मुख्य विषयहरू:
- अफगानी युद्ध अपराधका लागि अस्ट्रेलियाली रक्षा बलका प्रमुखद्वारा क्षमा याचना
- ३९ अफगानी नागरिकको "गैर कानुनी" हत्या गरिएको प्रमाणित
- आपराधिक कारबाहीका लागि विशेष अनुसन्धानकर्तालाई नियुक्त गरिने
अस्ट्रेलियाली रक्षा बलका (एडिएफ) प्रमुख एंगस क्याम्पबेलले अफगानी जनता समक्ष क्षमा याचना गरेका छन्।
अस्ट्रेलियाली विशेष सेनाका सदस्यहरूले अफगानिस्तानको युद्धमा गैर कानुनी रूपमा सर्वसाधारणको हत्या गरेको आरोपप्रति "ठोस प्रमाण" पत्ता लागेको पछि उनले माफी मागेका हुन्।
"अफगानिस्तानका जनताहरूलाई, अस्ट्रेलियाली रक्षा बलको तर्फबाट, मा अस्ट्रेलियाली सैनिकहरूले गरेको कुनै पनि गलत कार्यको लागि इमानदारिताका साथ माफी माग्दछु।", क्यानबेरामा पत्रकार समक्ष उनले भने।
"ती आरोपित घटनाहरूले अस्ट्रेलियाले अफगानिस्तानको मद्दत गर्न अघि सारेको प्रस्तावको घोर अपमान गरेको छ।"

सन् २०१६ देखि यस विषयमा अनुसन्धान जारी गरिएको थियो।
चार वर्षको अवधिमा न्यायाधीश पल ब्रेरेटनले यस सम्बन्धमा हजारौँ कागजातको जाँच गर्नुका साथै ४०० भन्दा बढी साक्षीहरूको अन्तर्वार्ता लिएका थिए।
बिहीबार सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार दुई जना व्यक्तिहरू माथि कथित क्रूरता गरिएको र ३९ जनाको गैर कानुनी हत्या गरिएको बताइएको छ। ती मध्य २५ घटनाहरूमा रक्षा बलका एक पूर्व सदस्य संलग्न भएको रिपोर्टले बताउँछ।
मारिएका अफगानी नागरिक मध्य कोही पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको र धेरै जना युद्धमा बन्दी गरिएका अपराधी रहेको बताइएको छ।रिपोर्टमा सन् २००५ देखि २०१६ सम्मको अवधिलाई समेटिएको थियो, र ती घटनाहरू भने धेरैजसो सन् २००९ र २०१३ मा घटेका थिए।
"यी मध्य कुनै पनि घटनाहरू लडाइँको दबाबमा लिइएका निर्णय होइनन्।", प्रतिवेदनमा बताइएको छ।
अन्य थुप्रै कथित आरोपहरूको अनुसन्धान गरिए तापनि प्रमाण भने पत्ता लागेका छैनन्।
त्यस्तै केही सिपाहीहरूले हत्या गरिएको व्यक्तिसँग हतियार भएको देखाउनका लागि सेनाका हतियारलाई नक्कली रूपमा राखेको पनि प्रमाणित भएको न्यायाधीश ब्रेरेटनले भेटाएका हुन्। र पट्रोल कमान्डरहरूले कनिष्ठ सैनिकहरूको पहिलो मारको रूपमा कैदीहरूलाई गोली हानि मार्न लगाउने "ब्लडिङ" चलन रहेको पनि पत्ता लागेको हो।

रक्षा प्रमुखले अस्ट्रेलियालीले अनुसन्धानका ३६ वटा घटनाहरूलाई संघीय प्रहरीलाई आपराधिक अनुसन्धानका लागि उल्लेख गर्नु पर्ने पनि उक्त प्रतिवेदनको माग छ। त्यस समयमा यी अपराधहरूका लागि पट्रोल कमान्डरहरू अरू भन्दा बढी जिम्मेवार रहेको न्यायाधीश ब्रेरेटनले बताएका छन्।
"पट्रोल कमान्डर तहमा रहेकाहरूले यी अपराध जारी गरेको, गर्न लगाएको र लुकाएको हुनाले उनीहरू यसका लागि बढी जिम्मेवार छन्।"
ती घटनामा संलग्न रहेका वर्तमान एडिएफ सदस्यमाथि आपराधिक कारबाहीका लागि ठोस सपूत नभए प्रशासनिक कारबाही गरिनु पर्ने ब्रेरेटनको प्रतिवेदनको माग छ।
त्यसै गरी, दोषीहरूको कारबाहीका लागि नपर्खी उक्त घटनाहरूमा ज्यान गुमाएका अफगानी नागरिकका परिवारलाई क्षतिपूर्ति दिइनु पर्ने पनि माग गरिएको छ। र दोषी ठहरिएका व्यक्ति तथा समूहहरूका विभिन्न सेवा पदकहरू पनि फिर्ता लिन बताइएको छ।
यता अस्ट्रेलियाली प्रधानमन्त्रीले रिपोर्ट सार्वजनिक हुनु अगाडी फोन गरेर ती कथित युद्ध अपराधका लागि माफी मागेको अफगानी राष्ट्रपति अश्रफ घानीले बताएका छन्।
सम्भावित आपराधिक कारबाहीका एक विशेष अनुसन्धान कर्तालाई नियुक्त गरिने प्रधानमन्त्री मोरिसनले बताएका छन्।
