा सहजै जानकारी दिने विभिन्न एप र वेबसाइटहरू हाल उपलब्ध छन्।

केही वेबसाइट र एपहरूले सरकारी मान्यता पनि पाएका छन्।

“अलिकती खोज-खाज गरियो भने राम्रै पैसा जोगाउन सकिन्छ,” एनआरएमएका प्रवक्ता पिटर खरीले एसबीएससँग भने।

यदि बाटोमा भेटिएको पहिलो पेट्रोल पम्पमै तेल भर्नुभयो भने तपाईँले थप पैसा अनावश्यक रूपमा खर्च गर्ने सम्भावना रहन्छ।

न्यु साउथ वेल्समा सरकारी फ्युल चेक वेबसाइटले आफ्नो वरिपरिमा इन्धन मूल्य सस्तो भएको पेट्रोल स्टेसनका बारेमा जानकारी दिन्छ।

उता, नर्दर्न टेरीटरीमा माइफ्युल एनटी र वेस्टर्न अस्ट्रेलियामा फ्युलवच भन्ने वेबसाइटहरू सञ्चालनमा छन्।

साउथ अस्ट्रेलिया र क्वीन्सल्यान्डमा आफ्नै वेबसाइटहरू नभएता पनि केही बाहिरी वेबसाइटहरू मार्फत जानकारी प्राप्त गर्न सकिन्छ।

भिक्टोरिया र एसीटीमा इन्धनको मूल्य थाहा पाउने आफ्नै वेबसाइट वा बाहिरी वेबसाईटहरुको लिङ्क नभए पनि राष्ट्रिय रूपमा इन्धन मूल्य थाहा पाउने वेबसाइटहरू मार्फत जानकारी लिन सकिन्छ।

ग्राहकहरूको वकालत गर्ने सङ्गठन च्वाईसले मान्यता दिएको र ९० प्रतिशतसम्म सही जानकारी दिने मानिएको पेट्रोल स्पाई, मोटर माउथ र सिप्मल्स लगायतका वेबसाइटहरू मार्फत पनि जानकारी लिन सकिन्छ।

यसै गरी सेभेन इलेभेनले पनि आफ्नो एपमा इन्धनको भाउ कम भएका बेला प्राइस लक गर्ने सुविधा दिएको छ।

एप मार्फत प्राइस लक गरेको ७ दिनसम्म इन्धनको भाउ बढेको अवस्थामा पनि कम मूल्यमा इन्धन भर्न सकिन्छ।

त्यसैगरि विभिन्न सुपर मार्केटमा सामग्री खरिद गर्दा रसिदमा आउने छुटको प्रयोग गरेर पनि केही रकम बचत गर्न सकिन्छ।

petrol_1.jpg

पेट्रोलको भाउको चक्रलाई बुझ्नुहोस्

इन्धनको भाउमा आउने उतार चढावका बारेमा अस्ट्रेलियाली उपभोक्ता सम्बन्धी संस्था एसीसीसीले ध्यान राख्दछ।

संस्थाले सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा इन्धनको कारोबार गर्ने संस्थाका नीतिगत कारणले हुन सक्ने मूल्यको उतारचढावलाई नजिकबाट नियाली रहेको हुन्छ।

संस्थाको वेबसाइटमा रहेको चार्टले कहाँ मूल्य बढ्दै छ र कहाँ घट्दै छ भनेर देखाउँछ।

यो जानकारी हेरेर पनि आवश्यकता अनुसार इन्धन भर्न सकिन्छ र केही रकम बचाउन सकिन्छ।

यो चार्ट सोमबारदेखि शुक्रवारसम्म प्रत्येक दिन अपडेट गरिन्छ र ४५ दिनसम्मको दैनिक सम्भावित मूल्य पनि राखिन्छ।

एसीसीसीका प्रवक्ताले मूल्य उकालो लागेको बेलामा इन्धन खरिद नगर्ने र व्यक्तिगत रूपमा सञ्चालित पम्पहरूबाट इन्धन भर्दा केही रकम बचाउन मद्दत गर्ने सुझाव दिन्छन्।

उक्त संस्थाले अन्तःशुल्क छुटको प्रावधान हटेपछि पनि मूल्यको निगरानी कायमै राख्नेछ।

“एसीसीसीले विक्रेताले इन्धन मूल्यमा भ्रम पार्न खोजे अथवा ठगी गरिएको प्रमाण भेटिए आवश्यक कारबाही गर्न पछि हट्ने छैन,” प्रवक्ताले भने।

यता एनआरएमएका प्रवक्ता खुरी इन्धनको मूल्यमा आउने उतारचढावका बारेमा जानकारी राख्दा, प्रतिलिटर ३० सेन्टसम्म जोगाउन सकिने बताउँछन्।

तर पछिल्ला केही समयमा जस्तो मङ्गलवार भाउका हिसाबले सबैभन्दा कम हुने दिन रहने अवस्था भने अब नरहेको उनले बताए।

यद्यपि ग्राहकहरूले मूल्यको उतार चढावका बारेमा ध्यान दिएर, सस्तो दिनमा इन्धन भर्न सक्ने उनले बताएका छन्।

car
Credit: Open Source

अतिरिक्त भार निकाल्नुहोस्

यदि तपाईँको गाडीले अतिरिक्त भार बोकी रहेको छ भने यसलाई निकालेर पनि इन्धनको बचत गर्न सकिने बताइन्छ।

गाडीको बुटमा अनावश्यक सामाग्री राखेर गाडीमा भार पैदा गर्दा यसले इन्धन खपतलाई बढाउँछ, ती सामाग्री कुनै एक स्थानमा राखेर इन्धन खपतलाई कम गर्न सकिन्छ।

“गल्फका वा स्कुबा डाइभिङ सम्बन्धी सामानहरू ग्यारेजमा थन्काउनुहोस्,” खुरीले भने।

यसका अलावा टायरमा उचित हावा नभएर, अनावश्यक रूपमा एसी चलाएर वा गाडीको सिसा खोलेर हिँड्दा पनि इन्धन खपतलाई बल मिल्छ।

“तपाई अचम्ममा पर्नु हुनेछ, यी स–साना कुराले पनि ठुलो प्रभाव पार्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now