आप्रवासीहरूले अस्ट्रेलियाली नागरिकता प्राप्त गर्न सबैभन्दा पहिला त अस्ट्रेलियाको स्थायी बासिन्दा हुनुपर्यो अथवा चलनचल्तीको भाषामा भन्ने हो भने पीआर होल्डर हुनु जरुरी छ।
अस्ट्रेलियामा लामो समयदेखि विद्यार्थी वा रोजगार सम्बन्धी अन्य भिसामा हुनुहुन्छ भने यसलाई स्थायी बसोबास भन्न मिल्दैन भन्छिन् ब्रिसबेनमा एक अध्यागमन एजेन्सी चलाइरहेकी रुबी फोदार।
“त्यसैले पनि अस्ट्रेलियाको नागरिक बन्न सर्वप्रथम त तपाईँ यहाँको पर्मानेन्ट रेजिडेण्ट बन्नुपर्यो। अनि तपाईंले पी आर पाएर कम्तीमा पनि अस्ट्रेलियामा चार वर्ष बिताएको हुनुपर्छ,” उनी भन्छिन्।

दरखास्त हालेको कति समयमा नागरिकता पाइन्छ त?
गृह मामिला मन्त्रालयका अनुसार अनलाइन दरखास्तको परम्परागत कागजी दरखास्त भन्दा चाँडो निर्णय हुन्छ।
उक्त मन्त्रालय अन्तर्गत रहेको परिवार तथा नागरिकता कार्यक्रमका डेमियन किल्नरका अनुसार नागरिकताको पाउन सामान्यतया १४ महिनासम्म लाग्न सक्छ।
नागरिकता परीक्षा
अस्ट्रेलियाली नागरिकताका आवेदनकर्ताहरूले अस्ट्रेलियाली नागरिक बन्न एउटा सानो परीक्षामा भाग लिएर त्यसमा उत्तीर्ण समेत हुनुपर्ने प्रावधान हाल विद्यमान छ।
उक्त नागरिकता सम्बन्धी परीक्षाले आवेदकहरूलाई आफ्नो नयाँ देश - अस्ट्रेलिया बारे कत्तिको ज्ञान छ भन्ने जाँच्न प्रयोग गरिन्छ। यसका साथै, उक्त परीक्षाले अस्ट्रेलियाली नागरिक भएपछि प्राप्त हुने सुविधाहरू तथा आइपर्ने जिम्मेवारीहरू बारे समेत आवेदकहरू कति सचेत छन् भनेर हेर्छ।
डेमियन किल्नर भने उक्त परीक्षालाई तपाईँको अङ्ग्रेजी आधारभूत स्तरको छ कि छैन भनेर हेर्न निर्माण गरिएको बताउँछन्।
“नागरिकता परीक्षामा हामीले हेर्ने भनेको तपाईँसँग सामान्य बोलीचालीको लागि चाहिने अङ्ग्रेजी छ कि छैन भनेर हो। कम्युटरको अगाडी बसेर परीक्षा दिनु खासै गाह्रो प्रक्रिया छैन र साधरणतया आधा घण्टा भित्रै परीक्षा सिद्ध्याउन सकिन्छ,” उनले भने।

उक्त परीक्षामा अस्ट्रेलियन सिटिजनशिप - आवर कमन बन्ड नामक एक अनलाइन पुस्तिकामा आधारित भएर २० वटा बहु-विकल्प उत्तर भएका प्रश्नहरू सोधिने गरिन्छ जसमा अस्ट्रेलियाको लोकतान्त्रिक मूल्य तथा मान्यताहरू, यहाँ उपलब्ध अधिकारहरू, सरकार र कानुन सहितको बारे विस्तृत जानकारी समेटिएको हुन्छ।
किल्नरका अनुसार अस्ट्रेलियाली नागरिकताको चाह भएकाले हेरुन् भन्ने उद्देश्यले नै उक्त स्रोत सामग्री उनको विभागले तयार पारेको हो।
“नागरिकता परीक्षाको तयारी गर्दा मानिसहरूले ती स्रोत सामाग्रीहरूको सहयोग लिउन् भन्ने हाम्रो अपेक्षा छ। त्यसो भएमा उनीहरू जाँचमा बिना सङ्कोच बस्न सक्छन् र सही उत्तर दिन सक्छन्,” उनले भने।
प्रायजसो मानिसहरूले कुल प्राप्ताङ्कको ७५ प्रतिशत अङ्क ल्याएर उक्त परीक्षा उत्तीर्ण गर्ने बताइएको छ।
तर, कथम्-कदाचित् पहिलो प्रयासमा तपाईँ सफल हुनुभएन भने चिन्तित भई हाल्नु पर्दैन। तपाईँ सोही दिन उपलब्ध अर्को परीक्षामा बस्न वा थप तयारीका साथ अर्को मितिका लागि पुनः आवेदन दिन सक्नुहुनेछ। यदि दोहोराएर परीक्षामा बस्नु परेमा परीक्षा शुल्क फेरी चुक्ता गर्नु नपर्ने सुविधा सरकारले दिएको छ।
नागरिकताको शपथ

नागरिकता सम्बन्धी आवेदन स्वीकृत भएका आवेदकहरूलाई आधिकारिक नागरिकता वितरण समारोहमा स्वयम् उपस्थित भएर अस्ट्रेलियाली नागरिकताको प्रतिज्ञा कबुल गर्न बाध्यात्मक कानूनी प्रावधान छ।
त्यस्ता नागरिकता प्रतिज्ञाका दुई स्वरूपहरू छन् - एकले ईश्वरलाई उल्लेख गर्छ भने अर्कोले गर्दैन।
“यसरी प्रतिज्ञा गर्नु वा शपथ लिनु, आधिकारिक रूपमा अस्ट्रेलियाली नागरिक बन्ने प्रक्रिया अन्तिम चरण हो। त्यसैले अधिकांश मानिसहरूले यस्तो प्रतिज्ञा लिनै पर्ने नियम छ र यसरी उनीहरूले अस्ट्रेलिया प्रति आफ्नो निष्ठा दर्साउन सक्छन्” डेमियन किल्नरले स्पष्ट पारे।
“यसलाई ती मानिसहरूले हाम्रो समुदायका सक्रिय सदस्य हुन प्रतिबद्धता जाहेर गरेको रूपमा पनि बुझ्न सकिन्छ,” उनले अगाडी भने।
नागरिकता वितरण समारोह

अस्ट्रेलियामा वर्षभरि नै आयोजना हुने नागरिकता वितरण समारोहहरूमा लगभग एक लाख मानिसहरुले सहभागी जनाउने गरेका छन्। ती मध्ये धेरैले २६ जनवरी वा अस्ट्रेलिया दिवसको दिन नागरिकताको शपथ लिने दिनका रूपमा छान्ने पनि गर्छन्।
सामान्यतया यस्ता समारोहहरू स्थानीय काउन्सिलले आयोजना गर्ने गर्दछ तर विशेष परिस्थितिहरूमा अध्यागमन विभागले स्थानीय काउन्सिलको समन्वयमा हुने गरी खेलकुद आयोजना गर्ने वा अन्य सामुदायिक संस्थालाई बेला मौकामा स्वीकृति दिने गरेको छ।
यसै क्रममा अघिल्लो महिना भुटानी राष्ट्रिय दिवसको अवसर पारेर मेलबर्नमा एक स्थानीय सामुदायिक संस्थाले भिक्टोरियाको इतिहासमा नै पहिलो पल्ट यस्तो समारोह आयोजना गरेको थियो।
हेल्प हिमालयन युथ फाउन्डेसनद्वारा अस्ट्रेलियाली अध्यागमन विभागसँगको सहकार्यमा आयोजना गरेको उक्त विशेष नागरिकता वितरण समारोहमा १५ भुटानी र ८ बर्मेली शरणार्थीहरूका साथै १७ जना नेपाली पृष्ठभूमिका मानिसहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए।
“पासपोर्ट अस्ट्रेलियन भए पनि मन त नेपाली नै हुन्छ नि!”

भुटानको राष्ट्रिय दिवसको अवसरमा विशेष नागरिकता वितरण समारोह, नेपाली सहित ४० जना बने अस्ट्रेलियाको नयाँ नागरिक
किल्नरका अनुसार, यस्ता समारोहहरू आयोजना गर्न जिम्मेवारी पाएका काउन्सिलका मेयर, उप-मेयर वा प्रमुख कार्यकारी अधिकृत - जसको प्रमुख नेतृत्वमा कार्यक्रम हुने हो - उसैले नागरिकता ऐनमा भए बमोजिम प्रस्तावना पढेर सुनाउने गर्दछन्।
“उक्त प्रस्तावनाले नागरिकता वितरण समारोहमा सरिक हुने मानिसहरूलाई थप आवश्यक तथा महत्त्वपूर्ण जानकारी प्रदान गर्छ,” उनले भने।
त्यस किसिमका समारोहमा वेलकम टु नेशन वा वेलकम टु कन्ट्री भनिने आदिवासीय भूभागमा स्वागत छ भन्ने आशयको मन्तव्यका साथ-साथै अध्यागमन विभागको जिम्मेवारी पाएका सङ्घीय मन्त्रीको सन्देश पनि पढेर सुनाइने गृह मामिला मन्त्रालय अन्तर्गत रहेको परिवार तथा नागरिकता कार्यक्रमका डेमियन किल्नरले बताए।
“त्यहाँ राष्ट्र गान बजाइन्छ र समारोहमा भाग लिन आएका सबैले नागरिकताको शपथ लिन्छन्,” किल्नरले अगाडी भने।

उनका अनुसार, त्यसरी नागरिकता वितरण समारोहमा उपस्थित हुन आउँदा नागरिक बन्न लागेका मानिसहरूले आफ्नो परिचय खुल्ने किसिमका कागजात आफ्नो साथै लिएर आउनुपर्छ।
“यस्ता समारोहमा सरिक हुने जो कोहीले पनि आफ्नो परिचय पत्र लिएर आउँछन् भन्ने अपेक्षा हुन्छ र काउन्सिल वा हाम्रा विभागीय कर्मचारीहरूले त्यहाँ भाग लिन आउने मानिस उनीहरूले भनेकै व्यक्ति हुन् भनेर पहिचान गर्न सक्नुपर्नेछ।”
“अधिकांश मानिसहरूका लागि त्यस्तो परिचय पत्र भनेको कि त सवारी चालक अनुमति पत्र हो वा उनीहरूको राहदानी नै हो,” डेमियन किल्नरले भने।
सन् १९४९ यता ५० लाख भन्दा पनि बढी मानिसहरूले अस्ट्रेलियाली नागरिकता पाइसकेका छन् भने आर्थिक वर्ष २०१८/१९ मा मात्रै करिब २०० अन्य देशका १२५,००० मानिसहरूले अस्ट्रेलियालाई आफ्नो नयाँ देशको रूपमा अपनाएको सरकारी तथ्याङ्क छ भने गएको आर्थिक वर्षमा मात्रै, ३,२९४ जनाले नेपाली नागरिकता परित्याग गर्दै अस्ट्रेलियाली नागरिकता अङ्गीकार गरेको अस्ट्रेलियाली तथ्याङ्क विभागले जनाएको छ।
यस शृङ्खलाका अन्य प्रस्तुति:

अस्ट्रेलियामा बसोबास: डुब्नबाट कसरी जोगिने?





