रोजगारदाताको गैरकानूनी क्यासब्याक योजनाका कारण आप्रवासी कामदारलाई कथित रूपमा शून्य ज्याला दिएको आरोप

फेयर वर्क अम्बड्समनले सिड्नीको एक लेखा र आर्थिक सेवा प्रदायक कम्पनी तथा उसका मालिक एवं सञ्चालक विरूद्ध कानूनी कारवाही सुरु गरेको छ।

A representative image of an office worker.

A representative image of an office worker. Credit: Pexels/Cedric Fauntleroy

इनोभेटिभ एसोसिएट्स तथा सो कम्पनीका मालिक एवं एकमात्र निर्देशक डिलाराम खरेल विरूद्ध फेयर वर्क अम्बड्समनले फेडेरल सर्किट एन्ड फ्यामिली कोर्टमा मुद्दा दायर गरेको हो।

यो मुद्दाको ‘डाइरेक्सन्स हियरिङ’ भोलि सोमवार, १८ अगस्टमा सिड्नी स्थित फेडेरल सर्किट एन्ड फ्यामिली कोर्टमा हुनेछ।

उक्त कम्पनीकी एक नेपाली कामदारद्वारा सहयोगका लागि अनुरोध दर्ता गरेपछि आफूले अनुसन्धान थालेको अम्बड्समनको भनाई छ।

Fair Work Ombudsman released a new app for Australian Workers.
A Fair Work Ombudsman office. Credit: Fair Work Ombudsman

अम्बड्समनका अनुसार इनोभेटिभ एसोसिएट्स र उक्त कम्पनीका मालिक एवं सञ्चालक खरेलले कथित रूपमा आफ्नो एक आप्रवासी कामदारलाई उनको पूर्ण तलब बराबरको रकम एक गैरकानूनी क्यासब्याक योजना अन्तर्गत आफूहरूलाई भुक्तानी गर्न लगाएका थिए।

आरोपहरू के हुन्?

फेयर वर्क अम्बड्समनका आरोपहरू, जुलाई २०१९देखि डिसेम्बर २०२०सम्म असिस्टेन्ट एकाउन्टेन्टको पदमा पार्ट‍-टाइम आधारमा नियुक्त रहेकी एक नेपाली नागरिकमाथि इनोभेटिभ एसोसिएट्सद्वारा गरिएको व्यवहारसँग सम्बन्धित छ।

उक्त समयमा ३० वर्षभन्दा बढी उमेर रहेकी ती महिला अस्थायी ग्राजुएट भिसामा रहेकी पनि अम्बड्समनले आफ्नो मिडिया विज्ञप्‍तिमा जनाएको छ।

इनोभेटिभ एसोसिएट्समाथि कथित रूपमा ती कामदारलाई उनको रोजगारीको पहिलो करिब १० हप्ता काम गरे वापत उनले पाउनु पर्ने पारिश्रमिकको कुनै पनि अंश गैरकानूनी रूपमा भुक्तानी गर्न असमर्थ रहेको आरोप लगाएको छ।

यसका साथै, उक्त लगभग १० हप्ताको ज्याला भुक्तानी गर्नु अगि, आफ्नो ज्याला मात्र नभई त्यसमा लाग्ने कर र सुपरएनुएसन वापतका योगदान तिर्न पर्याप्त हुने रकम, खरेल वा इनोभेटिभ एसोसिएट्सलाई दिन गैरकानूनी रूपमा ती कामदारलाई बाध्य पारिएको आरोप पनि लगाइएको छ।

कथित रूपमा ती कामदारले कि त खरेलको नाममा रहेको वा त खरलेको नियन्त्रण वा पहुँच भएका ब्याङ्क खाताहरूमा आवश्यक रकमहरू जम्मा गर्नुपरेको पनि आरोप छ।

यसरी रकम जम्मा भएपछि खरेलले कथित रूपमा इनोभेटिभ एसोसिएट्सको खातामा सारेपछि कम्पनीले उक्त रकम प्रयोग गरेर ती कामदारको ज्याला भुक्तानी गर्ने, र तलबमा लाग्ने कर सम्बन्धी पीएवाइजी नियम तथा ती कर्मचारीलाई लिएर लागू हुने सुपरएनुएसन बारेका आफ्ना दायित्वहरू पूरा गरेको आरोप पनि फेयर वर्क अम्बड्समनको छ।

अम्बड्समनले लगाएको आरोप अनुसार, कथित रूपमा अक्टोबर २०१९देखि डिसेम्बर २०२०सम्मको अवधिमा इनोभेटिभ एसोसिएट्सले ती कामदारलाई कूल ३२,९०७ डलर खरेलका ब्याङ्क खाताहरूमा जम्मा गर्न लगाएको र इनोभेटिभ एसोसिएट्सले कूल २७,८७३.५० डलर एक शोषणकारी क्यासब्याक योजना अनतर्गत ती कामदारको खातामा ज्यालाका रूपमा भुक्तानी गरिदिएको थियो।

अस्ट्रेलियाको नेस्नल मिनिमम् वेज अर्डर अनुसार ती कामदार कानूनी रूपमा तलब पाउन योग्य रहेको तर सो क्यासब्याक योजनाको परिणामस्वरूप ती महिला कामदारले आफूले गरेको कामको पारिश्रमिक वापतको कुनै पनि भुक्तानी हात नपारेको आरोप पनि फेयर वर्क अम्बड्समनको छ।

यसका साथै, इनोभेटिभ एसोसिएट्सले कथित रूपमा ‘रेकर्ड-किपिङ’ र ‘पे स्लिप’ सम्बन्धी कानूनहरू उल्लङ्घन गरेको थियो, जसमा जानीजानी एक फेयर वर्क इन्सपेक्टरलाई झुटो वा भ्रामक पे स्लिपहरू दिएको, र ती कामदारलाई सार्वजनिक बिदाका दिनहरूमा काममा उपस्थित हुन नपर्ने सुविधा भएतापनि त्यस वापतको तलब र उनको रोजगारीको अन्त्य हुँदा संचित तर नलिइएको वार्षिक विदा वापतको रकम भुक्तानी गर्न पनि सो कम्पनी असमर्थ रहेको आरोप लगाइएको छ।

कथित रूपमा इनोभेटिभ एसोसिएट्सका सबै उल्लङ्घनमा खरेल संलग्न रहेको अम्बड्समनको आरोप छ।

फेयर वर्क अम्बड्समनको भनाई

फेयर वर्क अम्बड्समन एना बुथले ती भिसा वाहक कामदारमाथिको उक्त कथित शोषण सहन नसकिने गम्भीर आचरण रहेको बताएकी छिन्।

“हामी अदालतमा यो आरोप लगाउनेछौँ कि यो कम्पनीले तलब सम्बन्धी आफ्नो कानूनी दायित्वहरूको पालना गरिरहेको जस्तो प्रभाव पार्नका लागि क्यासब्याक योजना लागू गरेको थियो, जबकि वास्तवमा यसले आफ्नै फाइदाको लागि एक कमजोर आप्रवासी कामदारको शोषण गरिरहेको थियो,” बुथले भनिन्।

“एक वर्षभन्दा बढीको कामका लागि, हाम्रो आरोप छ कि ती कामदारले कुनै ज्याला पाइनन् बरु उनले उल्टै आफूले भुक्तानी पाएकोभन्दा बढी रकम तिर्नुपर्‍यो।”

Fair Work Ombudsman Anna Booth.
Fair Work Ombudsman Anna Booth. Credit: Fair Work Ombudsman

समग्रमा, क्यासब्याक योजना, कम तलब र अन्य सेवासुविधाहरूको कम भुक्तानी सहित सबै कथित उल्लङ्घनहरू गरी, उक्त कामदारले ४०,१६४.४९ डलर कम पाएको फेयर वर्क अम्बड्समनको भनाइ छ।

अम्बड्समनका अनुसार इनोभेटिभ एसोसिएट्सले कामदारलाई हाल सबै रकम भुक्तानी गरिसकेको छ।

त्यसबेला भिसामा रहेकी उक्त कामदारको कथित शोषण, एक गम्भीर कार्य रहेको भन्दै, भिसामा रहेका कर्मचारीहरू फेयर वर्कको प्राथमिकता रहेको अम्बड्समन बुथले बताएकी छिन्।

“रोजगारदाताहरू यो कुरामा सचेत हुन जरुरी छ कि भिसामा भएका लगायत सम्भावित रूपमा कमजोर कामदारहरूको सुरक्षार्थ कदम चाल्नु फेयर वर्क ओम्बड्समनका शीर्ष प्राथमिकताहरू मध्ये एक हो।”

“अस्ट्रेलियाका सबै कर्मचारीहरूसँग उनीहरू जुनसुकै भिसामा भएता पनि, काममा आफनो पद अनुसार पाउने न्यूनतम सेवासुविधाहरू कानूनी रुपमा प्राप्त गर्ने र आफैँसँग राख्ने अधिकार हुन्छ। शोषण विरुद्ध आवाज उठाउने कुनै पनि भिसामा भएका व्यक्तिलाई सुरक्षाको व्यवस्था छ।”

"भिसामा भएका र अन्य कर्मचारीहरूलाई आफ्नो तलब वा सेवासुविधाका बारेमा चासो भएमा नि:शुल्क सल्लाह र सहयोगको लागि फेयर वर्क ओम्बड्समनलाई सम्पर्क गर्न हामी आग्रह गर्दछौँ।”

फेयर वर्क अम्बड्समनका अनुसार यदि यी आरोपहरू प्रमाणित भए, कथित क्यासब्याक उल्लङ्घनका लागि इनोभेटिभ एसोसिएट्समाथि ६६,६०० डलरसम्मको र खरेलमाथि १३,३२० डलरसम्मको जरिमाना हुनसक्नेछ।

अन्य हरेक कथित उल्लङ्घनहरूका लागि, उक्त कम्पनीले ६६,६०० डलरसम्म र खरेलको हकमा चाहिँ १३,३२० डलरसम्मको जरिमाना हुन सक्ने बताइएको छ।

खरेलको भनाई

फेयर वर्क अम्बड्समनका आरोपहरू सार्वजनिक भएपछि डिलाराम खरेलसँग एसबीएसले सम्पर्क गरेको थियो।

उनका कानूनी प्रतिनिधि दिलिपकुमार राईले एसबीएस नेपालीसँग कुरा गर्दै हाल मुद्दा प्रारम्भिक चरणमा रहेको हुनाले धेरै विवरण दिन नमिल्मे र आफूहरूले सबै आरोप अस्वीकार गरेको बताएका छन्।

“अहिलेको चरणमा चाहिँ, हामीले कुनै कुरा पनि स्वीकार गरेका छेनौँ। त्यसको मतलब, फेयर वर्क अम्बड्समनले आरोप लगाएका कुराहरू, जुन आरोपहरू मात्र हुन्, तिनीहरू प्रमाणित भइसकेका छैनन्,” उनले भने।

“उनीहरूले [अम्बड्समनले] चाहिँ, यो चाहिँ भएकै भनेर स्थापित गरिसकेको छैन र हामीले पनि स्वीकार गरिसकेका छैनौँ। यो चाहिँ अहिले प्रारम्भिक चरणमा नै छ।”

रोजगारदाता र कामदारहरूले सल्लाह र सहयोगका लागि www.fairwork.gov.au मा जानुहोस् वा १३ १३ ९४ मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Share

5 min read

Published

Updated

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now