SKIP TO MAIN CONTENT

आध्यात्मिक, सामाजिक र साहित्यिक चाड तिहार

तिहार एक यस्तो चाड हो जसले प्रकृति, सुन्दरता, अध्यात्मका साथमा सामाजिक र साहित्यिक महत्त्व समेत बोकेको छ।

Nepali festival_tihar_
Source: Nepal Tourism Board

2 min read

Published

Updated

By Sunita Pokharel


Skip to article content

फुल र झिलिमिली बत्ती त तिहारको विशेषता नै भयो साथमा विभिन्न देवी देवताको पूजा र गाई, गोरु, कुकुर पूजाले गर्दा जीव अस्तित्वलाई पनि उत्तिकै सम्मान दिएको छ।

घरपालुवा जनावरलाई मात्र नभएर तिहारमा कागलाई समेत पूजा गर्ने चलन रहेको छ भने भाइ टिकाले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य राख्दछ।

अनि मनोरञ्जनका लागी देउसी भैलो।

लक्ष्मी पूजाको एक हिस्सा सरस्वतीको

तिहारको एक महत्त्वपूर्ण दिन हो लक्ष्मी पूजा जहाँ धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ। तर लक्ष्मी पूजा नेपाली समुदायमा सरस्वती स्वरूपको साहित्यिक क्षेत्रलाई नियाल्ने दिन पनि हो।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती पर्ने भएकाले हरेक वर्ष नेपाली साहित्यिक समाजका लागी लक्ष्मी पूजाले विशेष महत्त्व राख्ने गर्दछ।

विक्रम संवत् १९६६ मा लक्ष्मी पूजाका दिन जन्मिएका देवकोटाको १०१ औँ जन्म जयन्ती नेपालमा मात्र नभएर विश्वभर छरिएका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन्।

यस दिनमा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि आइतबार कविता वाचनका साथ साथै महाकवि देवकोटाका कृतिहरूलाई पनि सम्झँदै छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको न्यु साउथ वेल्स च्याप्टरका सचिव प्रवीण टन्डन सँग गरिएको कुराकानी सुन्न तलको लिङ्क क्लिक गर्नुहोस्।

तिहारका विविध पक्ष 

तिहार यस्तो चाड हो जहाँ पशु पक्षिका योगदानहरूको कदर गरिनुका साथै पारिवारिक सम्बन्ध प्रगाढ बनाउने दिन पनि हो।

भाइ टिकाका माध्यमबाट पारिवारिक सम्बन्धको महत्त्व दर्शाइन्छ भने लक्ष्मी अर्थात् धनको महत्त्वलाई लक्ष्मी पूजाका माध्यमबाट बुझाइन्छ।

तिहार भन्नासाथ झिलिमिली बत्ती भन्ने त परि नै हाल्छ यसका साथै देवी देवताको पूजा अर्चना मात्र नभएर यस अवसरमा नेपालका नेवार समुदायहरूले आफूलाई नै सम्मान दिँदै 'म्ह पूजा' अर्थात् आफ्नै पूजा गर्ने गर्दछन्।

साङ्गीतिक माहौल बनाउन समूह समूहमा घर घरमा गएर देउसी भैलो खेलिन्छ।

मनोरञ्जनका हिसाबले मात्र नभई देउसी भैलोलाई लिपि प्रयोगमा नआएको समयमा साँस्कृतिक मूल्य मान्यताका साथै इतिहासलाई कथाका माध्यमबाट एक पुस्ता बाट अर्को पुस्तासम्म हस्तान्तरण गर्ने माध्यमका रूपमा पनि लिइन्छ ।

देउसी भैलो भट्ट्याउन जान्नु पनि कला हो। अस्ट्रेलियामा रहेका केही नेपालीहरूले तिहारमा के के कुरामा नेपाल सम्झिन्छन् भन्ने साथै देउसी गाएर यसरी नेपाललाई सम्झिए।

नेपाली साहित्यका धरोहर लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीका रूपमा लक्ष्मी पूजालाई मनाउन थालिए पछि साच्चिकै अर्थमा लक्ष्मी र सरस्वतीको मिश्रण बनेको छ यो दिन।

किन नेपाली साहित्यमा लक्ष्मी प्रसाद देवकोटालाई यति सम्मान गरिन्छ ? उनको व्यक्तित्वबारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाका संस्थापक अध्यक्ष रहेका आचार्य राजन शर्मा सँग गरिएको कुराकानी सुन्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now