SKIP TO MAIN CONTENT

प्रधानमन्त्री मरिसनलाई अण्डा हान्ने महिलालाई सजाय

मे महिनामा प्रधानमन्त्री स्कट मरिसनको टाउकोमा अण्डा प्रहार गरेकी महिलालाई सजाय भएको छ।

امبر پیج هولت
Source: AAP

2 min read

Published

Updated



Skip to article content

सङ्घीय निर्वाचनको प्रचार गर्ने सिलसिलामा गत मे महिनामा कन्ट्री वुमेन्स एसोसिएसनको कन्फरेन्स स्थल पुगेका प्रधानमन्त्री स्कट मरिसन माथि अण्डा प्रहार गर्ने एम्बर हल्टलाई १८ महिनाको “कम्युनिटी करेक्संस” सजाय सुनाइएको छ।

अल्बरीको स्थानीय अदालतको उक्त निर्णयका अनुसार, २५ वर्षीया हल्टले १५० घण्टा सामुदायिक सेवामा पनि बिताउनु पर्नेछ।

आफ्नो निर्णय सुनाउने क्रममा न्यायाधीश रड्नी ब्रेण्डरले कुनै पनि नागरिक हिंसाको सिकार हुनु स्वीकार्य नरहेको बताएका थिए।

“राजनैतिक धारणा फरक छ भन्दैमा अरू माथि हातपात गर्न पाइन्न,” उनले भने।

आफ्नो सजाय बारे प्रतिक्रिया दिँदै हल्ट भनिन, “सजाय ठिक छ।”

हल्टले आफूद्वारा प्रधानमन्त्री माथि अण्डा फ्याँकेको बारे आफ्नो दोष यही महिना कबुल गरेकी थिइन्।

“मैले जे गरेँ, त्यो एकदम स्वार्थी र मूर्खतापूर्ण काम थियो।”

“यससँग सम्बन्धित सबैसँग म क्षमा याचना माग्दछु,” उनले अगाडी भनिन्।

हल्टद्वारा प्रहार गरिएको उक्त अण्डा प्रधानमन्त्री मरिसनको टाउकोमा बज्रन पुगे तापनि फुटेको थिएन।

The moment a protester allegedly attempted to crack an egg on Prime Minister Scott Morrison.
The moment a protester allegedly attempted to crack an egg on Prime Minister Scott Morrison. Source: Sky News

गाँजा बोकेको आरोप र घरेलु हिंसाको दोषी

साथै, उक्त घटनाको बखत उनीसँग गाँजा रहेको पनि हल्टले स्वीकारोक्ति दिएकी छिन्।

यसका अतिरिक्त उक्त अण्डा काण्ड हुँदा, घरेलु हिंसाको अभियोगका कारण उनी राम्रो व्यवहारमा सीमित हुनुपर्ने एक १८ महिने अवधि पुरा गर्नै लागेकी पनि खुलासा भएको छ।

उनको कानूनी टोलीका अनुसार मानसिक स्वास्थ्यका कारण “कटन अन” नामक एक लुगा पसलमा काम गर्ने हल्टले उक्त रोजगारीको अवसर पनि त्याग्दै भिक्टोरियामा रहेका आफ्ना अभिभावक कहाँ बस्न गएकी थिइन्।

तर, सरकारी वकिलका अनुसार भने एम्बर हल्टले केही योजना बनाएरै उक्त घटना घटाएको तर्क अघि सारेका थिए।

अभियोजन पक्षका अनुसार हल्टले उक्त घटनाको दिन प्रधानमन्त्रीद्वारा गरिने भ्रमण बारे रेडियोमा सुनेकी थिइन।

अनि, त्यसै अनुरूपले योजना बुन्दै अण्डा किन्न सुपरमार्केटसम्म र त्यसपछि कार्यक्रम स्थलसम्म गाडी हाँकेर पुगेकी थिइन्।

गाँजा लिएर हिँडेको आरोपमा भने सजायस्वरुप उनले ११० डलरको जरिवाना तिर्नुपर्ने निर्णय पनि अदालतले गरेकॊ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now