टेम्पलस्टोइमा कार्लुचिज रेस्टुरेन्ट नाममा व्यवसाय सञ्चालन गर्दै आएको द लक बर्ड पिटीवाइ लिमिटेडले फेयर वर्कसँग इन्फोरसेबल अन्डरटेकिङ सम्झौता गरेको छ।
सम्झौताले रोजगारदाताहरूलाई आफ्नो नियम पालनाको अभ्यासलाई सुधार गर्न प्रतिबद्ध बनाउँछ भने, फेयर वर्क एक्ट र अस्ट्रेलियामा तलब निर्धारण गर्ने अवार्ड प्रणाली अन्तर्गत आफ्नो दायित्वहरू पुरा गर्न बाध्य बनाउँछ।
यसरी ठगिएको तलब फिर्ता पाउनेहरूमा भिसामा रहेका व्यक्तिहरू पनि रहेको फेयर वर्क अम्बड्समनका प्रवक्ता म्याथ्यू रेगेटले बताएका छन्।

फेयर वर्क अम्बड्समनले मेलबर्नको उत्तर पूर्वी सबर्बहरुमा खाना बेच्ने व्यवसायहरूमा व्यापक अनुगमन गरिरहेको समयमा सन् २०२४ मा उक्त इटालियन रेस्टुरेन्टमा गरिएको छड्के जाँचका क्रममा कर्मचारीहरूले कम तलबमा काम गरिरहेको पत्ता लागेको थियो।
भान्सामा काम गर्ने कुक लगायतका कर्मचारी, फ्रन्ट डेस्क र वेटरका रूपमा काम गर्ने कर्मचारीहरूले समेत कम तलब पाइएको थियो।
यसरी फिर्ता गरिएको रकम वा 'व्याक पे' पाउने कर्मचारीहरू मध्ये सबैभन्दा कम पाउनेले १८९ डलर र सबैभन्दा धेरैमा २०,०४२ डलरसम्म पाएका छन्।

त्यहाँ कार्यरत भिसामा रहेका नेपाल र भारतीय पृष्ठभूमिका कर्मचारीहरूले १२,०६४ देखि २०,०४२ डलरसम्म कम पाएको भेटिएको थियो।
१५ वर्षको हाराहारीमा रहेका सात बालबालिका पनि त्यहाँ कार्यरत रहेको बताइएको छ ।
उनीहरूलाई पाउनु पर्ने तलब भन्दा ३०५ डलर देखि ८,७५४ डलरसम्म कम दिइएको थियो।
फेयर वर्क अम्बड्समनले उक्त रेस्टुरेन्टले सन् २०२३ को जुनदेखि जुलाई सन् २०२५ सम्म कम तलब दिएको फेला पारेको हो।
उक्त रोजगारदाताले एकमुस्ट दर 'फ्ल्याट रेटमा' तलब दिने गरेको भए पनि यसले कर्मचारीका सबै सुविधा जस्तै कि पेनाल्टी र ओभर टायमलाई समेत समेट्छ भनेर गलत बुझाइ राखेको पाइएको थियो।
रेस्टुरेन्टले १ लाख ९४ हजार ११ सेन्ट कम तलब दिएका पाइएको छ। जसमध्ये १ लाख ७३ हजार २ सय २४ सेन्ट तलबमा अनि बाँकी २० हजार ७ सय ८७ डलर सुपरएनुएसनमा तिर्नु पर्ने भएको हो।
उक्त रेस्टुरेन्टले अनुसन्धानमा सहयोग गर्दै, तिर्न बाँकी सबै रकम फिर्ता गर्ने र भविष्यमा सुधार गर्ने प्रतिबद्धता गरेकाले इन्फोरसेबल अन्डरटेकिङ उसका लागि उपयुक्त रहेको पनि बताइएको छ।
फेयर वर्क अम्बड्समन एना बुथले फ्लाट रेटमा तलब दिएर यति दिए पुगिहाल्छ भनेर सोच्नु उचित नरहेको एक विज्ञप्ति मार्फत बताएकी छिन्।

अन्य व्यक्तिले काम नगर्दा वा सामान्य कार्यालय समयभन्दा बाहेकको समयमा काम गर्ने कर्मचारीलाई दिइने पेनाल्टी रेट कानुनी अधिकार भएको पनि उनले विज्ञप्ति मार्फत जनाएकी छिन्।
हामी सबै रोजगारदाताहरूले सम्बन्धित अवार्ड तथा फेयर वर्क ऐनअन्तर्गतका आफ्ना सबै दायित्वहरू पूरा गर्ने अपेक्षा गर्छौँ। घण्टाको पारिश्रमिक समान दर वा फ्ल्याट रेटमा दिइदा प्रायः मेहनती कर्मचारीहरूले पाउनुपर्ने सबै अधिकार र सुविधा पूरा पाउन सक्दैनन्।एना बुथ, फेयर वर्क अम्बड्समन
फेयर वर्क अम्बड्समनले साना व्यवसायका रोजगारदाताहरूका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने रेगेटले बताएका छन्।
कार्यस्थल नियम सम्बन्धी सुझाव, सहयोग अधिकार र जिम्मेवारीका सम्बन्धमा थप जानकारी लिन कर्मचारी र रोजगारदाताहरूले फेयर वर्क कमिसनको वेबसाइट www.fairwork.gov.au वा १३१३९४ मा सम्पर्क गर्न सक्छन्। दोभाषे सेवाका लागि १३ १४ ५० मा सम्पर्क गर्न सकिन्छ।








