अस्ट्रेलियाली विश्वविद्यालयहरूमा वैदेशिक हस्तक्षेपको सम्भावना माथि ध्यान दिन मोरिशन सरकारले एक कार्यदलको स्थापना गरेको छ।
गए केही हप्ता यता अस्ट्रेलियाली आन्तरिक मामिलामा चिनिया सरकारको हस्तक्षेप बढेको भन्दै केही सांसदहरूले चिन्ता व्यक्त गरिरहँदा सुरक्षा सम्बन्धी सरकारको उक्त कदम आएको हो।
सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानका अनुसार उक्त कार्यदलले शिक्षा उद्योग भित्र साइबर सुरक्षा र बौद्धिक सम्पत्तिको सुरक्षा माथि पनि ध्यान दिनेछ।
अस्ट्रेलियालीहरू माथि लक्षित रूपमा यसप्रकारका हमला हुने क्रम बढ्दै गएको भन्दै मन्त्री टीहानले सरकारको पछिल्लो कदमले विश्वविद्यालयहरूको स्वतन्त्रतालाई प्रस्ट पार्ने बताएका छन्।
उक्त सरकारी कार्यदलमा अस्ट्रेलियाली विश्वविद्यालयहरूका साथै राष्ट्रिय सुरक्षा निकाय र शिक्षा विभागका प्रतिनिधिहरूको पनि उपस्थिति रहने छ।
यस वर्षको सुरुमा राजधानी क्यानबेरा स्थित अस्ट्रेलियन नेशनल युनिभर्सिटी र केही क्याथोलिक विश्वविद्यालयहरूमा व्यापक ह्याकिङका घटना भएको समाचारहरू आएका थिए।
तर ती साइबर हमलाका लक्ष्य र त्यसबाट के-कस्ता जानकारीहरू चोरी भएको भन्ने बारे आफूलाई थाह नभएको मन्त्री टिहानको भनाइ छ।
मोरिशन सरकारको उक्त कदमको केही सुरक्षा विज्ञहरूले स्वागत गरेका छन्।
अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट नामक अध्ययन केन्द्रका एलेक्स जोस्की भन्छन् कि यसले अस्ट्रेलियाली विश्वविद्यालय र सरकारलाई पनि भविष्यमा चालिन सकिने कदम बारे बाटो बनाउन सहयोग गर्ने छ।
साथै वैदेशिक हस्तक्षेप विरुद्ध सबै पक्षलाई मिलेर काम गर्न पनि यसले सहयोग पुराउने आफ्नो आशा रहेको उनी बताउँछन्।

शिक्षा मन्त्री ड्यान टिहानका अनुसार सरकारी कार्यदले विश्वविद्यालयहरूमा अभिव्यक्ति स्वतन्त्रताबारे पनि विद्यार्थीहरूको सर्वेक्षण गरिने छ।
विद्यार्थीहरूले आफ्नो विचार स्वतन्त्ररूपमा व्यक्त गर्न पाउनु जरुरी रहेको उनले बताए।
हंगकंगमा चीन सरकार विरोधी प्रदर्शनहरू जारी रहँदा - केही अस्ट्रेलियाली विश्वविद्यालयहरूमा पनि उक्त मामिलाका समर्थक र विरोधी पक्षहरू बिच झडप भएको समाचारहरू पनि आएका छन्।
तर त्यस्ता झडपहरू सङ्घीय सरकारको कार्यदल स्थापनाको कारण नभएको बताउँछन् युनिभर्सिटीज अस्ट्रेलिया नामक संस्थामा कार्यरत प्राध्यापक जोन डीवार।

उनका अनुसार झडपका घटनाहरूले अस्ट्रेलियाली विश्वविद्यालयहरूमा अभिव्यक्ति स्वतन्त्रता रहेको देखाउँछ ।





