कुशलकुमार लिम्बू र नेत्रबहादुर रानासँगको हाम्रो कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्
राइफल म्यान कुशलकुमार लिम्बूले २ स्वर्ण तथा २ रजत पदक प्राप्त गर्न सफल भएका छन् भने लान्स कर्पोरल नेत्रबहादुर रानाले १ रजत प्राप्त गरेका छन्।
राना तथा लिम्बू , ७२ सदस्य भएको ब्रिटिश सेनाको (भूतपूर्व सहितको) टोलीमा सम्मिलित हुँदै इन्भिक्टस खेलहरूमा भाग लिन सिड्नी आएका हुन्। यसअघि सन् २०१४, २०१६ तथा २०१७ मा भएका इन्भिक्टस खेलहरूका तिन वटै संस्करणहरूमा पनि राना तथा लिम्बुले आफ्नो सहभागिता जनाइसकेका छन्।

रोयल गोर्खा राइफल्स पहिलो बटालियनका रानाले सिटिङ्ग भलिबल अन्तर्गतको खेलमा उक्त रजत पदक प्राप्त गरेका हुन्।
त्यसै गरी रोयल गोर्खा राइफल्स दोश्रो बटालियनका लिम्बुले अगि भर्खरै भएको पुरुषहरूको आईटी एक श्रेणीको १०० मिटर दौडमा स्वर्ण पदक जितेका छन्। यस अगि उनले हिजो भएको पुरुषहरूको आईटी एक श्रेणीको २०० मिटर दौडमा पनि पहिलो हुँदै १ स्वर्ण पदक प्राप्त गरेका थिए भने सिटिङ्ग भलिबलमा एक रजत हात पार्न सफल रहेका थिए।
२०१४ मा दिएको एक अन्तर्वाताका क्रममा लिम्बुले आफूलाई दौडन एकदमै मन लाग्ने बताउँदै भनेका थिए, "मलाई दौडिन असाध्यै मन पर्छ। कलेजमा हुँदा त मा निकै तेज भाग्थे तर आफू सपाङ्ग हुँदा कहिले पनि प्रतिस्पर्धात्मक दौडमा भाग लिने मौका नै जुरेन।"
आईटी एक श्रेणीमा भाग लिने प्रतिस्पर्धीहरूको एक वा दुवै खुट्टामा घुँडा मुनि अंगच्छेद भए बराबरको चोट लागेको हुन्छ।

लिम्बू तथा रानाले कसरी खुट्टा गुमाए?
सन् २००८ को नोभेम्बर महिनामा अफगानिस्तान स्थित मूसा काला भन्ने ठाउँमा खटिएका बेला लिम्बू चढेको बख्तरबन्द गाडीले एक अत्याधुनिक विस्फोटक उपकरणलाई छोएपछि उक्त विस्फोटक पदार्थ पड्कियो र उनी गम्भीर घाइते भए जसमा उनको दुवै खुट्टाका घुँडा मुनिका भाग नराम्ररी अंगभंग भयो। उपचारका क्रममा उनले आफ्नो घुँडामुनिका भाग गुमाउन पुगे र ब्रिटिश सेनाबाट सेवा निवृत्त भए।

अहिले कृत्रिम खुट्टा लगाएर हिँडडुल गर्ने लिम्बू , "हेल्प फर हिरोज" भन्ने परोपकारी संस्थामा क्रियाशील छन्।
लान्स कर्पोरल नेत्रबहादुर राना पनि लिम्बू जस्तै अफगानिस्तान मै अत्याधुनिक विस्फोटक उपकरण पड्केर घाइते भएका ब्रिटिश सैनिक हुन्। सन् २००८ को "अपरेसन हेर्रिक ७" मा सरिक भएको बखत उनले आफ्नो देब्रे खुट्टाको घुँडादेखि तलको भाग गुमाउन पुगे। लामो समयसम्म उपचार गरेर उनी भने अहिले स्वास्थ्य लाभ गर्दै पुन: रोयल गोर्खा राइफल्स पहिलो बटालियनको मुख्यालयमा एक हुलाक कर्मचारीको रूपमा सेवारत छन्।
इन्भिक्टस खेलहरू कसरी सुरु भयो ?
सन् २०१३ मा वारियर खेलहरूको अवलोकन गर्न अमेरिका पुगेपछि बेलायती राजकुमार ह्यारीलाई खेलकुदद्वारा घाइते तथा बिरामी सैनिकहरूमा सकारात्मक प्रभाव पार्न सकिने रहेछ भन्ने भावना उप्त्पन्न भयो। अनि बेलायत फर्केर त्यहाँ पनि त्यस्तै कार्यक्रम सञ्चालन गर्ने सङ्कल्प गरे।

त्यसै अनरुपले सन् २०१४ मा पहिलो इन्भिक्टस खेलहरू लण्डन स्थित महारानी एलिजाबेथ ओलम्पिक पार्कमा १४ राष्ट्रका ४०० भन्दा बढी प्रतिस्पर्धीहरूका साथ आयोजना भएको थियो।
त्यसपछि सन् २०१६ मा अमेरिकाको ओर्ल्याण्डो, २०१७ मा क्यानडाको टोरोण्टोमा इन्भिक्टस खेलहरू सफलता पूर्वक आयोजना भईसकेकाछन्। अहिले सिड्नीमा जारी रहेको यस प्रतियोगिताको चौथो संस्करण पछि अब सन् २०२० मा होल्याण्डको रोट्टर्ड्याम तथा हेगमा आयोजना हुने कार्यक्रम छ।
