SKIP TO MAIN CONTENT

कोरोना सङ्कटसँग लड्न न्यु साउथ वेल्सद्वारा २.३ अर्व डलरको राहत घोषणा

प्रिमियर ग्लाडिस बेरीजिक्लियन र स्वास्थ्य मन्त्री ब्राड हाजार्डले मङ्गलवार बिहान संयुक्त रूपमा गरेको घोषणा अनुसार २.३ अर्व डलरको विशेष राहत प्याकेजमा चिकित्सकीय कार्यका लागि ७० करोड र अर्थतन्त्रलाई टेवा दिन १.६ अर्व डलर खर्चने छ।

NSW Premier Gladys Berejiklian.
NSW Premier Gladys Berejiklian. Source: AAP

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्स राज्य सरकारले कोरोनाभाइरसद्वारा उत्पन्न सङ्कटलाई सम्बोधन गर्ने क्रममा ७० करोड डलर गहन उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि, आवश्यक चिकित्सकीय उपकरणहरूको खरिद र श्वासप्रश्वासका गम्भीर बिरामीहरू उपचार गर्न मिल्ने क्लिनिक स्थापनार्थ विनियोजन गरेको बताएको छ।

यसका अतिरिक्त राज्य सरकारले अस्पतालहरूमा कोरोनाभाइरसका थप शङ्कास्पद बिरामीहरू जाँच एवं थप भेन्टिलेटरहरू खरिद गर्न र ऐच्छिक शल्क्रियाहरूलाई निजी अस्पतालहरूको सहयोगमा द्रुत गतिमा अगाडी बढाउन पनि उक्त राहत प्याकेज अन्तरगत काम हुने बताएको छ।

“हाम्रो पहिलो प्राथमिकता भनेको यहाँ बस्ने मानिसहरूको स्वास्थ्य र रोजगारी सुरक्षित राख्नु हो,” बेरिजिक्लियनले भनिन्।

यसै गरी १ करोड डलरसम्मको कारोबार गर्ने व्यापार व्यवसायहरूको पेरोल कर चालू २०१९/२० आर्थिक वर्षका निमित्त छुट दिइने पनि बताइएको छ। एक अनुमान अनुसार यस कार्यले राज्यलाई करिब ४५ करोड डलरको घाटा सहनु पर्नेछ।

घोषणा अनुसार, न्यु साउथ वेल्स राज्यभर रहेका क्याफे, बार, रेस्टुरेन्ट र बिजुली, प्लम्बिङ्ग, काठ सम्बन्धी उद्योगमा काम गर्ने ट्रेड्समेनले साधारणतया तिर्ने शुल्कहरू पनि मिनाहा हुने सरकारले बताएको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार न्यु साउथ वेल्समा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आउने दिनहरूमा उल्लेखनीय रूपमा बढ्न सक्नेछ।

“म सबैलाई तयार भएर बस्न भन्छु। यो यसै लापरवाह भएर अथवा मलाई यसले कुनै असर गर्दैन भनेर बस्ने समय होइन,” उनले भनिन्।

कोरोनाभाइरस फैलनबाट रोक्न जारी गरिएका निर्देशनहरूको पालना नगरेको पाइएमा न्यु साउथ वेल्स राज्यमा मानिसहरूका साथै सङ्घ-संस्थाहरूलाई जेल सजायका साथै ११,००० डलरसम्म जरिवाना हुने बताइएको छ।

न्यु साउथ वेल्स राज्यमा पछिल्लो तथ्याङ्क अनुसार १७१ जना कोरोनाभाइरसद्वारा सङ्क्रमित भएका छन् जुन अस्ट्रेलियाका अन्य राज्यहरूको तुलनामा सबैभन्दा बढी हो।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now