राहतबीच कोभिड-१९ को कहर
नेपालमा यस हप्ता गत हप्ताको तुलनामा कोरोना सङ्क्रमण र मृतकको सङ्ख्या घटेको छ। गत हप्ता दैनिक सकृय सङ्क्रमितको सङ्ख्या ८ हजार भन्दा बढि पुगेको थियो तर हाल यो घटेर ६ हजार भन्दा कम भएको छ।
यस्तै मृतकको दैनिक सङ्ख्या करिब २०० को तुलनामा १०० को हाराहारीमा झरेको छ। कुल सङ्क्रमित संख्या साढे ५ लाख भन्दा बढी छ भने निको हुनेको सङ्ख्या साढे ४ लाख पुगेको छ।
बुधबार चीनका राष्ट्रपति सि जिन पिङ्ले नेपाललाई कोरोना विरुद्धको १० लाख खोप अनुदानका रुपमा दिने घोषणा गरेका छन्। यस्तै शुक्रबार फिन्ल्याण्ड सरकारबाट नेपाललाई पठाएको सर्जिकल मास्क, भिनाईल पञ्जा, गाउन, मास्क र फेस सिल्ड जस्ता स्वास्थ्य सामग्री त्रिभुवन विमानस्थलमा अवतरण गराईएका छन्।
बेलायत सरकारले नेपाललाई सहयोगका रुपमा दिएका भेन्टिलेटर, फेससिल्ड लगायत स्वास्थ्य सामग्री पनि काठमाडौं आईपुगेका छन्।
संयुक्त राष्ट्रसंघले नेपाललाई सहयोग स्वरुप भारतबाट ल्याईएको कोभ्याक्सको दोस्रो चरणको खोप अर्को वर्ष नभई प्रदान गर्न नसक्ने भएको छ। यसको कारण मार्च ७ र १५ को बिचमा प्रथम खोप लगाएका ६४ वर्ष भन्दा माथिका जेष्ठ नागरिक अलपत्र परेका छन्।
कतिपय स्थानीय प्रशासनले स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयसँग आफैं खोप किन्ने अनुमति मागिरहेका छन्।
यो पनि पढ्नुहोस्

कोभिड-१९: अस्ट्रेलियाद्वारा नेपाललाई ७० लाख डलरको सहायता घोषणा
हाल निषेधाज्ञाका कारण धेरै नेपाली कामदार विदेश जान पाईरहेका छैनन्।
चार्टर उडानको महङ्गो महसुलको कारण कामदारहरु मारमा परेका हुनाले, सरकारले मंगलबारदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुल्ला राख्ने भएको छ।
कोरोनाको समस्याबीच देशभर हिंसात्मक गतिविधि पनि बढेका छन्।
भेरि अस्पतालमा स्वास्थ्यकर्मीले आफूमाथी कुटपिट भएको घटनाको विरोधमा परिसरभित्रै आन्दोलन गरेका छन्।
अस्पतालका प्रमुख फिजिसियन डा. राजन पाण्डे भन्छन्, "शारिरिक हमला भएर तीनजना नर्स र डाक्टर छतबाट हाम फाल्न पर्ने अवस्था आयो र तोडफोड पनि भयो। हाम्रो माग अनुसार, जो अपराधी हो, उसलाई अरुको ज्यान मार्ने उद्योगमा तुरुन्तै पक्रेर कारवाही गर्नुपर्यो अनि सरकारले हामीले माग गरिराखेको नारा बमोजिम न्याय दिनुपर्यो।"
अघिल्लो दिन एकजना कोभिड सङ्क्रमितको मृत्यु भएपछि उनका आफन्तले स्वास्थकर्मीमाथि हातपात गरेका थिए।
हातपात गर्नेहरु एमालेका कार्यकर्ता रहेको समेत खुलेको छ। यस घटनाको बिरोधमा स्वास्थ्य मन्त्रालय पनि एक प्रेस विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मीहरुलाई उचित वातावरण बनाईदिन सबैलाई आग्रह गरेको छ।
कोङिडको महामारीका बीचमा बिरामीहरूमा भारतका विभिन्न गर्मी ठाउँमा जस्तै ब्ल्याक फङ्गस लागेको समेत पुष्टी भएको छ।

संसद विघटनको बारेमा अदालतमा सुनुवाई
राष्ट्रपती विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै परेका रिटमा शुक्राबारदेखि संवैधानिक ईजलासमा सुनुवाई भईरहेको छ।
सोमबार विपक्षी पाँच दलका १४६ सांसद संसद विघटनको विरोधमा उजुरी गर्न सर्वोच्च अदालत गएका थिए।
संसद विघटन हुनुअघि उनीहरुले काङ्ग्रेसका शेर बहादुर देउवालाई प्रधानमन्त्रीको दावी गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए।
राष्ट्रपतिको निर्णयको विरोधमा अहिलेसम्म ३० वटा रिट दर्ता भईसकेको छन्, र सुनुवाईमा वरिष्ठ अधिवक्ता बाहेकका बहसकर्तालाई १० मिनेट समय दिईने छ।
यस कदमको चौतर्फी विरोध भइरहँदा आईतबार प्रहरीले प्रधानमन्त्री र राष्ट्रपतिको तस्विरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई पक्राउ गरेको छ। 
खनाल – नेपाल निस्कासित
सोमबार एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहित ११ जनालाई आफ्नै पार्टीले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।
प्रधानमन्त्रीले केपी ओलीले संसद विघटन गरेपछि खनाल-नेपाल समुह उनका विरोधी भएका थिए।
उनीहरुले एमालेका विपक्षी नेतासँग मिलेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि पार्टीले उनीहरुलाई निष्कासन गरेको हो।
सिंहदरबारबाटै बजेट भाषण
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेका छन्। संसदमा प्रस्ताव गर्नुपर्ने बजेट संसद विघटन भएको बेलामा अध्यादेशबाट ल्याईएपछि यसको धेरै विरोध भईरहेको छ।
यस बजेट अनुसार ज्येष्ठ नागरिकको भत्ता बढेर मासिक ४ हजार पुगेको छ, निजामती कर्मचारीको तलबमा मासिक २ हजार वृद्धि हुने भएको छ, र शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सम्म कर्जा उपलब्ध गराईने छ।
भाषणको क्रममा मन्त्री पौडेल भन्छन्, "प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनः संरचना गरि बेरोजगार व्यक्तिलाई न्युनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने छ। स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाई, भवन, पुल, नदि नियन्त्रण, वृक्षारोपण लगायत संघ, प्रदेश र स्थानीय स्तरमा आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउनुपर्ने गरि खरिद सम्झौता गर्नुपर्ने व्यवस्था मिलाईने छ।"
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ।

बाङ्ग्लादेशी चक्रवातको असर
यस हप्ता बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा हुरिबतास र वर्षा भईरहेको छ। अझै केहि दिन मौसम यस्तै रहने अनुमान गरिएको छ, र नेपालको हिमाली भेगको पर्यटन पनि प्रभावित भएको छ।
भारी हिमपातका कारण केहि दिन यता सगरमाथा आरोहण प्रभावित भएको छ, र कतिजना आरोहण गरेर फर्केकाहरु दोश्रो शिविरमै रोकिएका छन्।
खराब मौसमको कारण घाईते भएकाको उद्धार पनि गर्न सकिएको छैन र सगरमाथा बाहेक अन्य हिमालबाट पनि आरोहीहरु फर्किरहेका छन्।

वानीरा गिरीको निधन
सहित्यकार वानिरा गिरीको आईतबार निधन भएको छ। मानवतावादी र प्रकृतिवादी भनेर चिनिने गिरीले नेपाली साहित्यमा आफ्नो पृथक शैलीका कारण ख्याती कमाएकी थिईन् र २०५६ सालमा उपन्यास ‘शब्दातीत शान्तनु’ का लागि साझा पुरस्कार पाएकी थिईन्।
गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन्। ७६ वर्षकी गिरिलाई कोरोना पुष्टी भएर निजामती अस्पताल लगिएको थियो र उपचारको क्रममा हृदयघात भएको थियो।




