नेपाल प्रहरीका प्रवक्ताका विश्वराज पोखरेलका अनुसार, काठमाण्डूको घट्टेकुलो, सुकेधारा र काठमाण्डू भन्दा केही बाहिर रहेको नागढुंगामा हिजो ती विस्फोटका घटनाहरू घटेका हुन्।
“घाइतेहरुको काठमाण्डूका दुई अस्पतालमा उपचार भइरहेको छ।"
"हामी सबै घटनाहरूको अनुसन्धान गर्दैछौं र सुरक्षा बढाएका छौँ," उनले बताए।
पोखरेलका अनुसार, अहिलेसम्म प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ।

कान्तिपुरका अनुसार सुकेधाराको ढलान पुल नजिक बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। घाइते मध्ये एक जनाको उपचार हुँदा हुँदै राति मृत्यु भएको पनि प्रहरीले बताएको छ।
त्यसै गरी घट्टेकुलो/अनामनगरमा सिलिन्डर बम विस्फोटमा परी एक मृत्यु हुनेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी भएको छ पनि कान्तिपुरले लेखेको छ।
नागढुंगाको घटनामा भने दुईजनाले मोटरसाइकलमा बोकेर हिँडिरहेको विस्फोटक पर्दाथ पड्किदा उनीहरू घाइते भएका बताइएको छ।
एक हप्ता अघि प्रहरी कारबाहीमा आफ्नो एक कार्यकर्ताको मृत्यु भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको आम हडतालको पूर्वसन्ध्यामा यी विस्फोटका घटनाहरू भएका हुन् ।

