अल्जाइमर्स अस्ट्रेलियाको अनुमान अनुसार अबको लगभग ३० वर्षमा करिब १० लाख मानिसहरुमा डिमेन्सिया हुने देखिएको छ।
भिन्न पृष्ठभूमिका समुदायमा सर्बप्रथम यो रोग लागेको थाहा नपाउने र यदि यो रोगको निदान भए पनि रोगीको स्याहार सुसार र उनीहरुको आवस्यकता पुरा गर्ने किसिमले सहायता प्रदान गर्न नसक्नु झन् ठुलो समस्या बनेको छ।
सेप्टेम्बर महिनालाई डिमेन्सियाबारे जनचेतना फैलाउने महिनाको रुपमा मनाइदै छ। बृद्ध आश्रम र हेरचाह गर्ने केयर होमहरुमा यो रोगबारे बिशेष ध्यान दिइ सोहि अनुरुप हेरचाहाको प्रबन्ध मिलाइने गरेको छ। तर कतिपयले आफ्ना बृद्ध अभिभावकहरुलाई घरमै स्याहार सुसार गर्ने गरेको र बिशेष गरि अंग्रेजी भाषा नबोल्ने समुदायमा डिमेन्सियाको समस्या झन् ठुलो चुनौतीका रुपमा देखिन्छ।
रेखदेखकर्ता र स्वास्थ्य बिज्ञहरु पनि सांस्कृतिक विविधतालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिन्छन।
सिड्नीमा रजिस्टर्ड नर्सको रुपमा मार्क मोर्यान एट लीटल बे नर्सिङ्ग होममा कार्यरत सर्जु राउत देउजाले काम गर्ने सिलसिलामा यो रोगबाट गुज्रियका सयौं बिरामीहरुको स्याहार सुसार गरेकी छन्।
तर अस्ट्रेलिया आउनुपुर्व आफ्नै परिवारको सदस्यमा डिमेन्सियाको लक्षण देखिए पनि यसबारेमा केहि जानकारी नहुँदा पूर्ण हेरचाह हुन सकेन कि भन्ने आशंका ब्यक्त गर्छिन।
विभिन्न रोगहरुको कारणले मस्तिष्कमा असर पर्न गइ देखिने धेरै किसिमका लक्षणहरुको समष्टिगत नाम भनेकै डिमेन्सिया हो।
स्मरण गर्ने क्षमतामा ह्रास आउनु र यो क्रम बढ्दै जानु, भ्रम, व्यक्तित्वमा परिबर्तन, उदासिनता र कार्य गर्ने क्षमतामा कमि आउनु सामान्यतया डिमेन्सियाका लक्षणहरु हुन्।

अल्जाइमर्स अस्ट्रेलियाको ग्रामिण सेवा हेर्ने कार्यक्रमका प्रबन्धक भिन्सेन्ट पोइस्सन क्षणिक स्मरण गुमाउनु धेरै जसो अवस्था यो रोगको प्रारम्भिक लक्षण हुने गरेको बताउछन।
यो रोगबाट प्रभावितहरुमा छोटो अवधिकाभरिका कुराहरुमा ५ मिनेट देखि एक दिन नै सम्झन गार्हो हुन सक्छ, यससंगै उनीहरुको वक्तित्वमा आएको परिवर्तनलाई बुझ्न र त्यसलाई ब्यबस्थापन गर्न परिवारका सदस्यलाई गाह्रो हुने भिन्सेन्टको भनाइ रहेको छ। तर त्यसो भन्दैमा दैनिकीमा कहिले काहीं बिर्सनु नै डिमेन्सिया नहुनेमा उनि जोड दिन्छन ।
"हामीले यहाँ कसैले चाबी बिर्सने गरेकोबारे कुरा गरेको होइन, हामी कुरा गरिरहेका छौ त्यस्तो व्यक्तिको जसले बारम्बार सामानहरु रहेको ठाउँ, मानिसहरुको नाम बिर्सन्छ र त्यसले उनीहरुको दैनिकीलाई असर पार्दछ।"
५ वर्षदेखि नर्सको रुपमा काम गरेकी सर्जुले धेरै जटिल वक्तित्व भएका डिमेन्सियाका बिरामीहरुलाई सोहि किसिमको हेरचाह प्रबन्ध मिलायर उनीहरुको असल व्यक्तिव यथावत राखेको अनुभव संगालेकि छन्। तर यससंगै नेपालमा यो रोग बारे जानकारी नहुँदा आफ्नै हजुरआमाको व्यक्तित्व बिकासमा योगदान दिन नसकेकोमा भने खेद व्यक्त गर्छिन।
हजुरआमालाई अहिले गुमाइसकेको भए पनि सर्जुसंग हजुरआमाको अरुको सामानहरु लिने र लुकाउने बानीले गर्दा परिवारमा उक्त व्यबहार प्रति लाज संगसंगै कतिपय समयमा रिस पनि ब्यक्त गर्ने गरेको सम्झना भने ताजै छ।
"कतिपय मान्छेहरुले यो पागल भयो यस्तो भयो उस्तो भयो भन्ने गर्थे हामीलाई त्यो सुन्दाखेरी नराम्रो लाग्थ्यो हामी हजुरआमासंग हामी रिसाउँथेउँ। "
सर्जु राउत देउजा डिमेन्सियाको डाइग्नोसिस नहुँदा नेपाली समुदायमा अझै पनि यो रोगबारे गलत धारणा रहेको र रोगीलाई हेयको दृष्टिले हेरिने गरेको बताउछिन।
अल्जाइमर्स अस्ट्रेलियाको अनुसन्धानले पनि अन्य जनसंख्याको तुलनामा भिन्न समुदायिक पृष्ठभूमि भएकाहरुमा निकै ढिलो गरि चिकित्सककोमा गएर रोग पत्ता लगाउने गरेको देखिन्छ।
विविध समुदायभित्र यो रोगबारे कुरा गर्न हिच्किचाउने प्रवित्ति देखिन्छ जुन समाजले 'पागल' भन्न सक्ने डरबाट प्रेरित हुन सक्ने बिज्ञहरुको भनाइ छ।
सहायता कर्मिहरुका अनुसार अफ्रिकन, चाइनिज र ल्याटिन अमेरिकन समुदायहरुमा स्मरण शक्तिमा कमि आउनुलाई उमेर ढल्कदै गएपछि देखिने समस्याका रुपमा मात्र हेरिएको पाइन्छ।
अस्ट्रेलियामा पछिल्लो समय डिमेन्सियाबाट पिडितहरुलाई भाषाको समस्या पनि टड्कारो रुपमा देखिएको छ। अल्जाइमर्स अस्ट्रेलियाको २००८ को रिपोर्टले बिरामीहरु आफ्नो रोगको बारेमा आफ्नै मातृभाषामा जानकारीहरु लिन रुचाउँने देखाउँछ।
भिन्सेन्ट पोइस्सन भन्छन डिमेन्सियाका प्रकारहरु मध्येको एक अल्जाइमर् रोगमा बिरामीहरुको मस्तिष्कको भाषासंग सम्बन्धित भागमा असर पर्ने हुनाले उनीहरुलाई झन् भन्दा झन् आफ्नो दोस्रो भाषा बोल्न समस्या हुने गर्दछ। र उनीहरु आफ्नै मातृभाषा तिर फर्किन्छन।




