अस्ट्रेलियाको निर्यातमा कच्चा फलाम र कोइला पछि तेस्रो स्थान शिक्षा क्षेत्रले ओगटेको छ।
तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा पूर्ण तय निर्भर नहुन सरोकारवालाहरूले विश्वविद्यालयहरूलाई सजग गराएका छन्।
एक स्वतन्त्र अध्ययन केन्द्रको प्रतिवेदनले अस्ट्रेलियाली विश्वविद्यालयमा बढ्दो अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई 'अस्थिर सङ्ख्या' भनेको छ।
चिनिया विद्यार्थीहरूको सङ्ख्या उच्च रहेको अवस्थामा सङ्घीय राजनीतिज्ञहरू द्वारा पनि चिनिया कम्युनिस्ट पार्टीको प्रभाव अस्ट्रेलियाली विश्वविद्यालयमा देखिएको चिन्ताहरू व्यक्त भएका छन्।
यस्ता चिन्ताहरूका बिच शिक्षा मन्त्री ड्यान टेहानले अस्ट्रेलियाका विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा धेरै निर्भर नहुन सजग गराएका छन्।
मन्त्री ड्यान टेहानले नेपाली, भारतीय, ल्याटिन अमेरिकी लगायतका विद्यार्थीहरूको उपस्थिति पनि उल्लेखनीय रहेको बताउँदै यो क्षेत्रमा विविधता रहेकोमा पनि जोड दिएका छन्।
स्काई न्युज सँग कुरा गर्दै मन्त्री टेहानले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफूले स्वागत र समर्थन गर्ने भए पनि विश्वविद्यालयहरूले भने आफू धेरै उनीहरूमा आश्रित नहुने बारे सतर्क रहनु पर्ने बताएका छन्।
"हामीले पक्कै पनि भारत बाट आउनेहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखेका छौँ। साथै, नेपालबाट पनि ठुलो सङ्ख्यामा आएका छन्।"
"यो क्षेत्रले विविधता खोज्ने गरेको छ। ल्याटिन अमेरिकाबाट पनि हामीले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको देखेका छौँ त्यसैले मलाई लाग्छ शिक्षा क्षेत्र विविधतालाई अँगाल्ने बारे सचेत छ।"
आर्थिक वर्ष २०१८-१९ मा २०१८ को डिसेम्बर अन्तिमसम्ममा नेपाली १९ हजार ६ सय ८४ विद्यार्थीहरूले अस्ट्रेलिया आउन भिसा आवेदन हालेका थिए।

अघिल्लो वर्ष अर्थात् २०१७ को सोही समयमा ११ हजार ७ सय ६१ जनाले मात्र आवेदन हालेकोमा ६७.४ % को वृद्धिका साथ नेपाल सबैभन्दा बढी आवेदन हालिने राष्ट्रहरूमा तेस्रो स्थानमा रहेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ।
दोस्रो स्थानमा रहेको भारतीय विद्यार्थीको आवेदन सङ्ख्या आर्थिक वर्ष २०१७-१८ मा ३९ हजार ६ सय ७८ रहेको छ।
अघिल्लो आर्थिक वर्षमा जस्तै अस्ट्रेलियामा अध्ययनको सिलसिलामा आउने चिनिया विद्यार्थीहरूको सङ्ख्या आर्थिक वर्ष २०१८-१९ मा पनि सबैभन्दा उच्च अर्थात् ४२ हजार ७ सय ४९ रहँदा यस्ता चिन्ताहरू व्यक्त भएका हुन्।

त्यसमा पनि चिनिया विद्यार्थीहरूको सङ्ख्या अत्यधिक रहँदा उक्त प्रतिवेदनका लेखक साल्भाडोरे बाबोन्सले यो क्षेत्रमा चिनिया विद्यार्थीहरूले जोखिम निम्त्याउने बताएका छन्।
"अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुनु ठिक हो। तर समस्या तब आउँछ जब तपाईँ आर्थिक रूपमा उनीहरू प्रति निर्भर हुन थाल्नु हुन्छ।"
उक्त प्रतिवेदनमा चिनिया बजारसँग नजिक रहेका सात वटा विश्वविद्यालयहरूमा अध्ययन गरिएको थियो।
मेलबर्न, सिड्नी, एडिलेड र क्विन्सल्याण्ड विश्वविद्यालयका साथै ए एन यु, यु एन एस डब्लू र यु टि एस मा उक्त अध्ययन केन्द्रित रहेको थियो।
र ती सातवटै विश्वविद्यालयहरू चिनिया विद्यार्थीहरूबाट हुने आम्दानीमा धेरै नै निर्भर रहेको पाइएको थियो।
ती विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी र त्यसमा पनि चिनिया विद्यार्थीहरूको सङ्ख्या संयुक्त राज्य अमेरिकाका कुनै पनि विश्वविद्यालयमा भन्दा बढी रहेको थियो।
यो पनि पढ्नुहोस्:

अध्यागमन नीतिको चेपुवामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ५० प्रतिशत चिनिया पृष्ठभूमिकाले ओगटेका छन् भने सम्पूर्ण विद्यार्थीहरूमा १० प्रतिशत सोही राष्ट्रका रहेका छन्।
सांस्कृतिक विविधता राम्रो कुरा भए पनि यसले विश्वविद्यालयहरूलाई भने जोखिममा राख्ने प्रोफेसर बाबोन्सको भनाइ रहेको छ।
"पछिल्लो समयमा अमेरिका र चिन बिच देखिएको व्यापारिक द्वन्दले चिनिया अर्थतन्त्रमा नराम्रो दबाब सिर्जना गर्दछ र चिनिया मुद्रामा पनि, यसले गर्दा अकस्मात चिनिया विद्यार्थीहरू कम हुँदा अस्ट्रेलियाका विश्वविद्यालयहरूलाई नराम्रो झट्का पर्न सक्छ।"
अस्ट्रेलियाका विश्वविद्यालय क्षेत्रको प्रतिनिधि समूहले भने यो क्षेत्रको अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नीतिको बचाउ गरेको छ।
युनिभर्सिटीज अस्ट्रेलियाकी कट्रिना ज्याक्सनले राष्ट्रिय विश्वविद्यालय प्रणालीमा रहेको संस्कृतिलाई समृद्ध बनाउन विदेशी विद्यार्थीहरूले भूमिका खेल्ने बताएकी छन्।
"अन्तर्राष्ट्रिय शिक्षा भनेको अस्ट्रेलियाको अत्यधिक सफलताको कथा हो। ५० वर्ष देखि यसको निर्माणमा लागिएकोमा हामीले घरेलु तथा अन्तर्राष्ट्रिय विद्यार्थी दुवैको लागी शिक्षाको गुणस्तरमा वृद्धि गरेका छौँ।"
यस्तै विचार व्यक्त गर्छन् अस्ट्रेलियामा जन्मिएका विद्यार्थीहरू पनि, जो विदेशी विद्यार्थीहरूलाई यहाँ स्वागत गर्दछन्।
"मैले भेटेका प्रत्येक विदेशी विद्यार्थीहरूको आफ्नो छुट्टै व्यक्तित्व भएको पाउँछु। मलाइ उनीहरूसँग अध्ययन गर्दा निकै रमाइलो लागेको छ।"
तर पनि पछिल्लो समयमा चिनिया मूल भूमि र हंगकंग बिच आपराधिक सुपुर्दगी सन्धि हुने प्रस्तावको विरोधबाट सुरु भएको प्रदर्शनको प्रभाव अस्ट्रेलियाका विश्वविद्यालयहरूमा पनि देखिन थाले पछि चीनको प्रभावका सम्बन्धमा प्रश्न उठ्न थालेका छन्।
बेइजिङ्गको समर्थनमा भएका र्यालीहरूका सम्बन्धमा राजनीतिज्ञहरूले अस्ट्रेलियाली विश्वविद्यालयहरूमा चिनिया कम्युनिष्ट पार्टीको प्रभावलाई लिएर चिन्ता ब्यक्त गरेका छन्। P
ग्राटन इन्स्टिच्युटका कार्यक्रम निर्देशक एन्ड्रु नोर्टन भन्छन विदेशी विद्यार्थीहरू भर्ना हुने संख्यामा वृद्धि भए सँगै उनीहरुले पार्ने प्रभावमा पनि वृद्धि हुन्छ।
तर, यो भनाइ सँग बिमति ब्यक्त गर्छन युनिभर्सिटी अफ सिड्नीका विद्यार्थी नेता एब्बे।
उनका अनुसार क्याम्पसमा चिनिया मूल भूमिको राहदानी बोक्ने धेरै विद्यार्थीहरू रहेका छन् तर संचार माध्यमहरूले उनीहरूलाई एक समुहका रुपमा मात्र हेर्न नहुने बिचार ब्यक्त गर्छन।
उनले व्यक्तिगत आवाज र उनीहरुको बिचारको पनि सम्मान गर्नु पर्ने धारणा ब्यक्त गरेका छन्।
सिड्नी विश्वविद्यालयले उक्त प्रतिवेदनका बारेमा बोल्दै अस्ट्रेलियाको विदेश नीतिमा अन्तराष्ट्रिय विद्यार्थीहरूले अहम भूमिका निर्वाह गर्ने बताएको छ।
विश्वविद्यालयमा विविधतालाई प्रोत्साहन गर्न विद्यार्थी संख्यालाई मध्यनजर गर्दै भिन्न क्षेत्रका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गराइने जनाएको छ।




