थप दुई स्थानीय सङ्क्रमणहरूको पुष्टि गर्दै भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मेलिनोले आगामी बिहीबार रातीबाट हाल राज्यमा जारी प्रतिबन्धहरू खुकुलो हुने सङ्केत गरेका छन्।
विगत केही दिन यतादेखि प्रधानमन्त्री स्कट मोरिसनले मेलबर्नमा जारी लकडाउन हट्नुपर्ने बताउँदै गर्दा भिक्टोरियाली सरकार प्रमुखको उक्त भनाई आएको हो।
उता, सिड्नी बोल्दै मोरिसनले मङ्गलवार सार्वजनिक भएको स्थानीय सङ्क्रमणका आँकडाबाट आफू उत्साहित बनेको बताएका छन्।
उनी भन्छन् कि अस्ट्रेलियाको आर्थिक सुदृढीकरण "अनुपातिक" प्रतिक्रियाबाट मात्र सम्भव छ।
"म मेलबर्नमा छिटो भन्दा छिटो र सुरक्षित रूपमा सकेको प्रतिबन्ध हटेको हेर्न चहान्छु भन्ने कुरा म लुकाउँदिन," उनले सिड्नीमा भने।
"आजका केस सङ्ख्या, मेरो बिचारमा निकै स्वागत योग्य छन् र यसले मेलबर्नवासीहरूलाई उत्साहित बनाएको बारे म विश्वस्त छु।"
साथै प्रधानमन्त्रीले लकडाउन जस्ता प्रतिक्रिया छोटो समयका लागि र लक्षित हुनुपर्नेमा जोड दिए।
अघिल्लो महिनादेखि सामुदायिक सङ्क्रमणका घटनाहरू फेरी देखिन थालेपछि भिक्टोरियामा मे २७ रातीदेखि चौथो लकडाउन घोषणा गरिएको थियो।
रिजनल भिक्टोरियामा गत बिहीवारदेखि प्रतिबन्धहरू खुकुलो गरिएयता पनि राजधानी मेलबर्नमा लकडाउन थप एक साताका लागि थप्ने निर्णय राज्य सरकारले गरेको थियो।
डेल्टा भेरिएन्टको सम्भावित स्रोत पत्ता लाग्यो
भिक्टोरियाली कन्ट्याक्ट ट्रेसिङ गर्ने अधिकारीहरूले मेलबर्नमा देखा परेको डेल्टा भेरिएन्टको सम्भावित स्रोत पत्ता लगाएको कार्यवाहक प्रिमियर मेलिनोले बताएका छन्।
उनका अनुसार मानवीय सम्बन्धहरू पहिल्याउँदै भाइरसको फैलावट र स्रोत पत्ता लगाउने कार्यमा लागेका भिक्टोरियाली कन्ट्याक्ट ट्रेसरहरूले निकै उत्कृष्ट काम गरेको भन्दै धन्यवाद दिए।
जेम्स मेलिनो भन्छन् कि जिनोमिक लिङ्क भेटिए पनि फैलावट कसरी भयो भनेर स्पष्ट जानकारी हाल उपलब्ध भइसकेको छैन।
"म आज यो पुष्टि गर्न सक्छु कि हामीले मेलबर्न फर्केर होटेल क्वारेन्टिनमा समय व्यथित गरेका एक यात्रु र हाल (पश्चिमी मेलबर्नमा जारी) क्लस्टरको भाइरस बिच वंशाणुगत सम्बन्ध भेटिएको छ," उनले भने।
"ती फर्केर आएका यात्रु र सङ्क्रमित परिवार बिच कुनै सम्बन्ध स्थापित छ कि भनेर थप अनुसन्धान हाल जारी नै रहेका छन्।"
अस्ट्रेलियामा सामुदायिक स्तरमा देखिएको डेल्टा भेरिएन्टका सम्भावित स्रोत मानिएका ती व्यक्ती मे महिनाको ८ तारिकमा श्रीलङ्काबाट आएको बताइएको छ।
भिक्टोरियाका कार्यवाहक प्रहरी मन्त्री ड्यान्नी पियरसनले उक्त जानकारी दिएका हुन्।
मन्त्री पियरसन भन्छन् कि ती व्यक्तिलाई नोभोटेल आइबिस क्वारेन्टिन होटेलबाट होलिडे इन हेल्थ होटेलमा १४ मेका दिन स्थानान्तरण गरिएको थियो।
"यी मानिस आएको विमानमा हवाई सेवाका कर्मचारी सहित २४ जना सवार थिए र सबै यात्रुहरूको परीक्षण गर्दा उनीहरू सबैको नतिजा नेगेटिभ आएको थियो," ड्यानी पियरसनले भने।
"उनलाई होटेलसम्म ल्याउन प्रयोग भएको स्काइबसका सबै कर्मचारीको परीक्षण नतिजा नेगेटिभ नै आएको थियो।"
पियरसनका अनुसार योसँगै मे महिनाको ८ र ९ तारिकमा आइबिस होटेलमा कार्यरत क्वारेन्टिन भिक्टोरियाका २६८ कर्मचारी र हेल्थ होटेलमा काम गरेका ३६० जना थप कर्मचारीहरू पनि सङ्क्रमित भएका थिएनन्।
साथै ती दुई होटेलमा काम गर्ने क्वारेन्टिन भिक्टोरिया अन्तर्गतका सबै कर्मचारीहरूले कोभिड-१९ का खोप लगाइसकेको पनि उनले पुष्टि गरेका छन्।
कार्यवाहक प्रहरी मन्त्रीका अनुसार ती सम्पूर्ण कर्मचारीहरूलाई मे महिनाको ३ तारिकसम्ममा खोप लगाइसकिएको थियो।
डेल्टा भेरिएन्ट कसरी फैलियो त?

भिक्टोरियाका उप-स्वास्थ्य अधिकारी प्रोफेसर एलेन चेङले आफूहरू मेलबर्नमा कोरोनाभाइरसको डेल्टा संस्करण कसरी फैलियो भनेर चार मुख्य सिद्धान्तहरूमा काम गरिरहेको बताएका छन्।
चेङका अनुसार पहिलो सम्भावनाका रूपमा ती मानिस आएको विमानका अन्य कुनै यात्रुबाट सङ्क्रमण समुदायमा भित्रिएको हुनसक्छ।
दोस्रो सम्भावनाका रूपमा होटेल क्वारेन्टिनबाट बिदा भइसकेपछि श्रीलङ्काबाट आएका ती व्यक्तिले समुदायमा भाइरस फैलाएको हुनसक्छ।

तेस्रो सम्भावना भने ती यात्रुलाई मेलबर्न विमानस्थलबाट आइबिस होटेलसम्म ल्याइपुर्याउँदा कुनै कर्मचारी सङ्क्रमित भएको हुन सक्छन् जसबाट डेल्टा भेरिएन्टको सामुदायिक सङ्क्रमण सुरु भयो।
चौथो र अन्तिम सम्भावनाको कुरा गर्दै डा एलेन चेङले भने कि उक्त भाइरस होटेल क्वारेन्टिनमा बसेका अन्य कुनै यात्रु पहिले सङ्क्रमित हुन पुगे र उनी छुटेपछि सामुदायिक सङ्क्रमण सुरु भयो।
हाल भिक्टोरियाली अधिकारीहरूले यी सबै सम्भावनाहरू बारे अनुसन्धान जारी राखेको पनि उनको भनाइ थियो।
