SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका बालबालिका माथि डिजिटल प्रविधिको प्रभाव कस्तो छ?

सङ्घीय सरकारले अस्ट्रेलियाली बालबालिका माथि डिजिटल प्रविधिको प्रभाव बारे बुझ्न ३ करोड ४९ लाख डलरको लागतमा एक अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।

Group Of Children Sit On Window Seat And Use Technology
Source: Getty Images

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

बालबालिकाहरूको जीवनको पहिलो आठ वर्षमा डिजिटल प्रविधिले के-कस्ता असरहरू गर्छ त भन्ने जान्न सङ्घीय सरकारले क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा एक अनुसन्धान केन्द्र स्थापना गर्ने बताएको छ।

“हाम्रा बालबालिकाहरूले अभूतपूर्व रूपमा प्रविधिसम्मको पहुँच पाउँदै हुर्किरहेको परिप्रेक्ष्यमा उनीहरूमाथि त्यसले कस्तो प्रभाव पार्दै छ त भनेर बुझ्न निकै जरुरी भइसकेको छ,” सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानले आइतबार भने।

“अनुसन्धानको नतिजाले अभिभावकहरूलाई फाइदा पुग्नेछ र बालबालिकाहरूको स्वास्थ्य एवं शिक्षा नीतिमा सुधार गर्न सहयोग हुनेछ ।”

“एआरसी सेन्टर अफ एक्सेलेन्स फर दि डिजिटल चाईल्ड” नामको उक्त नयाँ अनुसन्धान केन्द्रलाई अस्ट्रेलिया लगायत युरोप, एसिया र अमेरिकाका अन्य साझेदार संस्थाहरूबाट थप ३ करोड २० लाख डलर प्राप्त हुने पनि बताइएको छ।

प्रविधिको प्रयोगबाट बालबालिकामा पर्ने नकारात्मक अनुभवलाई कम गर्न उक्त केन्द्रले काम गर्नेछ।

उक्त केन्द्रमा प्रमुख अनुसन्धानकर्ताको रूपमा कार्यरत सुजन ड्यानबीका अनुसार हाल उपलब्ध जानकारीहरूले बालबालिकामाथि प्रविधिले कस्तो असर पारिरहेको छ भनेर ठोकुवाका साथ भन्न सक्ने स्थिति छैन।

“बालबालिका माथि प्रविधिले पार्ने नकारात्मक प्रभाव घटाउने र सकारात्मक डिजिटल अनुभव बारे अब अस्ट्रेलियाले अन्तर्राष्ट्रिय रूपमै नीति बनाउन पहल गर्नेछ,” उनले भनिन्।

उक्त अनुसन्धान केन्द्रले बालबालिकाहरूले सामाजिक सञ्जाल, डिजिटल खेलकुद लगायतका उपभोग्य सेवाहरूमा बिताउने समय र अनलाइन सुरक्षाका बारेमा पनि अध्ययन गर्ने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now