अस्ट्रेलियाली नागरिकता पाएको दिनलाई आफूले कहिले नबिर्सने बताउँछन् सिड्नी निवासी श्रीजन श्रेष्ठ।
१३ वर्ष अगाडी नेपालबाट आएका श्रेष्ठले पश्चिम सिड्नीको कम्बरल्याण्ड स्थित स्थानीय तहको सरकारद्वारा आयोजना गरिएको नागरिकता वितरण समारोहमा सहभागिता जनाएका थिए।
"म कसरी अस्ट्रेलियाली नागरिक भएको बारे म आफ्नो छोराछोरी र नातीनातिनाहरुलाई बताउने छु," उनी भन्छन्।

नागरिकता पाउँदा एकदमै हर्षित हुनेमा श्रीजन श्रेष्ठ लगायत ४२ भिन्न राष्ट्रमा जन्मिएका ४५० स्थानीय निवासीहरू पनि थिए, जसले समारोहमा अस्ट्रेलिया प्रति वफादार रहने प्रतिज्ञा गरेका थिए।
नागरिकता प्राप्त गरेपछि, पहिलो पटक अस्ट्रेलियाली राष्ट्रिय गान गाउनेहरूमा गत पाँच वर्षदेखि सिड्नीमा बस्दै आएका नस्रतुल्लाह हकिमी पनि थिए।
अफगानिस्तानमा जन्मिएका हकिमी भन्छन् अस्ट्रेलियाको नागरिकता पाएपछि आफू र आफ्नो श्रीमतीले एकदमै स्वतन्त्र महसुस गरिरहेको बताए।
"हामी अफगानिस्तान देखि यहाँ बस्न आएका हौँ, युद्धका कारण त्यहाँको अवस्था धेरै नराम्रो रहेको छ। अब स्वतन्त्र रूपमा जीवनयापन गर्न पाउँदा र यहाँ बस्न पाउँदा हामी दुवै धेरै खुसी भएका छौँ।"
कोरोनाभाइरस महामारीका कारण गत वर्ष केही समयको लागि स्थगित भएको नागरिकता वितरण समारोह अनलाइन सरेको थियो। तर अब पुनः प्रत्यक्ष रूपमा मानिसहरू एक साथ भेला भई देशको नयाँ नागरिक बन्न पाउनु धेरै महत्त्वपूर्ण रहेको बताउँछन् कम्बरल्याण्डका मेयर स्टिभ क्रिस्टू।
"देशको अन्तर्राष्ट्रिय सीमा हाल बन्द रहँदा, स्थानीय निवासीहरूका लागि आफ्नो नागरिकता अवस्थाबारे अनिश्चितता अन्त्य हुनुले गौरव गर्ने मौका पनि उनीहरूले पाएका छन्," उनले भने।

दशकौँ देखि अस्ट्रेलियामा आयोजना हुँदै आएको नागरिकता वितरण समारोह अन्तर्गतको यो कार्यक्रम चाहिँ अलि फरक तरिकाले सुरु भएको थियो।
कोरोनाभाइरस अन्तर्गतका नियमहरूका कारण समारोहमा उपस्थित प्रत्येक व्यक्तिले "चेक-इन" गर्नुपरेको थियो र ज्वरोका लागि पनि उनीहरूको जाँच गरिएको थियो।
गत केही वर्ष देखि एक्लै सिड्नीमा बस्दै आएका हुसेनले आफ्ना तीन छोराछोरीसँगै अस्ट्रेलियाको नागरिकता लिएका छन्।
र कम्बरल्याण्डमा आयोजित समारोहमा उनका १६ वर्षीय छोरी मेलिसा ले आफूले कहिले अस्ट्रेलिया आउने र यहाँको नागरिक बन्नेबारे नसोचेको बताउँछिन्।
"यो सबै एउटा सपना जस्तै लागि रहेको छ," मेलिसा भन्छिन्।
त्यस्तै भारतीय पृष्ठभूमिका मोहितले चाहिँ नागरिकताका साथै अब औपचारिक रूपमै अस्ट्रेलियाली क्रिकेट टोलीको समर्थन गर्न पाउने भन्दै ठट्टा पनि गरेका छन्।
