सुरक्षित कार्यस्थलका लागि रोजगारदाताको दायित्व
कार्यस्थललाई सकेसम्म सुरक्षित राख्नु रोजगारदाताको दायित्व हो।
यो मुलुकी ऐन अन्तर्गत पर्ने दायित्वका साथ-साथै वर्क, हेल्थ एन्ड सेफ्टी कानून अन्तर्गत सबै राज्य तथा प्रदेशले निभाउनु पर्ने वैधानिक कर्तव्य हो।
कार्यस्थल सुरक्षा सम्बन्धी दायित्वहरूमा यसलाई वैधानिक कर्तव्य अन्तर्गत परिभाषित गरिएको छ ।
कोभिड-१९ का सन्दर्भमा यी दायित्वहरूले रोजगारदाताहरूले भाइरस फैलनबाट रोक्न उचित कदम चाल्नु पर्ने भन्ने उल्लेख छ ।
यस अन्तर्गत सामाजिक दुरी कायम गर्ने, सर सफाइलाई बढावा दिने, सम्भावित संक्रमणको अवस्थामा उचित प्रतिक्रिया योजना र सरकारी स्वास्थ्य आदेशहरूको पालना गर्नु पर्ने बताइएको छ।
कोभिड-१९ बिरामी बिदा
यदि तपाईँलाई कोभिड-१९ सङ्क्रमण भएमा, तपाईँको पहिलो कर्तव्य भनेको भाइरस अरूलाई नसार्नु हो।
अधिकांश समयमा यस्तो अवस्थामा तपाईँले साधारण बिरामी बिदा वा घरबाटै काम गर्ने अनुमति माग्न सक्नुहुन्छ।
कतिपय काममा "महामारी बिदा" भनिने दुई हप्ते बेतलबी बिदा पाउन सकिन्छ।
यसै गरी हालै रोजगारी सम्बन्धी संस्था फेयर वर्क कमिसनले अस्थायी रूपमा स्वीकृति दिएको आधा तलबी बिदा लिन सक्नु हुन्छ।
कामका विभिन्न सुविधा वा अवार्डहरूका बारे जानकारी यहाँ पाउन सक्नुहुन्छ।

तर तलब सहितको महामारी बिदा चाहिँ कम नै दिइने गरिएको पाइएको छ।
यो सुविधा हेल्थ प्रोफेसनल एन्ड सर्पोट सर्भिसेस अवार्ड २०२०, नर्सेस अवार्ड २०१० र एजेड केयर अवार्ड २०१० उपलब्ध छ।
अतिरिक्त तलब सहितका बिदाहरू अब उप्रान्त तपाईँको कार्यस्थलले गर्ने उद्यम सम्झौता वा रोजगारदाताले गरेको व्यक्तिगत सम्झौतामा भर पर्छ।
यदि तपाई क्याजुअल कामदार हुनुहुन्छ भने यो व्यवस्था तपाईँमाथी लागू नहुन पनि सक्छ।
तर तपाईँले क्वारेन्टिन वा सेल्फ-आइसोलेसनमा बस्नु परेमा (या कुनै व्यक्तिको हेरचाह गर्नु परेमा) कामको दुई हप्ते समय बराबर १५०० डलरको महामारी विपद् भुक्तानी (प्यान्डेमिक लीभ डिजास्टर पेमेन्ट) पाउन सक्नु हुन्छ।
यदि तपाईँ यसको लागि योग्य हुनु हुन्छ र तपाईँको राज्य अथवा प्रदेशमा यो भुक्तानी जारी छ भने यहाँ थप जानकारी प्राप्त गर्न सक्नु हुन्छ।
कामदारलाई कोभिड-१९ को क्षतिपूर्ति

यदि तपाईँलाई काममा कोभिड-१९ सङ्क्रमण भएमा, तपाईँले चिकित्सा खर्च र आफूले गुमाएको आयका लागि कामदारको क्षतिपूर्ति पाउन सक्नु हुन्छ।
लामो समयसम्म कोभिडको असरका कारण छुट्टी लिन परेको खण्डमा यसको महत्त्व बढि देखिन सक्छ।
तर यी क्षतिपूर्तिका योजनाहरू राज्य तथा प्रदेशहरूले तयार पार्ने हुनाले ठाउँ अनुसार फरक हुन्छन्।
यसबारे केही एजेन्सीका सूची यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स र वेस्टर्न अस्ट्रेलियाले यस सम्बन्धी आफ्नो कानुनलाई विशेष गरी कोभिड-१९ लाई मिल्ने गरी परिवर्तन गरेका छन्।
यी दुई राज्यहरूमा कोभिड-१९ सङ्क्रमण र रोजगार बारे केही विशेष व्यवस्था गरिएको छ।
कामदारद्वारा गरिएको क्षतिपूर्तिको मागलाई अस्वीकार गर्न चाहेमा रोजगारदाताले ती कर्मचारीहरू कार्यस्थल भन्दा बाहिर सङ्क्रमण हुन पुगेको भनी प्रमाणित गर्नुपर्ने हुन्छ।
न्यु साउथ वेल्समा रिटेल, स्वास्थ्य क्षेत्र, शिक्षा, आकस्मिक सेवा लगायत घरबाट सजिलै गर्न नसकिने कामहरूलाई यस्तो व्यवस्थामा सूचिकृत (यस सूचीलाई न्यु साउथ वेल्सको कर्मचारी क्षतिपूर्ति ऐनको धारा १९बीमा पाउन सक्नुहुन्छ।) गरिएको छ भने वेस्टर्न अस्ट्रेलियामा भने यो स्वास्थ्य कर्मचारी र एम्बुलेन्स अधिकारीहरूमा सीमित छ।

अन्य राज्य तथा प्रदेश र रोजगारहरूमा अन्य चोटपटक लाग्दा लागू हुने समान प्रावधानहरू कायम हुन्छन्।
यसको लागि तपाईँले कोभिड-१९ सङ्क्रमित हुनुको महत्त्वपूर्ण कारण आफ्नो कार्यस्थल रहेको भनी देखाउनु पर्ने हुन्छ।
यसबारे थप जानकारीका आफ्नो युनियन या स्थानीय कामदार क्षतिपूर्ति एजेन्सीलाई सम्पर्क गर्नसक्नुहुनेछ।
कामको लागि यात्रा गर्दा

यदि तपाईँ कामको लागि यात्रा गर्दा, या कामको सिलसिलामा रोजगारदाताको आदेश स्वरूप केही कार्य गर्दा सङ्क्रमित हुन पुग्नु भयो भने, तपाईँले कामदार क्षतिपूर्तिको माग गर्न सक्नु हुन्छ।
काम गर्न जाने र कामबाट फर्कनेलाई सामान्यतया "जर्नी क्लेम" भनी समावेश गरिन्छ।
यो सिद्धान्तलाई न्यु साउथ वेल्सको पर्सनल इन्जरी कमिसनले सन् २०२१ अगस्टमा समर्थन गरेको थियो।
त्यस बेला साइद साराका पतिको व्यापार यात्राको क्रममा अमेरिका जाँदा कोभिड-१९ सङ्क्रमित भई मृत्यु भए पछि, आई केयरले (न्यु साउथ वेल्सको कामदार क्षतिपूर्ति बिमाकर्ता) सारालाई ८३४,२०० अस्ट्रेलियाली डलर तिर्नु परेको थियो।
सम्झौतामा (कन्ट्रयाक्ट) रहेका कर्मचारीहरूका लागि के व्यवस्था छ?

कामदार क्षतिपूर्ति पाउनका लागि तपाईँ कर्मचारी या "मान्यता प्राप्त कर्मचारी" हुनु जरूरी छ।
यस विषयमा राज्य र प्रदेशका कानुनहरू भिन्न भए तापनि सामान्यतया कुनै "सेवाको सम्झौता" (कन्ट्र्याक्ट) को अधीनमा रहेर काम गर्नेहरूलाई 'मान्य कर्मचारी' भनिन्छ।
आफैँले एक व्यवसायको रूपमा सेवा प्रदान गर्ने मानिसहरू यस अन्तर्गत पर्दैनन्।
यसले कानुनी रूपमा ठेकेदार (कन्ट्रयाक्टर) तर कर्मचारीहरूले झैँ बिरामी बिदा जस्ता फाइदाहरू नपाउने मानिसहरूलाई समावेश गर्छ।
यस्ता दाबीहरूलाई न्यु साउथ वेल्स कामदार क्षतिपूर्ति आयोगले विगतमा अस्वीकार गरेको छ - उदाहरणका लागि, सन् २०१८ मा एक उबर चालकको र सन् २०२० मा एक उबर इट्स चालकको दाबी, सेवाको सम्झौता प्रमाण देखाउन नसक्दा खारेज गरिएको थियो।
“कमन ल” मार्फत पाइने क्षतिपूर्ति
कामदारका रूपमा तपाईँले क्षतिपूर्ति पाउनका लागि आफ्नो रोजगारदाताको दोष प्रमाणित गर्न आवश्यक हुँदैन।
यदि रोजगारदाताका कारण तपाईँलाई केही चोटपटक लागे वा बिरामी हुनुभएमा, “कमन ल”को मार्फत तपाईँले अदालतबाट क्षतिपूर्ति पाउँ भनेर मुद्दा दायर गर्न सक्नहुन्छ।
तर यस्तो मुद्दा जित्नको लागि भने कार्यस्थलमा जानाजानी या लापरबाहीमा कर्तव्यको उल्लङ्घन भएको देखाउनु पर्ने हुन्छ।
कमन ल मार्फत मुद्दा अघि बढाउनका लागि केही निश्चित क्षति भएको हुनुपर्छ, र त्यो हरेक राज्यमा फरक फरक हुन सक्छ।
उदाहरणको लागि, साउथ अस्ट्रेलियामा कमन लको मुद्दा अघि सार्नका लागि कर्मचारीको ३०% नोक्सान भएको हुनु पर्दछ।
यस विषयमा विशेषज्ञ वकिलको सल्लाह लिन आवश्यक हुन्छ।

अस्ट्रेलियामा रोजगारदाता विरुद्ध कर्मचारीहरूले मुद्दा हाल्ने सोच गरेका रिपोर्टहरू छन्, तर अहिलेसम्म कुनै वास्तविक मुद्दा भने रहेका छैनन्।
न्यु साउथ वेल्समा मात्र १,८०० भन्दा बढी कामदार क्षतिपूर्ति सम्बन्धी दाबीहरू दर्ता भएका थिए।
एक सफल साझा कानूनी मुद्दामा अदालतले दिने क्षतिपूर्तिमा भविष्यको आम्दानीमा पुगेको हानि र भविष्यमा हुन सक्ने थप कुकार्यलाई निरुत्साहित गर्ने किसिममा उदाहरणीय सजाय जस्ता कुराहरूमा भर पर्छ।
यसका कारण थुप्रै रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूका अनिवार्य खोप लगाउनु पर्ने नियम बनाएका छन्।
धेरैले कार्यस्थलमा सामाजिक दुरी र सर-सफाइलाई पनि कायम राख्दछन्।
जोलन राइली मन्टन, कानुनका प्राध्यापक, युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी
द कन्भर्सेसनमा प्रकाशित यस लेखलाई क्रिएटिभ कमन्सको लाइसेन्स अन्तर्गत पुनः प्रकाशित गरिएको हो। मूल लेख यहाँ छ।
