अस्ट्रेलियाले अघि संयुक्त राष्ट्रसङ्घको बाल अधिकार सम्बन्धी दस्ताबेजमा सहमति जनाउँदै हस्ताक्षर गरेको पनि लगभग तीन दशक पुग्नै आँटी सकेको छ।
तर, युनिसेफले जारी गरेको एक पछिल्लो प्रतिवेदन अनुसार अस्ट्रेलियाले अघिल्लो रिपोर्ट सार्वजनिक भए देखिको समयमा हरेक बालबालिकाको अधिकार सुनिश्चित गर्न निकै कम मात्र प्रगति गरेको छ।

शिक्षा र मानसिक स्वास्थ्यमा समर्थन
युनिसेफ अस्ट्रेलियामा नीति र वकालतकी प्रमुख रहेकी एमी लामोई शिक्षा क्षेत्रलाई लिएर आफूहरू निकै चिन्तित रहेको बताउँछिन्।
“हाम्रो बिचारमा बच्चाहरूले राम्रो गुणस्तरको शिक्षा पाइरहेका छैनन् र शिक्षामा समानता पनि छैन।”
“अनि, यसको साथै अस्ट्रेलियाली बालबालिकाहरूमा उच्च दरको तनाव र चिन्ता रहेको कारण उनीहरूको मानसिक स्वास्थ्य स्थिति बारे पनि चिन्तित छौँ,” उनले भनिन्।
प्रत्येक ६ जना अस्ट्रेलियाली बालबालिकाहरू मध्ये एक जना अति गरिबीमा र प्रत्येक सात जनामा एक बच्चा मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको बताइँदै गर्दा लामोईको उक्त धारणा अचम्ममा पार्ने खालको पनि छैन।
“हाम्रा बालबालिकाका निम्ति महत्त्व बोकेको अर्को विषय भनेको संसारभरका सरकारहरूले जलवायु परिवर्तन बारे कस्तो प्रतिक्रिया जनाउँछन् र त्यसले भविष्यमा उनीहरूलाई उचित पर्यावरणमा जीवन यापन गर्ने मौका प्रदान गर्छ कि गर्दैन भन्ने नै हो,” लामोई थप्छिन्।

शारीरिक तथा यौन दुराचार रोकथाम बारे
अस्ट्रेलियाको केन्द्रीय तथ्याङ्क विभागद्वारा सन् २०१६ मा गरेको निजी सुरक्षा सर्वेक्षणको नतिजा अनुसार हरेक आठ जना मानिसमा एक जनाले शारीरिक वा यौनिक दुराचार उनीहरू १५ वर्ष पुग्नु अगावै भोगिसकेको बताएका थिए।
बालबालिकाको सुरक्षाका लागि अस्ट्रेलियाली केन्द्रका अनुसार सन् २०१७ देखि २०१८ सम्मको अवधिमा मात्र ३५ बालबालिकाहरू मध्ये एकले सुरक्षा सेवा प्राप्त गरेका थिए।
सेभ दि चिल्ड्रेन अस्ट्रेलियाकी वरिष्ठ नीति सल्लाहकार क्यारेन फ्लानागानको भनाई मान्ने हो भने बालबालिकाहरूलाई सुरक्षा प्रदान गर्ने काम घरैबाट सुरु हुन्छ।
यसका लागि घरेलु वातावरणमा उनीहरू माथि हुने सबै खालका शारीरिक उत्पीडनका घटनाहरू बन्द हुनु जरुरी छ।

जातिवाद बारे सचेतना
विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू अस्ट्रेलिया बसोबास गर्दै गर्दा यहाँ लगभग दश प्रतिशत जति बालबालिकाहरू बाहिर नै जन्मेर आएको तथ्याङ्क छ।
जातीयताको आधारमा बालबालिकाहरू माथि हुने विभेद पनि व्याप्त रहेको बालबालिकाहरूको राष्ट्रिय आयुक्त मिगन मिचेलको छ।
“स्कुल प्रणाली र अध्यापनमा संलग्न व्यक्तिहरू मिलेर विद्यालयको हातामा रहँदा विद्यार्थीहरूले कुनै किसिमको विभेदको सिकार हुनु नपरोस् भनेर काम गर्नु जरुरी छ।”
“यसो हुँदा मात्र उनीहरूको उचित शिक्षा पाउने लगायतका अन्य अधिकारहरू सुनिश्चित गर्न सकिन्छ,” उनले भनिन्।

बालबालिका र सशक्तीकरणको महत्त्व
मिचेल बालबालिकाहरूलाई उनीहरूको अधिकार बारे अवगत गराउन सल्लाह दिन्छिन्।
“हामीले आफ्ना बच्चाहरूलाई उनीहरूले कसरी आफ्नो सहनशीलतामा सुधार ल्याउन, चाहिएको खण्डमा मद्दतका लागि कसरी पहल गर्न सक्छन् भन्नेबारे सिकाउन अत्यन्त जरुरी छ।”
“उनीहरू निराश र सुर्ता गरेर नबसून् बरु आफ्नो कुरा मन खोलेर भन्न सकुन् र चाहिएको सहयोग प्राप्त गर्न आफैँ सक्षम हुन्,” मिगन मिचेलले भनिन्।
क्यारेन फ्लानागान भने बालबालिकाहरूको चिन्ताका विषयहरु कसरी सम्बोधन गर्ने भन्ने बारे ठोस कदमहरु चालिनुपर्नेमा जोड दिन्छिन्।
“ठुलोबडाको सोच के हुन्छ भने, बच्चाहरूलाई अधिकार सम्पन्न तुल्याइयो भने त यिनीहरू अटेरी बन्छन् र हाम्रो टाउकोमा टेकी हाल्छन् नि!”
“हाम्रो अनुभवमा भने त्यस्तो भएको पाएका छैनौँ। बरु, बालबालिकाहरू अधिकार सम्पन्न भए र उनीहरूलाई वयस्कहरूले आदर गरे, सामाजिक रूपान्तरणमा त्यसले निकै सहयोग पुर्याउने छ।”
“पक्कै पनि त्यसले शान्त र लोकतान्त्रिक समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,” फ्लानागानले भनिन्।
