सङ्घीय सरकारले घरेलु हिंसाका पीडितहरूको लागी थप सुरक्षा र माई हेल्थ रेकर्डको दुरुपयोग गर्नेहरूलाई जेल सजाय र जरिवाना रकम बढाउने घोषणा गरेको छ।
गोपनीयताका सम्बन्धमा व्यक्त भएका चिन्ताहरूलाई सम्बोधन गर्न सङ्घीय सरकारले विवादास्पद माई हेल्थ रेकर्डको नियमावलीमा परिवर्तन ल्याएको छ।
उक्त परिवर्तनहरूमा स्वास्थ्य तथ्याङ्कमा रहेका जानकारीहरूमाथि छेड खानी र दुरुपयोग गर्नेहरूलाई दिइने सजाय र जरिवानामा वृद्धि गर्ने रहेको छ त्यस्तै घरेलु हिंसामा परेकाहरूलाई कडा सुरक्षा निगरानीमा राखिने छ।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त व्यवस्था सुरक्षित रहेकोमा आफू विश्वस्त रहेको एबीसीलाई बताएका छन्।
“यो पूर्णतया व्यक्तिगत प्रणाली हो र त्यसको प्रमाण भनेको ६ वर्ष पछि ६० लाख मानिसहरूले यो प्रणालीमा आफ्नो जानकारी दर्ता गराउनु हो, र यो मध्ये कुनै पनि माई हेल्थको जानकारीहरू दुरुपयोग भएको छैन। त्यसैले यो अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि उल्लेखनीय बलियो प्रणाली हो।"
मन्त्री हन्टले संसद्को माथिल्लो सदन सिनेटमा उक्त व्यवस्थामा रहेका कमीकमजोरीहरू बारे व्यक्त भएका चिन्तालाई सम्बोधन गर्नका लागी उक्त परिवर्तन अगाडी सारिएको बताएका छन्।
उल्लेखित परिवर्तनहरू मध्येको एकमा माई हेल्थ रेकर्डको तथ्याङ्कलाई दुरुपयोग गरेको ठहर भएमा उक्त व्यक्तिले पाँच वर्ष सम्मको जेल सजाय र जरिवानामा दोब्बर वृद्धि गर्दै ३ लाख १५ हजार सम्म बनाइएको छ।
अर्को परिवर्तनमा घरेलु हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टनरको माई हेल्थ रेकर्डको पहुँचमा प्रतिबन्ध लगाउने रहेको छ।
'अभिभावकीय जिम्मेवारी' दफाको प्रयोग गरेर घरेलु हिंसाका कारण घर छोडेर भागेका परिवारका बारेमा जानकारी प्राप्त गर्न दुरुपयोग हुन सक्ने चिन्ताहरू व्यक्त भएपछि यो व्यवस्था ल्याइएको हो।

निजी बिमा कम्पनीहरूलाई माई हेल्थ रेकर्डमा पहुँच नहुने भन्दै मन्त्री ग्रेग हन्टले रोजगारदाताहरूले पनि स्वास्थ्य जानकारी माग्न वा प्रयोग गर्न नपाउने व्यवस्था राखिएको बताए।
"हामीले विश्वस्त पारेका छौँ कि यो जानकारीहरूमा कुनै पनि कानुनी अधिकारीहरू अथवा अस्ट्रेलियाली कर कार्यालय वा अन्य कुनै संस्थाहरूलाई अदालतको आदेश बिना पहुँच दिइने छैन।"
तर केही आलोचकहरू अझै पनि विश्वस्त हुन सकेका छैनन्।
युनिभर्सिटी अफ क्यानबेराका गोपनीयताको कानुनका विज्ञ डा. ब्रुस आर्नोल्डले एबीसीलाई भने, उक्त प्रणालीमा अझै पनि व्यक्तिगत जानकारीहरू चुहावट हुन सक्ने जोखिम रहेको छ।
माई हेल्थ रेकर्डमा १ करोड ७० लाख अस्ट्रेलियालीहरूको जानकारी स्वतः गएको थियो जसमध्ये १० लाखको हाराहारीमा मानिसहरूले आफ्ना जानकारीहरू उक्त प्रणालीबाट हटाएका थिए।
आफ्नो तर्फबाट माई हेल्थ रेकर्डमा जानकारी राखिएको नचाहनेहरूले आगामी १५ नोभेम्बर सम्ममा आफ्नो जानकारी हटाउन सक्ने छन्।
डा. आर्नोल्ड मानिसहरूले डिजिटल स्वास्थ्य प्रणालीको विरुद्ध निर्णय लिनुलाई आश्चर्यको विषय नभएको बताउँछन्।
"मलाई लाग्छ सबैभन्दा चासोको विषय भनेको मैले कुरा गर्ने गरेको साथै अन्य ठुलो सङ्ख्यामा चिकित्सकहरू, जी पी र सरकारका सदस्यहरू पनि यो प्रणालीबाट खुसी छैनन्। यसको निर्माण प्रक्रिया र कार्यान्वयन प्रक्रियालाई विश्वास नगर्नुहोस्, म त यो प्रणालीबाट बाहिरिँदै छु, र अरू मानिसहरूलाई पनि बाहिरिन प्रोत्साहित गर्छु।"
गएको मङ्गलवार माई हेल्थ रेकर्डबाट आफ्नो जानकारी हटाउन हेल्पलाइनमा फोन गर्नेहरूलाई उक्त प्रणालीले काम नगरेको भनी बताइएको थियो।
तर सम्पूर्ण स्वास्थ्य जानकारीहरूको व्यवस्थापनको जिम्मा पाएको अस्ट्रेलियन डिजिटल हेल्थ एजेन्सीले भने यसलाई सामान्य प्राविधिक गडबडी भनेको छ।
तर लेबर सांसद एन एलीले उक्त प्राविधिक समस्या आगामी दिनमा आउने अन्य धेरै समस्याहरूको सूचक भएको बताएकी छन्।
सरकारले विपक्षी लेबरद्वारा प्रस्तुत लगभग सबै संशोधन सुझावहरूलाई समावेश गरेर माई हेल्थ रेकर्डको सुरक्षाबारे उक्त परिवर्तनमा सम्बोधन गरेको भए ता पनि सङ्घीय सांसद एलीले लेबरको लागि अझै पनि गोपनीयतालाई लिएर चिन्ता रहेको बताएकी छन्।




