कोरोना
हाल नेपालमा कोभिड-१९ का कुल संक्रमित को सङ्ख्या ७ लाख ३३ हजार भन्दा बढि रहेको छ भने सकृय संक्रमितको सङ्ख्या झण्डै तीन हजार पुगेको छ।
यसैगरि दैनिक मृत्यू हुनेको सङ्ख्या यस हप्ता १५ देखि २५ को हाराहारीमा रह्यो।
स्वास्थ्य मन्त्रालयले सोमबारदेखि विदेश जान ईच्छुक र भिषा पर्खिरहेका कामदारहरुलाई अमेरिकाबाट ल्याईएको जोन्सोन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम सुरु गरेको छ। त्यसै दिनदेखी ५० देखि ५४ वर्ष उमेरका नागरिकहरुलाई पनि यो खोप लागाईएको थियो।
जोन्सोन एण्ड जोन्सन कम्पनीको यो खोप १५ लाख ३४ हजार भन्दा बढिको मात्रामा नेपाललाई गत हप्ता हस्तान्तरण गरिएको थियो।

श्रावन महिनाको कारण सैयौँको सङ्ख्यामा नेपालीहरु पशुपतिनाथ क्षेत्र तथा अन्य विभिन्न शिवालयहरुमा पुजा गर्नकोलागि भिड गर्न थालेको देखिएको छ।
यस्तै लामो दुरीको यातायातहरु पनि सुचारु गरिएको छ। यी कारणहरुले गर्दा नेपालमा माहामारी अझै तिव्र रुपले फैलिने अनुमान विज्ञहरुको छ।
यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला भन्छन्, “अहिले यो पछिल्लो समय निषेधाज्ञा अलिकति खुकुलो हुँदै गईरहेको अवस्थामा विभिन्न समस्याहरु लिएर बिरामीहरु अस्पताल आउने क्रम जारी छ। त्यसमा कोरोनाकै लक्षण र कोरोना प्रमाणित भएका बिरामीको सङ्ख्या पछिल्लो हप्तादिनमा बढेर गएको छ।”
यस्तै माहोलबीच सिसिएमसीले पनि स्वास्थ्य मापदण्डको पालना गरेर कक्षा १२ को परिक्षा सञ्चालन गर्न पाउने अनुमति दिएको छ।
एसियन भलिबल च्याम्पियनसिप ले भने नेपाललाई कोरोनाको रेड जोनमा परेको भन्दै प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाएको छ।
प्रधानमन्त्रीलाई बहुमत
प्रधानमन्त्री शेरबहादुर देउवालाई १६५ सांसदले विश्वासको मत दिएका छन्। प्रतिनिधिसभालाई व्यूँत्याउन सर्वोच्च अदालतको परमादेशपछि आईतबार बसेको बैठकमा यस्तो समर्थन गरिएको हो।
समर्थन गर्नेहरुमा माओवादी केन्द्र, जसपा, एमालेको माधव कुमार नेपाल समुह र रा्ष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका छन्। एमालेका १ सय २१ सदस्य मध्य ८३ जनाले मात्र देउवाको विपक्षी भएर मतदान गरेका थिए।
यससम्बन्धी प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले गरेको घोषणा यस्तो रह्यो: "सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि मत प्राप्त गर्ने राख्नुभएको प्रस्तावको पक्षमा प्रतिनिधिसभामा तत्कालिन कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।”
भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
अदालतले ओलीको कदमलाई बदर गरेर बहुमत सांसदको समर्थन पाएका देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएको थियो। संसदिय दलको बहुमत नभएको अवस्थामा नेपालको संविधान अनुसार प्रधानमन्त्रीले एक महिना भित्र विश्वासको मत लिन पर्न हुन्छ।

नेताहरु द्वारा सुरक्षाकर्मी थप
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुरक्षाकर्मी थप गर्ने क्रममा आफैले बनाएको कार्यविधि मिचेका छन्। यस्तै नेता पुष्पकमल दाहाल र माधनकुमार नेपाललेपनि आफ्नो सुरक्षामा प्रहरीहरु बढाएका छन्।
नेपाली काङ्ग्रेसका देउवा प्रधानमन्त्री भए लगत्तै यी नेताहरुले यसो गरेका छन्।
यसै विषयमा सांसदहरुले सुरक्षाकर्मीदुरुपयोग गरेको यस कदमलाई प्रश्न गरेका छन्। बिहिबारको एक बैठकमा सांसदहरुले गृहमन्त्री र सहसचिवलाई यस विषयमा सोधपुछ गरेका छन्।
नेपाली राजदुतको फोन जासुसी
भारतमा नेपाली अधिकृत र नेपालमा आफ्नै देशको गुप्तचर विभागले जासुसीको नाममा फोन कल ट्याप गर्ने जोखिम बढेको दाबी गरिएको छ।
ईजरायलको एनएसओ भन्ने एक कम्पनीले बनाएको पेगासस नामक जासुसी सफ्टवेयरको प्रयोग गरेर भारतमा नेपाल लगायत विभिन्न देशका राजदुतहरुको फोन ह्याक गरिएको कुरा सार्वजनिक भएको छ।
यस सुचीमा पाकिस्तान, ईरान, अफ्गानिसतान, चीन र साउदी अरेबिया समेतका राजदुतहरु रहेका छन्।
नेपालमा भने नागरिकको फोन ट्याप गर्न गुप्तचर विभागले अनुमति मागेको छ।
विभागले यस प्रस्तावलाई राष्ट्रिय सभाबाट पारित गराई प्रतिनिधिसभामा समेत पुर्याईसकेको छ। परराष्ट्र मन्त्रालयले नेपालको तर्फबाट भारतमा रहेका राजदुतलाई पेगासस प्रकरणको बारेमा भारत सरकारलाई आधिकारिक विवरण माग्न पत्राचार गरेको छ।
वर्षाको कारण डुबान
देशभर विभिन्न ठाउँहरुमा यस हप्तापनि भारी वर्षाको कारण धेरै ठाउँहरु डुबानमा परेका छन्। यसै क्रममा कपिलवस्तुको यसोधरा गाउँपालिकामा वर्षा र भारतिय सिमानाको बाँधको कारण करिब २ सय हेक्टर खेत डुबानमा परेको छ।
मधेषका अन्य यस्तै ठाउँहरुमा यस समयमा नयाँ बाली लगाएका खेतहरु हरेक वर्ष डुबानमा पर्ने गर्छन्।
छिमेकी राष्ट्र भारतसँग बाँधको विषयमा नेपालको स्थानीय सरकारले उचित सम्झौता गर्न नसकेको कारण धेरै किसानहरु मर्कामा पर्ने गरेका छन्।
अउने सोमबारदेखि मनसुन झनै सकृय रहने मौसमविदहरुको अनुमान छ। यस समयमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ।

वरिष्ठ कलाकारको निधन
नेपालका आधुनिक प्रयोगवादी कलाकारको नामले चिनिने उत्तम नेपालीको बुधबार निधन भएको छ।
नेपाली ८५ वर्षिय उमेरका थिए र मुटुरोग, श्वासप्रश्वासन र अल्जाईमरसँग लडिरहेका थिए। उनको अमुर्त (एब्स्ट्र्याक्ट) कलामा रहेको खुबी तथा योगदानलाई नेपाली कला क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ।
नेपालीले कविता र अभिनय क्षेत्रमापनि संलग्नता देखाएका थिए।
उनले झण्डै दुई दशकसम्म हुलाक सेवा र सुचना विभागमा टिकट डिजाईनरको रुपमा काम गरेका थिए। नेपालीले पछिल्लो समयमा अस्वस्थताको कारण आफ्नो छोरा र छोरीसँग अमेरिकाको बोस्टनमा धेरै समय बिताएका थिए।





