अध्यागमन, नागरिकता, आप्रवासन सेवा तथा बहु सांस्कृतिक मामिलाका कार्यवाहक मन्त्री एलन टजले अन्तर्राष्ट्रिय विद्यार्थी, पर्यटक तथा अन्य छोटो अवधिका भिसा लिएर बसेकाहरूलाई सरकारले आर्थिक सहयोग गर्न नसक्ने भन्दै प्रधानमन्त्री कै भनाइलाई दोहोर्याएका छन्।
शुक्रबार प्रधानमन्त्री स्कट मोरिसनले सरकार अस्ट्रेलियाका स्थायी बासी र नागरिकहरूको हितका लागी केन्द्रित रहेको भन्दै अस्थायी भिसामा रहेकाहरूलाई आफ्नो देशमा फर्कनु नै उत्तम उपाय हुने बताएका थिए।
प्रेस वक्तव्यमा मन्त्री टजले विद्यार्थी भिसामा रहेकाहरूले भिसा आवेदन हाल्दा नै आफू एक वर्ष सम्मका लागी आर्थिक रूपमा सबल रहेको देखाउनु पर्ने नियम रहेको भन्दै अस्ट्रेलिया बसाइको पहिलो वर्ष अन्तर्गत रहेकाहरू बाट सोही किसिमको अपेक्षा गरिने बताएका छन्।
तर पनि उनले सरकारले अवस्थाको मध्यनजर गर्दै अहिले २१ लाख ७० हजारको सङ्ख्यामा रहेका अस्थायी भिसाधारीहरूका लागी पनि केही व्यवस्थाहरूमा परिवर्तन गरिने बताएका छन्।

अस्ट्रेलियालीहरूको स्वास्थ्य र जीवन रक्षा, अत्यावश्यक क्षेत्रहरूको संरक्षण र कोरोना भाइरस सङ्क्रमण पश्चात् पहिले कै अवस्थामा फर्किने अवस्था सिर्जना गर्न सरकारले केही व्यवस्थामा फेरबदल गरेको बताएका हुन्।
कार्यवाहक अध्यागमन मन्त्री एलन टज उल्लेख गरेका व्यवस्था फेरबदलमा कुन भिसाका लागी के व्यवस्था गरिएको छ त?
अन्तर्राष्ट्रिय विद्यार्थी:
प्रधान मन्त्री स्कट मोरिसनको भनाइकै समर्थन गर्दै मन्त्री टजले अस्ट्रेलिया आएको पहिलो वर्षमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आर्थिक रूपमा गाह्रो भयो भन्ने कुरा सरकारी अपेक्षा विपरीत हुने बताएका छन्।
अस्ट्रेलियामा हाल ५ लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू रहेकोमा उनीहरूलाई परिवारबाट सहयोग लिने, आफूसँग भएको बचतले गर्जो टार्ने र पार्ट टाइम काम भए त्यसले गुजारा गर्न भनिएको छ।

जो विद्यार्थीले अस्ट्रेलियामा एक वर्ष बढी बिताएका छन् र आर्थिक रूपमा गाह्रो परेको छ उनीहरूले भने आफ्नो अस्ट्रेलियन सुपरएनुएसन निकाल्न पाउने छन्।
मन्त्री टजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियाको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको र २ लाख ४० हजार रोजगारीहरूमा सहयोग गरेको भन्दै सरकारले भिसाका केही व्यवस्थाहरूलाई लिएर सरकार लचिलो बन्न सक्ने बताएका छन्।
साथै उनले केही शैक्षिक संस्थाहरूले विध्यार्थिहरूको शिक्षा शुल्कमा सहुलियत प्रदान गरेको आफूहरूले जानकारी पाएको भन्दै सरकार त्यस्ता अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग थप सहकार्य गर्न तयार रहेको पनि बताएका छन्।
उनले वृद्ध स्याहार केन्द्रमा काम गर्ने, नर्सहरू तथा सुपर मार्केटमा काम गर्ने विद्यार्थीहरूका लागी उनीहरूले काम गर्न पाउने समयको पाबन्दीलाई हटाइएकोमा पनि जोड दिएका छन्।
तर सुपर मार्केटमा काम गर्ने विद्यार्थीहरूको काम गर्न पाउने समय घटाएर मे १ देखि भने पुनः हप्ताको २० घण्टामा नै सीमित गरिने भएको छ।
त्यस्ता काममा अस्ट्रेलियालीहरूले नै काम गर्न थालेको भन्दै विद्यार्थीहरूका लागी उपलब्ध गराइएको सो व्यवस्था हटाउन लागिएको वक्तव्यमा उल्लेख गरिएको छ।

अस्थायी सिपयुक्त भिसा :
अस्थायी सीपयुक्त भिसामा रहेका १ लाख ३९ हजार को सङ्ख्यामा रहेका र २ वा ४ बर्से प्रायोजन भिसामा बसेकाहरूलाई अहिलेको अवस्थामा पनि रिक्त स्थानहरूमा उपयोग गर्न सकिने जनाइएको छ।
तर यो सङ्क्रमणका कारण केही समयका लागी काममा जानु नपर्ने भनिएका तर जागिरबाट ननिकालिएका हरूलाई उनीहरूको भिसा व्यवस्थामा निश्चित घण्टा काम गर्नै पर्ने वाध्यात्मक परिस्थिति लागू हुने छैन।
त्यसको अर्थ काम नगरिएको बिचको समयमा पनि उनीहरूको भिसा कायम रहने छ।
र कामदारहरूलाई प्रायोजन गरेका व्यवसायहरूले पनि आफ्नो आवश्यकता अनुसार उनीहरूको काम गर्ने समयावधि घटाउन सक्ने छन् तर त्यसले भिसामा असर पार्ने छैन।

यस्ता भिसामा रहेकाहरूले पनि आर्थिक रूपमा सङ्घर्ष गरिरहेको भए आफ्नो सुपर अकाउन्ट बाट १० हजार डलर निकाल्न पाउने छन्।
प्रायोजन कम्पनीले जागिरबाट निकालेका अस्थायी सीपयुक्त भिसामा रहेकाहरूले भने अर्को प्रायोजक नभेटे भिसा सकिन्छ र देश नै फर्किनु पर्ने हुन्छ।
तर यो व्यवस्थामा ४ वर्षको स्पोन्सरशिपमा रहेका कामदारलाई अहिले काम बाट निकाले पनि सङ्क्रमण पश्चात् यदि सोही प्रायोजक कम्पनीले पुनः बोलाएमा पहिले काम गरेको समय पनि स्थायी भिसा (पिआर) पाउनका लागी जोडिनेछ।
वर्किङ्ग होलिडे भिसा:
काम पनि गर्न पाउने गरी घुम्न आएकाहरूका सम्बन्धमा मन्त्री टजले उनीहरूको आवश्यकता हेरेर भिसा व्यवस्थामा लचकता अपनाउन सकिने बताएका छन्।
जस्तै अहिलेका अत्यावश्यक क्षेत्रहरू अस्पताल, वृद्ध तथा अपाङ्ग स्याहार केन्द्र, कृषि, खाद्य उद्योग, बाल स्याहार लगायतमा कार्यरत यस्ता आस्था भिसा भएकाहरूका लागी पनि भिसा व्यवस्थामा केही फेरबदल गर्न सकिने छ।
उनीहरूलाई विशेष गरी ६ महिनाको लागी मात्र काम गर्न पाउने समयावधिलाई बढाउन सकिने वक्तव्यमा उल्लेख गरिएको छ।

तर अन्य अवस्थामा रहेका र आफूलाई आगामी ६ महिना सम्म आर्थिक रूपमा धान्न सक्ने आत्मविश्वास नहुने यस्तो भिसामा रहेकाहरूले आफ्नो देश फर्कनु उचित हुने भनिएको छ।
वक्तव्यमा न्युजिल्याण्ड बाट सहकार्य सम्झौताको ४४४ भिसा अन्तर्गत रहेकाहरूले पनि अस्ट्रेलियाको सामाजिक सुरक्षा अन्तर्गतका रकमहरू पाउन सक्नेछन् तर त्यसको लागी उनीहरू सन् २००१ को फेब्रुअरी २६ अगावै अस्ट्रेलिया आएको हुनु पर्ने छ।
त्यस्तै १ लाख ८५ हजारको सङ्ख्यामा अस्थायी भिसामा रहेकाहरूले पनि सुपरएनुएसन निकाल्न सक्नेछन्। यसरी सुपरएनुएसन निकाल्न पाउनेहरूमा पढाइ सकाएर अस्थायी भिसा (टिआर) मा बसेकाहरू पनि रहेका छन्।
