भिक्टोरियामा एकै दिन कोरोनाभाइरसको २३ नयाँ बिरामी भेटिए

गए राती मात्र भिक्टोरियामा कोरोनाभाइरसका २३ नयाँ बिरामी भेटिए पछि उक्त राज्यमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ९४ पुगेको छ।

Victorian Premier Daniel Andrews

Victorian Premier Daniel Andrews Source: AAP

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले ती २३ बिरामी कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि गर्दै टूरक प्राथमिक विद्यालयमा पनि एक सङ्क्रमित मानिस भेटिएपछि बन्द गरिएको बताए।

भिक्टोरियामा स्कुल बन्द गर्न हालसम्म कुनै निर्देशन जारी नगरिए पनि बालाराट ग्रामर, केरी ब्याप्टिस्ट, लोरेटो म्यान्डेभिल हल, सेन्ट केभिनस् र येशिभा बेथ रिभ्काह कलेज लगायतका केही निजी विद्यालयहरूले आफ्नो ढोका बन्द गर्ने निर्णय गरिसकेका छन्।

भिक्टोरियाका प्रमुख चिकित्सकीय अधिकृत ब्रेट सटनका अनुसार बाल-बालिकालाई कोरोनाभाइरसले धेरै प्रभावित नगर्ने देखिएकाले हाल विद्यालयहरू बन्द गरिहाल्न नपरेको हो।

यसका अलावा विद्यालय बन्द हुँदा हाल अत्यावश्यक मानिएको स्वास्थ्य तथा आपत्कालीन सेवामा कार्यरत मानिसहरू आ-आफ्ना बाल-बालिका हेर्न घरमै बस्नुपर्ने भएकाले पनि स्कूलहरू सुचारु राख्न खोजिएको उनले बताए।

भिक्टोरियाका केही विश्वविद्यालयहरूले भने आफ्ना कक्षाहरू सुचारु राख्न प्रविधिको सहयोग लिन थालेका छन्।

ला ट्रोब, मोन्याश र स्विनबर्नले सोमवार राति नै आफूहरूद्वारा सञ्चालित पठनपाठनको कार्य अनलाइनमा रूपान्तरण गर्न मङ्गलवारदेखि लागू हुने गरी यो हप्ताको आखिरीसम्म स्थगित हुने बताएका छन्।

कोरोनाभाइरस सङ्कटसँग लड्न भिक्टोरियामा सोमवारदेखि सङ्कटकाल लगाइएको छ।

भिक्टोरियाको स्वास्थ्य कानुन अन्तर्गत रहेको अधिकार प्रयोग गरी उक्त सङ्कटकाल सोमवार मध्यान्हदेखि लागू हुने गरी घोषणा गरिएको हो।

भिक्टोरियाली कानुन अनुसार स्वास्थ्य अधिकारीहरू निर्देशन पालना नगरिएको पाइएमा २०,००० डलर जरिवाना हुने बताइएको छ।

हाल चार हप्ताका लागि भनेर सङ्कटकाल घोषणा गरिएको भए पनि प्रिमियर एन्ड्रुजका अनुसार अवस्था हेरेर उक्त अवधि थप हुन सक्नेछ।

सङ्कटकालीन अधिकारहरूको प्रयोग गर्दै अधिकारीहरूले सर्वसाधारण मानिसहरूलाई हिरासतमा लिन, परेको खण्डमा चहलपहलमा रोक लगाउन र केही परिसरहरूको प्रवेशमा प्रतिबन्ध लगाउन सक्नेछन्।

आइतबार प्रधानमन्त्री स्कट मरिसनले विदेशबाट अस्ट्रेलिया आउने सबै आगन्तुकहरूले गए मध्यरातबाट लागू हुने गरी १४ दिने सेल्फ आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने उर्दी जारी गरेका थिए।

Patients line up at the Royal Melbourne Hospital for Coronavirus testing. Tuesday, 10 March, 2020.
Patients line up at the Royal Melbourne Hospital for Coronavirus testing. Tuesday, 10 March, 2020. Source: AAP

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now