परिवार सम्बन्धी अध्ययन गर्ने अस्ट्रेलियन इन्स्टिच्युटको अध्ययन अनुसार वृद्ध वृद्धाहरू प्राय घरकै सदस्यहरूबाट दुर्व्यवहारको सिकार हुने गरेको देखाउने गरेको छ। त्यसमध्ये पनि त्यस्ता वृद्धाहरूको आफ्नै छोरा छोराबाट दुर्व्यवहार हुने गरेको देखिन्छ।
डा. के प्याटरसन अस्ट्रेलियाको उमेरलाई लिएर हुने भेदभाव सम्बन्धी विभागका आयुक्त हुन् र उनी भन्छिन् त्यस्ता दुर्व्यवहारहरू धेरै प्रकारका हुन्छन्।
"वृद्ध वृद्धा माथि हुने दुर्व्यवहार शारीरिक, मानसिक, आर्थिक साथै दुखका साथ भन्नु पर्छ यौन दुर्व्यवहार र बेवास्ता जुन सुकै हुन सक्छ। र हामीलाई थाहा छ कतिपयका औषधिहरू चोरिएका छन् अथवा उनीहरूलाई दिइएका छैनन्। यसका (दुर्व्यवहार) धेरै प्रकारहरू हुन्छन्।"

न्यु साउथ वेल्स राज्यको ज्येष्ठ नागरिक अधिकार सेवाका प्रमुख कार्यकारी अधिकृत रसेल वेस्टकट भन्छन् कि त्यस्ता दुर्व्यवहार लगभग १० प्रतिशत हुने गरेको छ।
आर्थिक दुर्व्यवहार सबैभन्दा धेरै देखिने गरेको दुर्व्यवहार मध्ये पर्दछ र यो मानसिक दुर्व्यवहार सँग सँगै आउने गर्दछ।
रसेल वेस्टकट भन्छन् कि परिवार भित्र सम्पत्ति र पैसा लेनदेन सँग सम्बन्धित हुने कुनै पनि समझदारीमा हस्ताक्षर सहितको लिखित प्रमाण राखिनु पर्दछ- चाहे परिवारले सो मामिलामा वकिलको प्रयोग नगर्ने निर्णय नै किन नलिउन्।
कमजोर आर्थिक अवस्था भएकाहरूका लागी निःशुल्क वा कम शुल्कमा कानुनी सहायता प्रदान गर्ने अर्थात् प्रो बोनो वकिल अलि फ्रेन्च सिड्नीको रेडफर्न कानुनी केन्द्रमा रहेको आर्थिक दुर्व्यवहार सम्बन्धी काम गर्ने समूहमा आबद्ध छन्।
र उनी भन्छन् आर्थिक दुर्व्यवहारका पीडितहरूलाई धेरै जस्तो समय आफू पीडित भएको नै थाहा हुँदैन।
डा. के प्याटरसनका अनुसार वृद्ध वृद्धा माथि दुर्व्यवहार गर्नेहरू धेरै जस्तो समयमा उनीहरूकै छोरा छोरी अथवा परिवारकै नजिकको सदस्य हुने गर्दछन्।

उनले त्यस्ता ज्येष्ठ नागरिकहरूलाई उनीहरूप्रति राम्रो व्यवहार भएको छ कि छैन भनेर थाहा पाउन केही सामान्य प्रश्नहरू सोध्न सकिन्छ।
"मेरो साथी र परिवारका सदस्यले मलाई सम्मानपूर्ण व्यवहार गर्छन्, मेरो पैसा कसरी खर्च भई राखेको छ भन्ने मलाई थाहा छ, घरमा के हुन्छ भन्ने बारे मेरो रोजाइ हुन्छ, मेरो रोजाइ अनुसार नै मेरो जीवनका सम्बन्धमा निर्णयहरू लिइन्छ, मेरो सम्पत्ति सम्बन्धी निर्णयहरू आफ्नै चाहना अनुरूप हुन्छ, मलाई मेरो औषधि कहाँ छ भन्ने बारे थाहा हुन्छ।"
यी अवस्थाहरू मध्ये कुनै एकमा पनि 'नो' वा त्यस्तो अवस्था छैन भन्ने उत्तर आयो भने आफूले विश्वास गर्ने कोही सँग कुरा गर्न प्याटरसन सल्लाह दिन्छिन्।
रसेल वेस्टकट पनि त्यस्ता पीडितहरूले आफ्ना साथी वा छिमेकी वा आफूले विश्वास गर्ने व्यक्ति सँग यसबारेमा कुरा गर्न निकै महत्त्वपूर्ण हुने बताउँछ।
अरू मान्छेहरू जो अङ्ग्रेजी भन्दा अन्य भाषाहरूको प्रयोग गर्ने पृष्ठभूमिका हुन्छन् उनीहरूका लागी पनि सोही सुझाव लागु हुन्छ।
डा. प्याटरसन भन्छिन् यदि राष्ट्रिय सहायता केन्द्रको नम्बरमा फोन गर्यो भने सहयोग तुरुन्त उपलब्ध हुन्छ।
वृद्ध वृद्धा सम्बन्धी अध्ययन गर्ने राष्ट्रिय संस्थाले गम्भीर प्रकृतिको दुर्व्यवहारको सिकार भएका ज्येष्ठ नागरिकहरू माथि एक अध्ययन गरेको थियो।
र उक्त अध्ययनका क्रममा सोधिएको प्रश्नको उत्तर दिँदै त्यस्ता व्यक्तिहरूले आफ्नो अवस्थालाई लिएर कानुनी ढोकासम्म पुग्नु नपरोस् भन्ने चाहना राखेको पाइन्छ।

के प्याटरसन समय बित्दै जाँदा ज्येष्ठ नागरिकहरूले उनीहरू एक्लै छैनन् र उनीहरूको पनि मानव अधिकार छ जसको सम्मान गरिनु पर्दछ भन्ने कुरा बुझ्नेमा आशा राखेकी छन्।
सन् २०१९ को जनवरीमा वृद्ध स्याहार सम्बन्धी अनुसन्धान गर्न गठित शाही आयोगमा बोल्दै तात्कालिक वृद्ध स्याहार मन्त्री केन वाटले वर्तमान पर्याप्त कानुनी उपचारको कमी भएको अवस्थामा परिवर्तन आवश्यक रहेको बताएका थिए।
र यसले आफ्नै निवासमा र वृद्ध स्याहार केन्द्रहरूमा रहेका वृद्ध-वृद्धाहरूलाई हानी पुर्याई रहेको उनको भनाइ थियो।
यस्ता दुर्व्यवहार अनुभव गरेकाहरूले राष्ट्रिय हेल्प लाइन नम्बर १८०० ३५३ ३७४ मा फोन गर्न सक्ने छन्। यो राष्ट्रिय नम्बर भए पनि यहीँबाट फोन गर्ने व्यक्तिको राज्य तथा टेरीटरीको हेल्प लाइन नम्बरमा जान निर्देशन गरिने छ।
