Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

तपाईँको ज्ञानलाई डिग्रीले परिभाषित गर्दैन: लेखा विषयमा स्नातकोत्तर गरेर सफ्टवेर निर्माण गर्ने अमित रंजितकार

Amit Ranjitkar

Amit Ranjitkar Source: Facebook

लेखा विषयमा स्नातकोत्तर गरेर अकाउन्टेंटका रूपमा काम गर्दै आएका अमित रंजितकारले एजेन्ट्सीज नामक एक सफ्टवेरको विकास गरेका छन्।


हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

सन् २००८ मा नेपालबाट धेरै सपना बोकेर अस्ट्रेलियामा आएका रंजितकारले आफ्ना सुरुका सङ्घर्षरत दिनहरू सम्झँदै एसबीएस नेपालीलाई भने, "म जुन उद्देश्य बोकेर यहाँ आएको थिएँ, त्यसलाई पछ्याउन कहिल्यै पनि छाडिन।"

अस्ट्रेलियामा अकाउन्टिंग विषयमा स्नातकोत्तरसम्मको अध्यन गरेपछि रंजितकारले एक अकाउन्टेंटको रूपमा एजुकेसन तथा माइग्रेशन एजेन्सीमा काम गरिरहेका थिए। उनले त्यहाँ रहँदा धेरै विद्यार्थीहरूको भविष्य बोक्ने त्यस्ता एजेन्सीहरूमा सूचना व्यवस्थापनमा कमजोरी देखे।

विद्यार्थीहरूको जानकारी व्यवस्थित रूपमा नराख्ने, समयमै उनीहरूलाई आवश्यक जानकारी प्रदान गर्न नसक्ने त्यस्ता एजेन्सीहरू देखे पछि उनले महत्त्वपूर्ण जानकारीहरू सजिलोसँग आदान प्रदान गर्ने हेतुले सफ्टवेर निर्माणबारे अवधारणा बनाएको एसबीएस नेपालीलाई बताए।

अन्ततः रंजितकारले एउटा सफ्टवेर बनाए, उक्त क्षेत्रमा जानकार रहेकाहरूसँग सुझाव लिदैं आफ्ना एक साथीसँग मिलेर। साथै, इन्टरनेटमा उपलब्ध रहेको ज्ञान तथा त्यसलाई आफ्नो हितको निम्ति प्रयोग गर्दै जाँदा आज यहाँसम्म आइपुगेको पनि उनले बताए।

"नेपालीहरूमा व्यवसाय गर्ने कला जन्म देखि नै हुन्छ जस्तो लाग्छ, हामी आफैँले केही गरौँ भन्ने सोच आउँदो रहेछ।"

तर आउट सोर्सिंग गर्दा सोचेजस्तो गुणस्तरीय नतिजा नपाए पछि आफ्नै निगरानीमा गर्न थालेपछि सूचना प्रविधिबारे थप बुझ्न सकेको उनको भनाइ छ।

"बिस्तारै सफ्टवेरको ग्राहकहरू बढ्दै जाँदा त्यसमा उनीहरूले दिएको सुझावहरूलाई पनि राख्दै गइयो," भन्छन् रंजितकार।

सुरुमा डेभेलोपरहरू अस्ट्रेलियामा लिँदा धेरै महँगो पर्ने साथमा नेपालमा भएका दक्षतालाई पनि स्थान दिने उद्देश्यले नेपालमा पनि यसको कार्यालय खोलिएको अमितले बताए।

उनका अनुसार अहिले नेपालको संखमुलमा रहेको कार्यालयमा मा २५ जना र अस्ट्रेलियामा ५ जना गरी ३० जना एजेन्टसिजमा आबद्ध रहेका छन्।

भियतनाम, फिलिपिन्स, क्यानडा र अमेरिका जस्ता देशहरूमा यो सफ्टवेर प्रयोग हुने गरेको भए पनि अस्ट्रेलिया चाहिँ सबैभन्दा ठुलो बजार भएको उनले बताए।

२०१६ मा पहिलो पटक यो सफ्टवेर सार्वजनिक गर्दा पहिलो ग्राहक एक भियतनामी भएको बताउँदै अमितले अहिले भने कम्तीमा १००० जति प्रयोगकर्ताहरू भएको बताएका छन्।

आफ्नै व्यवसाय सुरु गर्ने बारे सोचिरहेका मानिसहरुले केही न केही गर्नै पर्छ भन्ने सोच भन्दा पनि आफूलाई कुन क्षेत्र मन पर्छ र के काम गर्दा आफ्नो मन रमाउँछ भन्ने कुरा बुझ्न जरुरी हुने रंजितकारको विचार छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now