बागवानी उद्योगमा व्यापक रूपमा कामदारहरूको शोषण भइरहेको बारे युनियन्स न्यु साउथ वेल्सले एक रिपोर्ट प्रकाशित गरेपछि, "प्रति गोटा प्रणाली" खारेज गर्न माग गरिएको हो।
सो रिपोर्टका अनुसार, केही आप्रवासी श्रमिकहरूले घण्टाको २ डलर भन्दा पनि कम दररेटमा काम गरिरहेका छन्।
युनियन्स न्यु साउथ वेल्सले, खेतबारीमा "इन्ट्रि लेभल" कामका लागि कामदार चाहियो भनेर गरिएका १,००० भन्दा बढी विज्ञापनहरूको समीक्षा तथा अस्ट्रेलियाली एवम् अस्थायी आप्रवासी कामदारहरूसँग गरेको कुराकानीका आधारमा, सो प्रतिवेदन तयार पारेको बताएको छ।

रिपोर्टका भन्छ कि, ती १,००० विज्ञापन मध्ये प्रति गोटाका आधारमा पारिश्रमिक दिने भनिएका ९६ प्रतिशत विज्ञापनका सर्तहरू यस्ता थिए कि, कसैले पनि राष्ट्रिय मापदण्ड अनुरूपको कम्तीमा पनि पाउनु पर्ने ज्याला वा मिनिमम वेज हात पार्न सक्दैन थिए।
उक्त प्रतिवेदनले कामदारहरू माथि हुने दुर्व्यवहार र रोजगारदाताले प्रति गोटाका आधारमा दिइने पारिश्रमिकको दररेटलाई बङ्ग्याएर कम्तीमा पनि दिनुपर्ने ज्याला वा मिनिमम वेज नदिन चालिएका चतुर कदमहरू बारे सतर्क गराएको छ।
यसका साथै, कामदारहरूले पारिश्रमिक वा कार्य अवस्थाका बारेमा बोले - शोषणको सिकार वा कामबाट हात धुनुपर्ने अवस्था रहेको समेत बताइएको छ।
यसै गरी, कमसल प्रकृतिको आवास अनि केही कामदारहरू माथि हुने यौन तथा जातीय दुर्व्यवहार बारे पनि चिन्ता व्यक्त गरिएको छ।
युनियन्स न्यु साउथ वेल्सका महासचिव मार्क मोरे भन्छन् कि केही मानिसहरूलाई त प्रति घण्टा २ डलर भन्दा पनि कम पारिश्रमिक दिएर राखिएको रहेछ।
"यो त राष्ट्रिय अपमानै हो," उनले शुक्रवार पत्रकारहरूलाई भने।
"अस्ट्रेलिया यो भन्दा राम्रो छ। कृषकहरू यो भन्दा राम्रो हुनु जरुरी छ।"

रिपोर्टमा उल्लेख भए अनुसार, कामदारहरूलाई प्रदान गरिएको सबैभन्दा कम पारिश्रमिकमा प्रति घण्टा १ डलर २५ सेन्ट रहेको छ।
चीनबाट अस्ट्रेलिया बसाइँ सरेका श्योलियाङ वाङ भन्छन् कि उनलाई एउटा फार्ममा दिनको १२ घण्टा काममा खटाइन्थ्यो र प्रतिघण्टा जम्मा ८ डलर को दरमा पारिश्रमिक दिइन्थ्यो।
"कामदारहरूलाई उनीहरूको मिहिनेत अनुरूपको आदर भइरहेको छैन," उनले भने।
सङ्घीय सरकारले आफ्नो औद्योगिक सम्बन्ध नीति अन्तर्गत तलब चोरी माथि गरिने कारबाहीको कामलाई त्यागेपछि युनियन्स न्यु साउथ वेल्सको उक्त रिपोर्ट सार्वजनिक भएको छ र योसँगै विपक्षी लेबर पार्टीले सरकारको उक्त कदमलाई "असभ्य" र "प्रतिशोध" भनेको छ।

रिपोर्ट सार्वजनिक समारोहमा उपस्थित रहेका विपक्षी नेता एन्थोनी अल्बनिजीले यो भन्दा राम्रो काम गर्न सकिने बताउँदै, यसलाई अस्ट्रेलियाली काइदा भन्न नमिल्ने आशय व्यक्त गरे।
तर, बिहीबार सिनेटमा बोल्दै औद्योगिक सम्बन्धी कार्यवाहक सङ्घीय मन्त्री मिकेला क्याशले भने आफूहरूले क्याजुअल कामदार तथा साना व्यापारीहरूका लागि निश्चिन्तता होस् भनेर तलब चोरीलाई अपराधीकरण गर्ने योजना त्यागेको स्पष्टीकरण दिएकी थिइन्।
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
