SKIP TO MAIN CONTENT

नेपाली लगायतका कामदारले पाउनुपर्ने पैसा नदिँदा होबार्ट क्याफे सञ्चालकलाई ठूलो रकम जरिमाना

होबार्ट स्थित एक क्याफे सञ्चालकहरूले अनुपालन सम्बन्धी एक आदेशको पालना गर्न असफल रहेको कारण २९,२०० डलर जरिमाना तिर्न अदालतले आदेश जारी गरेको छ।

Cafe worker Nepali
Representative image Source: Davide Baraldi/Pexels

2 min read

Published

Updated



Skip to article content

फेयर वर्क अम्बड्समनले सालामान्का वार्फ क्याफे सञ्चालकहरूद्वारा आफ्नो एक अनुपालन सूचनाको उल्लङ्घन गरेको भन्दै, उनीहरू विरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेको थियो।

सोही मुद्दाको छिनोफानो गर्दै आज फेडेरल सर्किट एन्ड फ्यामिली कोर्टले वेल्भिन एन्ड केभिन पीटीवाई लिमिटेड लगायत उक्त कम्पनीका निर्देशक च्छी च्छी टान र प्रमुख साझेदार एवं म्यानेजर किङ्सिआ‍ङ् (केभिन) मेङलाई जरिमाना तिर्न आदेश दिएको हो।

अदालतको आदेश अनुसार अब वेल्भिन एन्ड केभिनले २२,००० डलर, निर्देशक टानले ३,००० डलर र प्रबन्धक मेङले ४,२०० डलर दण्ड जरिमाना स्वरूप तिर्नु पर्नेछ।

अम्बड्समनका अनुसार टान र मेङ दुवैले कम्प्लायन्स नोटिस भनिने सो अनुपालन सूचनालाई पालना गरेका थिएनन्।

उक्त सूचनामा क्याफेका पाँच जना कामदारहरूले उनीहरूको हक अनुसारको भुक्तानी पाउनुपर्ने उल्लेख थियो।

पाँच कामदारहरू मध्ये एक जना नेपालबाट आएका कर्मचारी भएको र उक्त अवधिमा उनी अस्ट्रेलियाको भिसावाहक रहेको बताइएको छ।

बाँकी चार जना भने १७ देखि १९ वर्ष उमेरका रहेको फेयरवर्क अम्बड्समनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।       

ती कामदारहरूलाई सन् २०१८ को डिसेम्बरदेखि सन् २०२० को मार्च महिनासम्मको अवधिमा, होबार्टको सो क्याफेमा काम गर्दा, हस्पिट्यालिटी इन्डस्ट्री अवार्ड २०१० अनुसार तलब नदिइएको पत्ता लागे पछि फेयर वर्क अम्बड्समनले वेल्भिन एन्ड केभिन पीटीवाई लिमिटेडलाई नियमहरूको पालन गर्न भन्दै पत्र काटेको थियो।

यसका साथै, केभिन मेङको संलग्नतामा वेल्भिन एन्ड केभिनले अभिलेख राख्ने कानूनहरू पनि तोडेको आरोप फेयर वर्क अम्बड्समनले लगाएको थियो।

कानूनी प्रक्रिया सुरु भएपछि कम्पनीले कामदहरूको बक्यौता रकम प्राय: सबै भुक्तानी गरेता पनि, अदालतले वेल्भिन एन्ड केभिनलाई अम्बड्समनको कम्प्लायन्स नोटिसको पूर्ण रूपमा पालना गर्दै, ती कामदारहरूले पाउनु पर्ने सुपरएन्नुएसनको भुक्तानी समेत गर्न आदेश जारी गरेको छ।

रेस्टुरेन्ट र क्याफे भएका होबार्टका स्थानहरू लक्षित एक लेखा परीक्षण सम्बन्धी छानबिनको क्रममा सालामान्का वार्फ क्याफेमाथि पनि अनुसन्धान भएको फेयर वर्क अम्बड्समनको भनाई छ।

कार्यवाहक फेयर वर्क अम्बड्समन क्रिस्टन हाना भन्छिन् कि कम्प्लायन्स नोटिसको पालना नगर्ने व्यापार-व्यवसायहरूले कामदारहरूलाई उनीहरूको हक अनुसार दिनुपर्ने भुक्तानीका अतिरिक्त अदालतद्वारा तोकिएको थप जरिमाना पनि तिर्नुपर्ने हुनसक्छ।

“अनुपालन सूचनाहरूको पालना गरिएन भने, कामदारहरू कानून अनुरूप पाउनुपर्ने हक दिलाउन हामी कानूनी कदम चाल्न तयार हुनेछौं,” उनले भनिन्।

"आफ्नो तलब वा अधिकारको बारेमा चिन्ता भएका कुनै पनि कर्मचारीहरूले नि:शुल्क सल्लाह र सहयोगको लागि हामीलाई सम्पर्क गर्नुपर्छ।"
कार्यस्थलमा रोजगारदाता र कर्मचारीहरूको अधिकार र दायित्वहरूको बारेमा निःशुल्क सल्लाह र सहयोगको लागि www.fairwork.gov.au जानुहोस् वा १३ १३ ९४ मा फोन गर्नुहोस्। नि:शुल्क दोभासे सेवाका लागि भने १३ १४ ५० मा फोन गर्नुहोस्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now