ज्यानुअरी २६ देशभर एक सार्वजनिक बिदाको दिन हो जब धेरै समुदायहरूले बार्बिक्यु गर्दै गर्मीको बिदाको अन्त्य मनाउने गरेका छन्।
सोही दिन सयौँ अस्ट्रेलियालीहरूलाई समुदायप्रति आफ्नो सेवाको लागि राष्ट्रिय रूपमा सम्मानित गरिन्छ।
फर्स्ट नेसन्स समुदायका मानिसहरूलाई यस दिनले फरक अर्थ दिन्छ।
शोकको रङ्ग बोकेको यस दिनमा बेलायती सेनाद्वारा उपनिवेशीकरण सुरु भएको थियो, जसको परिणामस्वरूप फर्स्ट नेसन्स मानिसहरू विरुद्ध पुस्तौँसम्म युद्ध, नरसंहार, जातिवादजस्ता अत्याचारहरू भएका थिए।
त्यस्तै, ज्यानुअरी २६ को दिन हजारौँ नयाँ आप्रवासीहरूले अस्ट्रेलियाली नागरिकता पाएकोमा उत्सव मनाउने गरेका छन्।
यो सबै बीच बहु सांस्कृतिक समुदायहरू बीच एक प्रश्न उठेको छ - के बेलायतबाट आएको पानी जहाजको आगमनको दिन, र विभिन्न समुदायहरूले अस्ट्रेलियाली झन्डा मुनि रहेर एकताको नारा गाउने दिन एउटै मितिमा हुन आवश्यक छ त?
"हामीले आत्मीयताको भावना राख्नुपर्छ"
सन् २०२१ को जनगणना अनुसार अस्ट्रेलियाको पूर्ण जनसङ्ख्यामा जन्मस्थल उल्लेख नभएका मानिसहरू बाहेक ७० लाखभन्दा बढी अर्थात् २९.३% को जन्म विदेशमा भएको थियो।
सिड्नीको इथियोपियाली समुदायका असिफा बेकेल आदिवासी समुदायसँग कार्यरत छन्।
फर्स्ट नेसन्स मानिसहरूको इतिहासमा गहिरो चासो राख्ने उनी भन्छन् कि समुदाय र राष्ट्रप्रति आत्मीयताको भावना हुन जरुरी छ।
"प्रत्येक व्यक्ति, नागरिक र विशेष गरी विदेशबाट आएका र ६०,००० वर्षभन्दा बढी समयदेखि यहाँ बसोबास गर्ने अस्ट्रेलियालीहरूका लागि आत्मीयता हुनुपर्छ," बेकेलले बताए।
अस्ट्रेलिया एक बहु सांस्कृतिक देश हो र अस्ट्रेलियाली संस्कृतिको प्रत्येक भागलाई सम्मान गर्न आवश्यक छ।असिफा बेकेल
"इतिहास, संस्कृति र सबै कुरा साझा गरी आफ्नोपन र एकताको भावना विकास गर्नु राम्रो हो।
"मिति परिवर्तन गर्ने कुरामा म कदापि कुनै समस्या देख्दिन। अस्ट्रेलियाले प्रगति गर्दै छ, समय परिवर्तन हुँदै छ, र मानिसहरू पनि साथसाथै परिवर्तन हुन आवश्यक छ।
"अन्त्यमा हामी सबैलाई चाहिने भनेको शान्ति, सद्भाव र एकता हो।"
"उत्सवको लागि गलत दिन"
बच्चला र गबी गबी समुदायका गेभिन सोमर्स एक गायक तथा गीतकार हुन्।
उनी भन्छन् कि अस्ट्रेलिया र अस्ट्रेलियाली हुनुको महत्त्वलाई मनाउने दिन हुनु पर्छ तर यो उत्सव मनाउने वर्तमान मिति र दिन गलत छ।
"हामीले गर्वका साथ यहाँ बस्ने अन्य बहु सांस्कृतिक समुदायहरूसँग मनाउने एउटा मिति हुनु पर्छ," सोमर्सले बताए।
"हामी एकसाथ भेला भएर उत्सव मनाउन सबैले स्वीकार गर्ने मिति हुन जरुरी छ।"
अस्ट्रेलिया डेले कठिन प्रश्नहरू खडा गर्दछ
नारानिरी र काना समुदायका क्रेग रिग्नी समुदायद्वारा सञ्चालित गैर-नाफामूलक आदिवासी संस्था केडब्लुवाईका प्रमुख कार्यकारी अधिकृत हुन्।
उनको अनुसार अस्ट्रेलिया डेले कठिन प्रश्नहरू अगाडि ल्याउने गरेको छ।
अस्ट्रेलिया डेमा हामीले आफूलाई यो प्रश्न सोध्नु पर्छ: 'हामी एक अर्कालाई कस्तो रूपमा हेर्छौँ?'क्रेग रिग्नी
"के हामी आफूलाई भविष्यमा एक साझा चित्रमा देख्न सक्छौँ?," उनले भने।
"मलाई लाग्छ कि त्यसले हाम्रो गन्तव्य, भविष्य, र हामीले आफू र अरूप्रति कस्तो व्यवहार गर्छौँ भनेर निर्धारण गर्छ।"

केही राज्यका स्थानीय काउन्सिलहरू जनवरी २६ मा नागरिकता कार्यक्रम लगायतका कार्यक्रमहरू मनाउने विरुद्ध छन्।
ती मध्य उत्तरी मेलबर्नमा कुलिन राष्ट्रको वरन्जरी वोइ-वरंग समुदायको भूमिमा रहेको मेरी-बेक सिटी काउन्सिल एक हो।
ज्यानुअरी २६ ले फर्स्ट नेसन्स मानिसहरूको लामो सङ्घर्षको सुरुवातलाई जनाउने काउन्सिल मेयर एन्जेलिका पनोपुलस बताउँछिन्।
"यो दिन (सन् १७८८ मा) कप्तान आर्थर फिलिप (र पहिलो पानी जहाज) अस्ट्रेलिया आएका थिए, र विस्थापन र नरसंहार सुरु भयो," उनले बताइन्।
"वास्तविकता यो हो कि, उपनिवेशीकरण पछि पुस्ताहरू बिचको मानसिक आघात, प्रणालीगत जातिवाद र आपराधिक न्याय प्रणाली अझै पनि हाम्रो लागि प्रमुख समस्याहरू हुन्।
"त्यस कारण, ज्यानुअरी २६ उत्सवको दिन होइन भनी फर्स्ट नेसन्स मानिसहरूले भन्दा हामीले सुन्नुपर्छ।"

रिग्नीले यस कुरामा जोड दिँदै भने: "हामीसँग एक समुदाय र एक राष्ट्रको रूपमा सिक्ने, सिकाउने र सुन्ने पर्याप्त अवसर छ।"
"यस समुदायको भागको रूपमा, (र) यस राष्ट्रको भागको रूपमा, मलाई विश्वास छ कि हामीले एक अर्कालाई र अस्ट्रेलिया भनिने यस देशलाई सम्मानका साथ माया गर्न सिक्ने छौँ।"
यति भन्दै उनी बताउँछन् कि अस्ट्रेलियालीहरूले कुन दिन उत्सव मनाउनु पर्छ भन्ने प्रश्नले अझै पनि मानिसहरू माझ भ्रम र विभाजन उत्पन्न गरेको छ।
वर्तमान रूपमा ज्यानुअरी २६ मा अस्ट्रेलिया डे मनाइने चलन नयाँ रहेको र सन् १९९४ देखि मात्र मनाउन थालिएको उनले बताए।
