कोरोना सङ्कट: नागरिक, पीआर होल्डर र तिनका नजिकका नातेदार बाहेक अन्यलाई अस्ट्रेलिया पस्न निषेध

जारी कोरोनाभाइरस महामारीका बिच प्रधानमन्त्री स्कट मरिसनले आफ्नो अध्यागमन नीतिलाई कडा पार्दै, अन्य देशका नागरिकहरूलाई अस्ट्रेलिया प्रवेश गर्न प्रतिबन्ध लगाएका छन्।

Australian Prime Minister Scott Morrison speaks to the media during a press conference at Parliament House in Canberra, Thursday, March 19, 2020. (AAP Image/Lukas Coch) NO ARCHIVING

Australian Prime Minister Scott Morrison. Source: AAP

बुधवार मात्रै देशवासीलाई मुलुक बाहिर जान रोक लगाएका प्रधानमन्त्री स्कट मरिसनले, बिहीबार सबैलाई चकित तुल्याउने गरी गैर नागरिक एवं यहाँको स्थायी बसोबास सम्बन्धी पत्र लिएकाहरू बाहेकलाई, शुक्रवार २० मार्च  २०२०, राति नौ बजेदेखि अर्को व्यवस्था लागू नहुन्जेल अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाएका हुन्।

नागरिक र पीआर होल्डरका अलावा तिनका नजिकका नातेदारहरूलाई अस्ट्रेलिया पस्न दिने भए पनि उनीहरू सबैले सेल्फ आइसोलेसनमा १४ दिन अनिवार्य रूपमा बिताउनु पर्नेछ।

“हाम्रो बिचारमा थप ठोस कदम लिनु अति जरुरी भइसकेको छ, अब हामी यहाँ नागरिक, स्थायी रूपमा बसोबास गर्ने मानिसहरू वा तिनका सिधा परिवार बाहेक अन्यलाई आउन दिने छैनौँ,” मरिसनले क्यानबेरामा पत्रकारहरूलाई सम्बोधन गर्दै भने।

उनको यो घोषणा अघि चिनियाँ, इरानी, इटालियाली र दक्षिण कोरियाली नागरिकहरूलाई मात्र अस्ट्रेलिया छिर्न बन्देज लगाइएको थियो।

प्रधानमन्त्री स्कट मरिसनको उक्त घोषणा भन्दा केही बेर अघि न्युजील्याण्डकी उनकी समकक्षी जसिण्डा आर्डर्नले सोही प्रकारको व्यवस्था आज मध्यरात देखी लागु हुने बताएकी थिइन्।

मरिसनले आर्डर्नसँग आफूले यसबारे कुरा गरिसकेको र दुवै देशका बासिन्दाहरूलाई एक-अर्काको देश आवतजावत गर्न कुनै रोकटोक नहुने सहमति भएको बताए।

उनले आफ्नो पछिल्लो घोषणा कोरोनाभाइरस सङ्क्रमणलाई थप फैलनबाट रोक्न महत्त्वपूर्ण रहेको स्पष्ट पारे।

“अस्ट्रेलियामा देखिएको सङ्क्रमणको भारी अनुपात आयातित हो।”

“हामीले लिएका निर्णयहरूले अवश्य पनि त्यसमा केही प्रभाव पारेको छ र यो नयाँ कदम पनि त्यसैको अर्को कडी हो जुन फेरी परिष्कृत गर्न सकिनेछ,” उनले भने।

अस्ट्रेलियामा हालसम्म पुष्टि भएका ५६५ सङ्क्रमण मध्ये करिब ८० प्रतिशत बाहिरबाट अस्ट्रेलिया आइपुगेका मानिसहरू र तिनका संसर्गमा रहेका मानिसहरूमा भेटिएको बताइएको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share

2 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now